सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी निरीक्षकको सरुवामा नकारात्मक हल्ला मात्रै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६४ प्रहरी निरीक्षकहरूको सरुवा गरेको विषयलाई लिएर लाभ लिन नपाएको गिरोहले नानाथरी प्रचारबाजीमा लागेको पछिल्ला हर्कतहरूले देखाएका छन् । प्रहरीको व्यावसायिक क्षमतामाथि सधैँ प्रश्न उठाएर लाभ लिन पल्केका गिरोहहरूको खेतीपाती बन्द भएपछि तनावमा परेको सानो समूहले हर्कत देखाउन थालेका छन् ।

त्यस्ता गिरोहले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ती सरुवा भएका प्रहरी निरीक्षकहरूमाथि नै आक्षेप लगाएर नेपाल प्रहरीको बद्नाम गर्न सक्रिय भएको आरोप छ । प्रहरी महानिरीक्षक खनालले प्रहरी निरीक्षकहरूको सरुवा निस्कन लागेको सूचना लिक हुन दिएनन् । त्यति मात्रै होइन भनसुन गरेर लाभ लिन पल्केको गिरोहलाई प्रहरी निरीक्षकहरूको सरुवामा प्रवेश नै गर्न नदिएपछि तिलमिलाएको समूहले मिडियावाजी गरेर सरुवालाई बद्नाम बनाउन खोजेको प्रहरी मुख्यालयको बुझाइ छ ।

‘पहिला जस्तो प्रहरी निरीक्षकहरूको सरुवा निस्कँदैछ’ भन्ने सूचना बाहिर नआउँदै महानिरीक्षक खनालले ४६४ जना प्रहरी निरीक्षकहरूको सरुवा सार्वजनिक गरिदिएपछि लाभ लिन ढुकेर बसेको गिरोहलाई तनाव भएको हो । कसैले चाहेको स्थानमा वा मालदार अड्डा ठानिएको स्थानमा अप्रस्यासित नाम आउँदा ताकेर बसेकाहरूले नानाथरी हल्ला चलाएको सरुवा भएका एकजना प्रहरी निरीक्षकले बताए ।

ती प्रहरी निरीक्षकले प्रश्न गर्दै भने, ‘सरुवा भएका हामी निरीक्षकहरू के असक्षम र अव्यवसायिक छौँ ? हामी सरुवा हुनै नपर्ने ? राम्रो ठाउँमा जानै नहुने ?’ आफ्ना नातेदार, आफन्त भनेका ठाउँमा नपरेपछि गिरोहले नेपाल प्रहरीको बद्नामीमा लागेको आरोप छ । प्रहरी संगठनको नेतृत्वको सधै बिरोधमा प्रायोजित समाचार सार्वजनिक गर्दै आएका सञ्चारमाध्यम र पत्रकारलाई प्रयोग गरी प्रहरी निरीक्षक सुरुवालाई विवादमा ल्याउने प्रयास गरेको स्रोतको भनाइ छ ।

प्रहरी महानिरीक्षक खनालले आफ्ना मान्छेलाई आकर्षक ठाउँमा २७ प्रहरी निरीक्षकहरूलाई सुरुवा गरेको आक्षेपहरू लगाइएका छन् । सो विषयमा प्रहरी मुख्यालयले कुनै सत्यता नरहेको जनाएको छ । प्रहरी मुख्यालयले नकारात्मक हल्ला मच्चाउन नहुने जनाएको छ । २७ जना प्रहरी निरीक्षकमध्ये ११ जना शशिधर शार्मा, कमला सुवेदी, पर्शुराम घिमिरे, होम प्रकाश अधिकारी, गिरिराज भण्डारी, प्रकाश क्षेत्री, सुरेश शाह, मदन थापा, आयुश जोशी, दामोदर सिलवाल, प्रताप पौडेल पहिला नै विभिन्न मितिमा अनेक कारणले तानिएका कर्मचारीको ठाउँमा काजमा नै कार्यरत रहेछन् तिनैलाई दरबन्दी बनाइएको स्रोतले जनाएको छ ।

निरीक्षकहरू अबोध ओझा, रुकबहादुर खड्का लगायतको दरबन्दी इञ्चार्जमा रहेता पनि कार्यरत सिआइबी, सिन्धुपाल्चोक लगायतका विभिन्न स्थानमा खटिएकालाई दिइएको जनाइएको छ । सधै व्यवसायिक कर्मचारीलाई संरक्षकत्व प्रदान गर्ने र गलत प्रवृत्तिका कर्मचारीको होस उडाउने गरेका आइजीपी खनालले ‘सहि व्यक्ति, सहि ठाउँ’ गर्न सकिएमात्र सही परिणाम आउने कुरा सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

प्रहरी नियमावलीले एसपी दर्जासम्मको सरुवाको अधिकार आइजीपीलाई प्रदान गरेको छ । सोहीअनुसार खनालले सरुवा निकालेको प्रहरी मुख्यालयको भनाइ छ । काज सरुवा भएकालाई समाबेस गरी छुट्टै निकालिएको लिस्टलाई आइजीपी खनालको आफ्ना मान्छेको छुट्टै लिस्ट भनी रोइलो काड्नुको कुनै तुक नरहेको जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतवार ०७:४०