
बाँके । नेपालगन्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । एकलैनी बजारको साघुँरो गल्लीसँग नेपालगन्जको परिचय जोडिएको छ । हुन त नेपालगन्ज धेरै विकसित भइसक्यो । एकलैनीभन्दा ठूला बजार र गल्लीहरु नेपालगन्ज जताततै विस्तार भइसके । नेपालगन्जमा पाइलैपिच्छे थरीथरीका पसलहरु खुलेका छन्, तर ग्राहकको रोजाइँमा अझै पनि एकलैनी बजार नै पर्छ ।
नेपालगन्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता, चप्पल, कपडादेखि कस्मेटिक, चुरापोते लगायतका पसलहरु सानो गल्लीभित्र लहरै लागेका छन् । जुन यस्तो गल्ली हो, जहाँ ग्राहकको भीड नलागेको दिन होस् । सस्ता र राम्रा सामानहरु पाइने विश्वासमा सधैं ग्राहकले भरिने बजार हो, एकलैनी । सदाबहार सबैको रोजाइँमा पर्ने एकलैनी बजारमा सामान किनमेल गर्नेको भीड र ताँती सधैं एकनासको हुन्छ ।
एकलैनी बजार, जहाँ साउन लागेपछि ग्राहकको थेगिनसक्नु भीड बढेको छ । खासगरी महिला ग्राहकहरुले भरिएको एकलैनी बजारको साँघुरो गल्ली पुरै हरियो देखिन्छ । जहाँ हरेक पसलमा हरिया चुरापोते झुण्डिरहेका छन् । ग्राहकहरुले मनपर्ने चुरापोते र रंगीबिरंगी मेहन्दी छानिरहेका छन् । पसलेलाई विक्री गर्न भ्याईनभ्याई छ । ग्राहकहरु गल्लीभित्र प्रवेश गर्दै गर्दा चुरापोते पसलका साहुजीहरु ग्राहकलाई बोलाउँदै चिच्याइरहेका छन् ।
१५ बर्षे किशोरीदेखि ६०/६५ बर्षे वृद्ध महिलाहरु हरिया चुरा, पोते र रंगीबिरंगी मेहन्दी किन्नकै लागि एकलैनी भित्रको साँघुरो गल्लीमा भीड बढाइरहेका छन् । त्यसो त नेपालगन्जका अन्य बजार र गल्लीहरुमा हरिया चुरापोते र रंगीबिरंगी मेहन्दी नपाइने भन्ने होइन । तर ग्राहकलाई एकलैनीकै सामानमा विश्वास छ । सबैको रोजाइँमा एकलैनी नै पर्ने गर्छ । अझ यहाँ खाद्यान्नका पसल पनि उत्तिकै छन् । जसका कारण एकलैनीलाई गृहिणीको बजार पनि भनिन्छ ।
‘यही बजारमा कस्मेटिकका सामानको किनबेच धेरै हुन्छ, साउन महीना लागेपछि चुरापोते र मेहन्दीको व्यापार निकै बढेको छ,’ दुई दशकदेखि एकलैनीमा पसल चलाइरहेका आशिष निगमले भने । साउन महीना सुरु भएसँगै किनमेलका लागि भीड लाग्ने भएकाले अहिले व्यापारीलाई फुर्सद छैन । एकलैनीमा सबैभन्दा बढी कस्मेटिककै पसल छन् । दोस्रो स्थान खाद्यान्न पसलले ओगटेका छन् ।
कस्मेटिक पसल सञ्चालक अनु सिद्दिकीले भनिन्, ‘सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनी बजार चलिरहेको छ । साउन महीना लागेपछि महिला दिदीबहिनीहरु किनमेलका लागि धेरै आउनुहुन्छ । हाम्रा लागि पनि यो त सिजनै हो ।’ बजार बढ्दै गएपछि पसल पनि उत्तिकै बढेका छन् । योसँगै व्यापारमा प्रतिस्पर्धा पनि बढेको सिद्दिकीको भनाई छ । एकलैनी बजारमा अहिले दुई सयभन्दा बढी पसल सञ्चालनमा रहेका छन् ।
यहाँ सस्तोमा पाइने चुरा र मेहन्दीमा होइन, रु.एक सयदेखि रु.दुई हजारभन्दा बढीका जुत्ता–चप्पल पनि यहाँ पाइन्छन् । तर साउन लागेपछि जुता चप्पलभन्दा चुरापोते र मेहन्दीकै व्यापार चम्किएको बताउँछन्, ३० वर्षदेखि एकलैनीमा जुत्ता–चप्पलको पसल गर्दै आएका अजिज अहमद सिद्दिकी । ‘यहाँ पाउने सामान बाहिर किन्दा महंगो पर्छ, त्यही सामान यहाँ सस्तोमा पाउँछ,’ सिद्दिकीले भने ।
साउनमा पनि दशैं, तीज एवं विवाहमा भन्दा राम्रो व्यापार हुुने गरेको एकलैनीका व्यापारी बलराम हेमकारले बताए । साउनमा रातो, हरियो तथा पहेँलो रंगको कम्बिनेस गरिएको पोते किन्न आउनेहरुको संख्या बढेको उनको भनाई छ । ‘अहिले चुरापोते किन्न आउनेहरुको भीड निकै धेरै छ,’ हेमकारले भने, ‘हरिया चुराका साथमा पहेँलो, रातो, रानी तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुने गरेका छन् ।’
बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । नेपालगन्जको एकलैनी बजारको साँघुरो गल्लीभित्र हरियो चुरा र मेहन्दी किन्ने महिलाहरुको भीड अहिले देखिन्छ । साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो, पहेँलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ ।
साउन महिना सुरु भएसँगै हरियो चुरापोते र मेहन्दीको माहोलले महिलाहरुलाई छोपिसकेको छ । यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमा समेत देख्न सकिन्छ । अरु समयमा नलगाए पनि साउन महिनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको एकलैनी बजारमा चुरापोते किन्दै गरेकी सुमित्रा रानाले बताए ।
‘साउन महिनामा सबैले हरियो चुरा र मेहन्दी र लगाउने गर्छन्,’ रानाले भने, ‘म पनि चुरापोते र मेहन्दी किन्नकै लागि बर्दियाको मैनापोखरबाट नेपालगन्ज आएकी हुँ ।’ यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उनको भनाइ छ । त्यसो त कतिपय अविवाहित युवतिहरुले राम्रो र योग्य पति पाइन्छ भन्ने मान्यता र विश्वास भएकाले हरियो चुरा र मेहन्दी लगाउने गर्दै आएका छन् ।
त्यसो त साउन महीनामा हरेक सोमबार भगवान शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्ने गर्छन् । साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउँदै नेपालगन्ज–५ कि अस्मिता थापाले भनिन्, ‘साउनमा ब्रत बसेर श्रीमानको दिर्घायु हुन्छ भने हाम्रो सामाजिक र धार्मिक मान्यता पनि हो ।’
कतिपय किशोरीहरुले भने देखासिकी र रहरले साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने गरेको उनको भनाई छ । चुरा सौभाग्यको निसानी हो भन्ने धारणा अधिकांश महिलाहरुको छ । तर, आजभोलि अविवाहित किशोरीहरुमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । साउनमा चुरा र मेहन्दीको माग उच्च हुने नेपालगन्जका चुरा व्यावसायीहरु बताउँछन् ।
साउनमा पहिले यस्तो तामझाम हुदैनथ्यो, हिन्दु धर्मानुसार विवाहिताले मात्र चुरा लगाउँदथे । पश्चिमा संस्कृतिको प्रभावमा नयाँ पुस्ता यसप्रति बढी आकर्षित हुने गरेको छ । ‘अहिले दैनिक सात/आठ हजार रुपैयाँको चुरा विक्री हुने गरेको छ,’ व्यवसायी हेमकारले भने, ‘साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ । दुई/तीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वात्तै बढेको छ ।’
बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने रङका चुरा खोज्न थालेको व्यवसायीहरु बताउँछन् । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । एकलैनी बजारमा अहिले रु.३० देखि एक हजारसम्मको चुराको व्यापार भइरहेको छ । हरियो चुरा लगाउनुका धार्मिक एवं संस्कृतिका महत्व थाहा नभएकाहरु समेत हरियो चुरा र मेहन्दी लगाइरहेका छन् ।
अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरु प्राय त्यही चिजमा झुमिन्छन् । कतिपय ग्राहकले वास्तुशास्त्र अनुसार चुराको रङ छनोट पनि गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेँलोले ज्ञानबुद्धि र शिक्षा, निलोले सु–स्वास्थ्य तथा हरियोले प्राकृतिक र बैद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले ग्राहकहरुले पनि आफूले मन पराएका त्यस्ता रङको चुरा खरिद गरेर लगाउने गरेको चुरा व्यावसायीको भनाइ छ ।
एकलैनी बजारमा चुरा व्यवसाय गर्दै आएकी नसरुल सिद्दकीले भनिन्, ‘साउन महिना त चुरा व्यापारीलाई तिहारजस्तै हुन्छ, महिलाहरुको भीड नै लाग्छ । आज सामान ल्यायो भोली सकिन्छ । दिनमा सयौं दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ ।’ साउनमा हरियो चुराका साथै रातो, पहेँलो, हरियो रंग मिसिएका चुरापोतेहरु र अन्य कस्मेटिकका सामान विशेषगरी किन्न आउने व्यापारीहरुको भनाई छ ।
सत्यपाटी - ।