बाँके । युवा पुस्ताले चासो नदिँदा परम्परागतरुपमा चलनचल्तीमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह, ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा शहरमा लोपोन्मुख अवस्थामा छ । नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण पञ्चेबाजा लोप हुँदै गएको छ ।
पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाबुबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको छ । जाने बुझेदेखि नै पञ्चेबाजा बजाउन थाले पनि उमेर ढल्केपछि बजाउन छाडेका छन् । विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा बज्ने पञ्चेबाजासँगै पुरानो कला–संस्कृति हराउन थालेको छ । नौमती पञ्चेबाजा हिजोआज शहरी क्षेत्रमा मात्रै होइन पहाडी क्षेत्रमा समेत लोप हुँदैछ ।
कला–संस्कृति लोप हुँदै जाँदा पञ्चेबाजाको अस्तित्व नै मेटिन थालेको छ । सनाइ, ट्याम्को, झुर्मा, ढोलक, नरसिंहा, कर्नाल र विकुल जस्ता बाजाहरु मात्रै होइन बजाउने व्यक्तिसमेत पाइन छाडेका छन् । कला र सीप स्थानीयस्तरमा मात्र सीमित रहँदा धेरैले बाजा बजाउन छाडिसके । गाउँघरमा कमै मात्रामा पञ्चेबाजा बजेको आवाजहरु सुन्न पाइन्छ । गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण देखिँदैन ।
मौलिक पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेपछि त्यसको जगेर्ना गर्न भन्दै बाँकेको खजुरा गाउँपालिका–२ धौलागिरीका स्थानीयहरु पञ्चेबाजा संरक्षणसँगै प्रचारप्रसारमा जुटेका छन् । जिल्लाको जुनसुकै कुना होस् विवाह, पुजा र विभिन्न कार्यक्रम उद्घाटन समारोह प्रायजसो देखापर्ने खजुराको पञ्चेबाजा समुह छिमेकी जिल्ल्लाहरुमा समेत चिनिन्छ । खजुरा गाउँपालिका वडा नं.३ मा रहेकोे गाउँ हो धौलागिरी, धौलागिरी अञ्चलबाट बसाईसराई गरेर आएकाहरुको बाहुल्यता रहेको छ यो गाउँमा ।
जनजाति खास र मगर समुदायको बसोबास रहेकोे धौलागिरी बाँके जिल्लामा मात्र होइन छिमेकी जिल्ला बर्दिया, कैलाली, दाङ अनि सुर्खेतसम्म चिनिएको छ । यसरी छिमेकी जिल्लाहरुमा समेत धौलागिरी गाउँ भनेर चिनिनुको एउटै कारण हो, पञ्चेबाजा । २०६३ सालमा गाउँलेहरु मिलेर समुह बनाएर शुरु गरिएको कामले सिङ्गो खजुरा गाउँपालिकालाई सबैतिर चिनाएको छ । आफुहरुको आयआर्जनको एउटा राम्रो श्रोतसमेत बनेको बताउँछन्, धौलागिरी पञ्चेबाजा समुहका उपाध्यक्ष बलबहादुर डगामी ।
बञ्चेबाजाले धौलागिरी गाउँ मात्रै नभएर सिंगो गाउँपालिकालाई नै चिनाउन सफल भएकोमा डगामी आफैं पनि दङ्ग पर्छन् । १५ जना सदस्य रहेको समुहको नेतृत्व अहिले गंगाबहादुर थापाले गरेका छन् । ३२ बर्षका युवादेखि ६६ बर्षका वृद्धसम्मले मज्जाले पञ्चेबाजा बजाउँदै आएका छन् । समुहकै सदस्यहरुको घरमा पञ्चेबाजा राख्ने गरिएको बताउँदै उपाध्यक्ष डगामी भन्छन्, ‘बाजालाई सुरक्षित राख्न र ब्यवस्थित रूपमा समुहलाई सञ्चालन गर्न कार्यालय स्थापना गर्ने तयारीमा छौं । कार्यालय स्थापनापछि पञ्चेबाजा संग्रहालय बनाउने योजना छ ।’
संग्रहालय बनेपछि पञ्चेबाजा सुरक्षितसँगै संरक्षित हुने र हेर्न आउनेहरुसँग न्युनतम् शुल्क लिँदा थोरै भए पनि आम्दानीको स्रोतको जोहो गर्न सकिने उपाध्यक्ष डगामीको भनाई छ । पुरानो परम्परा र रितिरिवाजसँग जोडिएको पञ्चेबाजा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने उनले बताए । नयाँ पुस्ताले पुरै बिर्सिएको पञ्चेबाजा धौलागिरीमा भने नयाँ पुस्ताले नै बजाउने गर्छ । पञ्चेबाजाको सुरताल र धुन नसुनेका युवा पुस्ताका लागि यो अनौठो संगीत लाग्न सक्छ । धौलागिरीमा रहेको पञ्चेबाजा समूहले लोपोन्मुख पञ्चेबाजा बजाउने कला र बाजागाजाको समेत संरक्षण गर्दै अघि बढिरहेका बेला युवाहरुले समेत साथ दिइरहेका छन् ।
पञ्चेबाजा समूहले न्युनतम १८ हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क तोकेको छ । यही शुल्कबाट बाजागाजाको मर्मत, नयाँ बाजा खरिद र सदस्यहरुको पारिश्रमिकमा खर्च गर्दै आएको उपाध्यक्ष डगामीले बताए । धौलागिरीलाई पन्चेबाजाको गाउँ भनेर सबैले चिन्दा र सम्झिदा सिङ्गो गाउँबासी खुशी छन् । गाउँपालिकाको प्रतिनिधित्व गर्दै सिङ्गो खजुरालाई चिनाएको बञ्चेबाजा संरक्षण गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा धौलागिरीबासीको छ । स्थानीय युवा समाजसेवी सतिश निरौला स्थानीय सरकारले बाजाको ब्यवस्थापन र सञ्चालनका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘संग्रहालय बनाएर सञ्चालनमा ल्याउन सके आन्तरिक पर्यटकलाई सहजै भित्र्याउन सकिन्छ । यसले खजुरालाई केही हदसम्म आर्थिक गतिविधिमा टेवा पुर्याउँछ नै । यसतर्फ स्थानीय तहले ध्यान दिनुपर्छ ।’ धौलागिरीमा ‘पञ्चेबाजा संग्रहालय’ बनाउन सके गाउँपालिकाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ । त्यसो त स्थानीय सरकारको चुनावी घोषणापत्रमा समेत धौलागिरीमा पञ्चेबाजा संरक्षणका लागि संग्रहालयको कुरा चर्चामा आएको थियो ।
यसैकारण पनि पञ्चेबाजा संग्रहालय निर्माणका लागि स्थानीय तहले पहल गर्नेमा स्थानीयबासीहरु ढुक्क छन् । ‘नयाँ पुस्तालाई बाजा बजाउने प्रशिक्षण र सीप दिँदै उनीहरुलाई आकर्षण गर्न पनि बाजा संग्रहालय आवश्यक र महत्वपूर्ण हुनेछ,’ १२ बर्षदेखि निरन्तर बाजा समुहलाई सक्रिय बनाउन लागेका आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटा भन्छन्, ‘बाजा समूहले पञ्चेबाजा संरक्षणसँगै नयाँ पुस्तालाई यसका बारेमा ज्ञान दिएको छ । विवाह, पुजामा ब्यान्ड बाजा र अन्य बाजाका नाममा बाहिरिने आर्थिक रकमलाई पनि गाउँमै रोकेको छ ।’
सत्यपाटी - ।