सत्यराज सिंह । बझाङ । बझाङको केदारस्यु गाउँपालिका–९ गल्लेक गाउँमा घर भत्काए सडक विस्तार गरिएको छ । पौडी बजारबाट सेकु, रजाडा हुँदै भाम्चौर जोड्ने झण्डै २५ किलोमिटर सडक विस्तारको क्रममा घर नै भत्काएर सडक विस्तार गर्न लागिएको हो ।
बिहीबार डोजरले घर भत्काएपछि स्थानीय बछी बोहराको गाउँबाटै उठीबास भएको छ । सोही घरमा पसल राखेर दैनिकी चलाइरहेकी बोहरा घर भत्किएपछि खुला आकाशमुनि रात काटिरहेकी छन् । खेतको बिचैबाट डोजर कुदाएर लगाएको अन्न बाली मासिएको भन्दै स्थानीय प्रेम बोहराले दुखेसो पोखेका छन् ।
उनले भने, ‘गाईभैसी पालेर जीविकोपार्जन गरिरहेका स्थानीयहरुको उठीबास भएको छ । अन्नबालीमै डोजर चल्यो, परिवार कसरी पाल्ने ? सबैतिर भोकमरी हुने भयो ।’ बर्षातको समयमा सडक विस्तार गर्ने भन्दै डोजर आतंक मच्चिएको यो पहिलो पटक भने होइन ।
सरकारले बाढी पहिराबाट बच्न उच्च सतर्कता अपनाउन देशभरनै निर्देशित गरिरहेका बेला विकास निर्माण नाममा विपन्न परिवारका घरहरु भत्काइएको र अन्नबाली सखाप पार्न स्थानीय सरकार आफै लागिपरेको बोहराले बताए ।
यता केदारस्यु गाउँपालिका–९ का वडाध्यक्ष अहिन्द्र शाहीले सहमतिमै सडक विस्तार गरिएको बताए । उनले भने, ‘विकास गर्दा थारै विनास भइहाल्छ, यो कुरा स्वभाविक हो, स्थानीयहरुको मागलाई मध्यनजर गर्दै सडक गाउँमा लगेका हौं ।’
अध्यक्ष शाहीले सडकका नाममा उठीबास बनेका र अन्नबाली सखाप भएका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि के हुन्छ भन्ने विषयमा भने बोलेनन् । सडक बनाउने नाममा घरबास नै उजाडिएको छ, अन्नबाली सखाप भएको छ । स्थानीय सरकारले उनीहरुलाई तत्काल राहत, क्षतिपूर्ति तथा पुनःस्थापना गर्नुपर्ने स्थानीयको माग छ ।
सत्यराज सिंह - ।