सूचनाको शक्ति - The Power Of Information

        

‘जिउने आधार’ बन्यो सामाजिक सुरक्षा भत्ता

बाँके । बाँकेको खजुरा गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा बढाउन प्रत्येक वडामा विभिन्न क्रियाकलाप गरिरहेको छ । गाउँपालिकाले आठवटै वडामा निशुल्क नागरिक स्वास्थ्य शिविर सञ्चालन गरी निरन्तर स्वास्थ्य परीक्षण गर्दै आइरहेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकाको कुन वडामा कति जना नागरिक कुन रोगबाट पीडित छन् भन्ने तथ्यांक निकाल्ने तयारी गरिरहेका छौं ।’ स्वास्थय परिक्षणसँगै जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले लामो समयसम्म जनप्रतिनिधिविहीन रहेको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि जनताले प्रत्यक्ष महशुस गर्ने गरी सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए । उनले भने, ‘जेष्ठ नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै उहाँहरुका अनुभव बटुल्दै अघि बढ्ने हाम्रो प्रयास हो ।’

गाउँपालिकाले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गतामैत्री भौतिक पूर्वाधारहरु पनि निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाले सबै वडा कार्यालयबाट घुम्ती सेवा सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष एकमाया बिकले जानकारी दिए ।

‘परिचय पत्र वितरणले गाउँपालिकामा रहेका अपाङ्गता भएका नागरिकहरुको वास्तविक तथ्यांक आउनुका साथै घरमै पुगेर उहाँहरुलाई दिने सुविधा दिइरहेका छौं,’ उपाध्यक्ष बिकले भनिन् । गाउँपालिकाले प्रत्येक महिनाको ५ गते अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गर्दैै आइरहेको जनाएको छ ।

अपाङ्गता भएका नागरिकलाई प्रमाण पत्रबाट लिनबाट बञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले घरदैलोमै पुगेर परिचय पत्र वितरण गरिरहेको उपाध्यक्ष विकले बताइन् । उपाध्यक्ष विकले घरदैलोमै सेवाहरु उपलब्ध गराउँदै जेष्ठ नागरिकको अनुभव र ज्ञानलाई सम्मानमा सुविधा थप गर्न पहल भइरहेको बताए ।

गाउँपालिकामा रहेका जेष्ठ नागरिकलाई पनि परिचय पत्र र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताए । ‘सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिकामै पुग्नुपर्ने अवस्था थियो । जेष्ठ नागरिकलाई समस्या नहोस् भनेर बैंकमार्फत घरदैलोमै पुगेर वितरण गरिरहेका छौं,’ उनले भने ।

गाउँपालिकामा रहेका अग्रज जेष्ठ नागरिकहरुको योगदानको पूर्ण कदर गर्दै उहाँहरुलाई सम्मान गर्दै आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । ‘अहिले पालिकामा रहेका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिनकै लागि कष्ट व्यहोर्नुपर्दैन । उहाँहरुलाई पनि सजिलो महशुस भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने ।

उनले भने, ‘बुढेसकालमा एक्लै जीवन निर्वाह गरी दैनिक जीवन कष्टकर रुपमा बिताउनुपर्ने जेष्ठ नागरिकहरुका लागि चालु आर्थिक वर्ष कम्तीमा एउटा वडामा एउटा नमुना सेवा केन्द्र स्थापना गर्नका लागि आवश्यक तयारी भइरहेको छ । यसले जेष्ठ नागरिकलाई सहज हुनेछ ।’

त्यसो त गाउँपालिकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । खजुरा गाउँपालिका–१ विरपुरका ७९ वर्षिय दयाराम थापा क्षेत्रीले हिँडडुल गर्न गाह्रो भइरहेका बेला घरमै भत्ता बुझ्न पाएकोमा खुशी व्यक्त गरे ।

उनले भने, ‘दम बढ्ने, हिँडडुल गर्न नसक्ने, अरुको सहारा चाहिने अवस्था भइसक्यो, यस्तो बेला घरमै आएर भत्ता दिनुभयो । म यो सरकाराई धन्यवाद दिन्छु ।’ थापाजस्तै गाउँपालिका–१ कै ८६ वर्षिय प्रेमबहादुर गुरुङ्गले घरमै भत्ता ल्याइदिएकोमा खुशी व्यक्ति गर्दै भने, ‘साँच्चिकै सरकार घरमै आएको रहेछ । सरकारले हामीजस्ता बुढाबुढीलाई भत्ता दिएर बाँच्ने आधार बनाइदिएको छ ।’

खजुरा गाँउपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा महिला, एकल महिला, पूर्ण र आंशिक अपाङ्गता भएका व्यक्ति लगायत गरी ६ हजार ६० जनालाई रु.९५ करोड ६९ लाख ५ हजार ४०० सामजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार १२:३४