बाँके । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार पाठक आक्रोशित देखिन्थे । जिससले शुक्रबार नेपालगन्जमा आयोजना गरेको आर्थिक बर्ष २०७५/०७६ को ‘बार्षिक समिक्षा’ कार्यक्रममा बाँकेबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरु उपस्थित नभएपछि उनले आक्रोश व्यक्त गरे ।
‘सबै सांसदहरुलाई तीन पटकसम्म निम्ता गरेका छौं, कार्यक्रममा एक जना पनि उपस्थित हुनुभएन,’ संयोजक श्रीवास्तवले भने, ‘आफ्नै जिल्लाको समिक्षा गर्न कोही पनि उपस्थित नभएपछि उहाँहरुप्रति किन खेद व्यक्त नगर्ने ? स्थानीय तहको यो पनि एउटा संसद हो, यसका सदस्य सांसदहरु पनि हुनुहुन्छ । समग्र जिल्लामा भए/गरेका कामहरुका बारेमा उहाँहरुले समिक्षा गर्नुपर्छ कि पर्दैन ?’
तीन पटकसम्म सबै सांसदहरुलाई फोन गरेर उपस्तिथिका लागि निम्तो दिँदासमेत उपस्थित नभएपछि आफुले खेद व्यक्त गरेको उनले बताए । संयोजक श्रीवास्तवले सबै स्थानीय तहको प्रगति सरदर ७५ प्रतिशत मात्र देखिएकोले आफू खुशी हुन नसकेको बताए । उनले स्थानीय तहप्रति ईंगित गर्दै भने, ‘आफ्नै खातामा रहेको पैसासमेत किन खर्च गर्न सकिएन ?’ उनले स्थानीय तहलाई समयमै नीति, कार्यक्रम तथा बजेटको विवरण जिससमा पठाउन आग्रह गरे ।
उनले भने, ‘बजेटको विवरण समयमै हामीलाई उपलब्ध गराउनुहोस्, त्यसो भयो भने हामीलाई पनि अनुगमनमा सहज हुन्छ ।’ सरकारले कुनै पनि पालिकालाई स्वकीय सचिव, कानुनी सल्लाहकार तथा प्रेस सल्लाहकार राख्ने व्यवस्था नगरेको भन्दै श्रीवास्तवले त्यसका बाबजुद पालिकाहरुले आफुखुसी राख्नु नियम विपरित भएको बताए । उनले स्थानीय तहमा सल्लाहकारहरु राख्नै परेमा प्रक्रिया पुर्याएर राख्न सुझाव दिए ।
जिससले गरेको बार्षिक समिक्षा कार्यक्रममा उपस्थिति अत्यन्तै फितलो देखिन्थ्यो । कार्यक्रममा सांसदमात्र होइन स्थानीय तहकै (मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष) जनप्रतिनिधिको उपस्थिति न्यून थियो । नेपालगन्ज उपमहानगरपालिका मेयर/उपमेयर दुबै देखिएनन् । डुडुवा गाउँपालिकाका अध्यक्ष कार्यक्रममा सहभागी नभए पनि उपाध्यक्ष भने कार्यक्रममा उपस्थित भइकी थिइन् । राप्तीसोनारीका अध्यक्ष/उपाध्यक्ष देखिए पनि अध्यक्ष बिचैमा निस्किए ।
त्यसैगरी खजुरा गाउँपालिकाका उपाध्यक्ष अनुस्थित थिए भने अध्यक्ष बिचैमा हिँडे । कोहलपुर नगरपालिकाका मेयर पनि उपस्थित भएनन् भने कार्यक्रमको अन्तिममा देखिएकी उपमेयर एकैछिनमा निस्किइन् । जानकी गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष दुबै उपस्थित भए पनि दुवै जना अन्तिमसम्म बसेनन् । नरैनापुर गाउँपालिकाका उपाध्यक्ष अनुपस्थित रहे पनि अध्यक्ष पुरै समय बसे भने बैजनाथ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष दुबै अन्तिमसम्म बसेका थिए ।
स्थानीय तहको आफ्नै समिक्षा कार्यक्रममा पनि जनप्रतिनिधिहरु उपस्थित नहुनु र उपस्थित भएका केही जनप्रतिनिधिहरु पनि पुरा समयमा कार्यक्रममा नबस्नुले आफू जिम्मेवारी तथा उत्तरदायी नबनेको र सबै जिम्मा कर्मचारीहरु माथि थोपरेको जस्तो देखिएको जिसस संयोजक श्रीवास्तवले बताए । कार्यक्रममा सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतहरुले आ–आफ्ना कार्य विवरण प्रस्तुत गरेका थिए ।
सत्यपाटी - ।