सूचनाको शक्ति - The Power Of Information

        

हरित खजुरा परियोजनाबाट जनप्रतिनिधि र स्थानीयवासी उत्साहित

व्यवसायिक कृषि समुह र सहकारीहरुलाई सिचाई सामाग्री वितरण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति । फाइल तस्वीर


बाँके । बाँकेको खजुरा गाउँपालिकामा ‘हरित खजुरा’ (ग्रीनसिटी) परियोजना सञ्चालन हुने भएको छ । ‘कृषिमा दिगो विकासका लागि हरित खजुरा’ नारासहित परियोजना सञ्चालन हुन लागेको हो । सन् २०२० जनवरीदेखि १० वर्षसम्म परियोजनाका कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

परियोजना संयुक्त राष्ट्रसङ्घसँग सम्झौता गरी सञ्चालनमा ल्याउन लागिएको हो । परियोजना कार्यक्रममा सातभन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसंस्था साझेदारका रूपमा रहेका छन् । अहिले परीक्षणका रुपमा परियोजनाका कार्यक्रम सञ्चालन गरिएको छ । परीक्षण अवधि समाप्त भएपछि परियोजना पूर्णरुपमा सञ्चालनमा आउने अध्यक्ष कक्षपतिले बताए ।

परियोजना सञ्चालन हुने भएपछि त्यहाँका जनप्रतिनिधि र स्थानीयवासी उत्साहित भएका छन् । ‘हाम्रा लागि ‘हरित खजुरा’ परियोजना ठूलो अवसर र चुनौती दुवै हो, यो परियोजनाले गाउँपालिकाको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिएका छौँ,’ स्थानीयविज्ञ पूर्णप्रसाद उपाध्यायले भने ।

परियोजना अन्तरगत कृषि, सिँचाइ, विद्युतीकरण, प्रविधिको विकास, उन्नत बीउबिजन, वनजङ्गल संरक्षण, वृक्षरोपण लगायतका विषयवस्तु समेटिएको छ । परियोजनाले खजुरा गाउँपालिकाको गरीबी न्यूनीकरण गर्नुका साथै हरित शहरको विकास गरी गाउँपालिकालाई नमूना शहरमा रूपान्तरण गर्ने अपेक्षा लिइएको छ ।

कक्षपतिका अनुसार, हरित खजुरा परियोजना नेपालमै एउटा नौलो परियोजना हो । परियोजनाले कृषि, पशुपालन लगायत सबै पक्षलाई समेटेको छ । आधुनिक तथा वैज्ञानिकरूपमा खेती गर्नका लागि सिँचाइ, प्रविधि, उन्नत बीउबिजन लगायतका सामग्रीमा अनुदान प्रदान गरिनेछ भने पशुपालनका लागि पनि आवश्यक सामग्री परियोजनाले उपलब्ध गराउनेछ ।

करीब ५० हजार जनसंख्या रहेको बाँकेको खजुरा गाउँपालिकामा झण्डै ९० प्रतिशत घरधुरी कृषि पेशा, व्यवसायमा आबद्ध छन् । उनीहरु सबैलाई परियोजनाको कार्यक्रमभित्र समेट्ने लक्ष्य तय गरिएको अध्यक्ष कक्षपतिले बताए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार १४:५०