सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नाकाबाट ४९ अर्बको व्यापार घाटा

बाँके । पश्चिम नेपालको सबैभन्दा ठूलो नेपालगन्ज भन्सार नाकाबाट मात्र गत आर्थिक वर्ष २०७५/७६ मा करिब ४९ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । गत आवमा नेपालगन्जस्थित जमुनाह नाका हुँदै ५१ अर्ब १७ करोड १२ लाख रुपैयाँभन्दा बढीको सामग्री आयात भएकोमा दुई अर्ब ३६ करोड ८५ लाख रुपैयाँको सामान मात्र निर्यात हुँदा ४८ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको छ ।

गत आवमा नेपालगन्ज नाकाबाट ५१ अर्बको आयात भएको तथा सवा दुई अर्बको मात्र निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । पछिल्लो आव २०७४/७५ मा सो नाकाबाट ४१ अर्ब व्यापार घाटा भएकोमा गत आवमा त्यसमा उल्लेख्य वृद्धि भई ४९ अर्ब रुपैयाँको व्यापार घाटा हुँदा व्यापार घाटा आठ अर्ब बढेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

उनका अनुसार हरेक वर्षझैँ गत आवमा पनि यो नाकाबाट आयात अत्यधिक वृद्धि भएको छ भने निर्यातमा नाम मात्रको वृद्धि भएको छ । सो नाकाबाट आयातमा आठ अर्बभन्दा बढी वृद्धि भएको र निर्यातमा १२ करोड मात्र वृद्धि भएको प्रमुख निरौलाले बताए । नेपालगनज भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा सामान आयात गर्न करिब १० हजारले प्रज्ञापनपत्र लिएका छन् तर नेपालबाट भारततर्फ सामान पठाउनका लागि केवल पाँच सय जतिले मात्र प्रज्ञापनपत्र लिएका छन् ।

प्रज्ञापनपत्र लिएको आधारमा नै सामान आयात निर्यातको अवस्था बुझ्न सकिने प्रमुख निरौलाले बताए । उनले नेपालगन्ज नाका भएर एकदम कम सामान भारत निर्यात हुने गरेको जनाउँदै यसका लागि निजी क्षेत्र र सरकार दुवैले ध्यान पुर्याउनु आवश्यक रहेको बताए । सरकारले आयातलाई घटाउँदै निर्यातलाई बढाउने नीति लिए पनि यस नाकाबाट आयात उल्लेख्य रूपमा बढ्दै गएको र निर्यातको अवस्था स्थिर रहेकाले बर्सेनि व्यापार घाटा बढ्दै गएको छ ।

भन्सार कार्यालयका अनुसार नेपालबाट जडीबुटी, वनस्पति उतपादन, खोटो रोजिन, तारपिनको तेल, रिट्ठा, अदुवा सुठो, राँगाको मासु, मसला, रद्दी कागज र नौनी भारतलगायत तेस्रो देशमा निर्यात हुने गरेको छ । त्यस्तै पेट्रोलियम पदार्थ, चामल, सिमेन्ट क्लिङ्कर, आलु, प्लास्टिकका सामान, सेरामिक्स, खरानी स्ल्याग, ठूलो परिमाणको तरकारी र फलफूल, विभिन्न खाद्यान्न तथा ट्याक्टर, मोटरसाइकललगायत अन्य मेसिनरी सामान बढी आयात हुने गरेको छ ।

केही वर्ष पहिलेसम्म यस नाकाबाट सबैभन्दा बढी जडीबुटी निर्यात हुँदै आएकामा गत वर्षदेखि ५४ प्रकारका जडीबुटीमा भारतले प्रतिबन्ध लगाएपछि जडीबुटी निकासी अत्यन्तै कम भइरहेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालय वरपर भारतबाट आउने गाडीको बाहै्र महिना लस्कर देखिँदा नेपालबाट सामान लिएर भारततर्फ जाने गाडी खोज्नुपर्ने अवस्था रहेकाले नै व्यापार घाटा बढ्दै छ । सरकारकै अव्यावहारिक नीति तथा भारतसँग आफ्नो कुरा राम्ररी राख्न नसक्दा निर्यात घट्दै गएर व्यापार घाटा बढ्दै गएको र यसबाट देशलाई ठूलो क्षति भइरहेको व्यवसायीहरुको भनाई छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १५:२७