सूचनाको शक्ति - The Power Of Information

        

निर्मला प्रकरणबारे निलम्बित डिएसपी जिसीले गरे यस्तो खुलासा, देशभर हलचल (भिडियोसहित)

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै निलम्बनमा परेका डिएसपी अंगुरबाबा जिसीले निर्मला पन्तको अनुसन्धानको रिपोर्टलाई बंग्याएको भन्दै असन्तुष्टि जनाएका छन् । अपराध अनुसन्धानमा राम्रो छवि बनाएका डिएसपी जिसीले निर्मला पन्त बलात्कार र हत्या घटनामा छानविन गरेर रिपोर्ट बुझाएका थिए ।

उनको रिपोर्ट र अनुसन्धानलाई विभिन्न आक्षेपहरू लगाइएको थियो । जोशी अपराधका घटनामा अनुसन्धानका लागि काविल र सक्षम प्रहरी अधिकृत मानिन्छन् । डिएसपी जिसीले दिलिप सिंह विष्टलाई निर्मला पन्तको बलात्कार र हत्याको अभियोगमा पक्राउ गर्नुका साथै बयान लिएका थिए । जिसीका अनुसार विष्टले नै निर्मला पन्तको बलात्कारपछि हत्या गरेको बयान र अनुसन्धानका क्रममा प्रराम्भीक रुपमा दोषी पाइएको बताएका छन् ।

बिहीबार राति प्रशारित ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा निलम्बित डिएसपी जिसीले निर्मला पन्तका दोषीहरूलाई पक्राउ गर्ने विषयमा आफूले कुनै पनि कसर बाँकी नराखेको बताएका छन् । ‘निलम्बन गरेर मलाई अन्याय भएको छ,’ उनले भनेका छन्, ‘मैले न्याय पाउँछु भन्नेमा ढुक्क छु ।’

अन्तर्वार्ताका क्रममा जिसीले भनेका छन्, ‘दिलिपसिंह विष्टसँगको बयान र उनको क्रियाकलापले निर्मला पन्तको बलात्कारपछि हत्याको आशंक त्यता देखाउँछ । मैले पिटेर, बन्दुक देखाएर वा दवाव दिएर विष्टलाई बलात्कार र हत्या स्वीकार गर्न लगाएको होइन । अनुसन्धानका केही प्रक्रिया हुन्छन् । त्यही प्रविधि अपनाएको हुँ । विष्टले सरकारी वकील समक्ष पनि आफ्नो बयान दिएका थिए ।’ जिसीले आफूले अनुसन्धानपछि तयार पारेको रिपोर्ट नै सहि रहेको दाबी गरेका छन् ।

‘मेरै नेतृत्वमा भएको छानविन र रिपोर्टलाई अगाडि बढाउनुपर्छ । तर, अरु प्रतिवेदनले मलाई नै दोषी देखाएपछि त्यो मेरो रिपोर्ट स्वीकार गर्न समस्या भएको छ,’ उनले भने, ‘अनुसन्धानमा अपनाइने सबै प्रक्रिया र प्रविधि लागू गरिएको छ ।’ निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले पनि पछिल्लो समय विष्टलाई आशंक गरेकी छिन् । निर्मला पन्त र उनकी आमा दुर्गादेवी पन्तको डिएनए परीक्षण गलत रुपमा गरिएको जिसीले बताएका छन् ।

‘निर्मला पन्त र उनकी आमाको डिएनए बंश पत्ता लगाउनका लागि गरिएको थियो,’ उनले भने, ‘त्यो डिएनएको परीक्षण नै गलत रुपमा भएको थियो ।’ अन्तर्वार्ताका क्रममा निलम्बित डिएसपी जिसीले आँखाबाट आँशु झारेका थिए । ‘निर्मला पन्तकी आमाको पीडा देख्दा मेरो मन पनि दुःख छ,’ उनले भनेका छन्, ‘मेरो लागि डिएसपी पदले ठूलो महत्व राख्छ । न्याय पाउँछु कि भनेर एक वर्षसम्म चुप लागेर बसेँ । बाध्य भएर मिडियामा आएको छु ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते एक वर्ष पूरा भएको छ । दोषी पक्राउ परेको छैन । निर्मला पन्त प्रकरणले राजनीतिक रुप लिनुका साथै एनजिओ र आइएनजिओहरूले कमाइखाने भाँडो समेत बनाएका छन् । निर्मला पन्त हत्या प्रकरणलाई यतिसम्म प्रभावित बनाइयो कि प्रहरी प्रशासन भिडको दवावमा परेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार १२:४७