काठमाडौं । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् ।
अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ । पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ भने बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ ।
सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् । सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच-पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार-चार जनाले ज्यान गुमाएका छन् ।
बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन÷तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई-दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक-एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् ।
डोल्पामा सात र लमजुङमा छ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन–तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई–दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एक-एक जना वेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ । बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् ।
भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौँ, सिराहा र रौतहटमा पाँच–पाँच जना घाइते भए । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक÷एक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन/तीन जना घाइते भएका छन् ।
सत्यपाटी - ।