सूचनाको शक्ति - The Power Of Information

        

दलित तथा सिमान्तकृतलाई उपमहानगरको सहयोग

बाँके । नेपालगन्ज उपमहानगरपालिकलो परम्परागत पेशालाई आधुनिकरण गर्न दलित तथा सिमान्तकृत समुदायका ब्यक्तिलाई उपकरण सहयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा प्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर लगायतले ति सामाग्रीहरु हस्तान्तरण गरेका छन् ।

परम्परागत कपडा धुने काम गर्दै आएका धोवी समुदायका १० जनालाई वासिङ मेसिन, परम्परागत कपडा सिलाउने काम गर्दै आएका समुदायका १० जनालाई टेलरिङ्ग मेसिन, १० जनालाई इन्टरलक मेसिन, दुई जनालाई जुत्ता सिलाउने मेसिन उपलब्ध गराइएको छ । विभिन्न कृषि तथा सहकारी संस्थालाई पम्पसेट, पाईल लगायतका सामाग्री सहयोग गरिएको हो ।

लक्षित समुदायका ब्यक्तिलाई सामाग्री हस्तान्तरण गर्दै प्रमुख डा.राणाले उपमहानगरपालिकाको ध्यान अब नागरिकको आयआर्जन बढाउनेतर्फ केन्द्रीत भएको बताए । केही दिनभित्रै नगर बस संचालन गर्न लागिएको भन्दै उनले प्रदेश ५ का मुख्यमन्त्रीबाट आगामी दिनमा थप बसको सहयोग गर्ने प्रतिवद्धता आएको बताए ।

उनले साझेदारी विकास कार्यक्रम अन्तरगत हालसम्म विपन्न समुदायका २०० महिलालाई बिना धितो ऋण सहयोग गरिएको भन्दै तीन बर्षभित्र एक हजारलाई यस्तो सहयोग दिइने बताए । उपप्रमुख थापाले परम्परागत पेशाको स्तरउन्नतीका लागि आधुनिक उपकरण सहयोग गरिएको भन्दै यसको सहि सदुपयोगमा जोड दिए ।

कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतले लक्षित वर्गको कार्यक्रमबाट प्रदान गरिएको सहयोग सामाग्रीको उपयोग गरि जिविकोपार्जनमा लाभ लिन आग्रह गरेका थिए । सोही कार्यक्रम अन्तरगत गुरुनानक सिंह सभा गुरुद्धारा, गायत्री प्रज्ञा अभियान, कब्रस्थान सहावा, नेपाल नेत्रहिन संघ, बौद्ध गुम्वा र जयमाँ दुर्गेलाई वाटर कुलर सहयोग गरिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतवार ०८:२२