सूचनाको शक्ति - The Power Of Information

        

कृषि पेशामा ‘अब्बल’ किसान, कृषि उत्पादनमा खजुरा अग्रस्थानमा

बाँके । बाँकेको खजुरा गाउँपालिका–३ का तुलबहादुर कँडेल ठुलो लगानी गरेर कृषि पेशालाई व्यवसायीक रुपमा अँगाल्ने कृषक हुन् । नेपालगन्जको बसाईलाई छाडेर खजुरामा बाख्रापालन व्यवसायबाट कृषि क्रान्ति गर्ने र विदेशिएका युवालाई स्वदेशमै फर्काउने उद्देश्यका साथ कँडेलले हिलपार्क कृषि तथा पशुपालन फार्म सञ्चालन गरेर कर्म गरिरहेका छन् ।

तुलबहादुरको फार्ममा अहिले दिनहुँजसो आगन्तुक पाहुना आएर ज्ञान सीप लिएर जोसिँदै फर्किन्छन् । नेपालगन्जमा होटेल व्यवसाय गरेर करोडौंको मालिक बनेका उनी विलासी गाडी चढ्दाको भन्दा कृषि पेशाले खुसी दिएको बताउँछन् । गाडीमा संसार डुल्दा शरीर दुख्ने समस्या रहेको र कृषि कर्म गर्न थालेदेखि स्वस्थ भएको उनले बताए ।

खजुरा–३ सिर्जनाटोलमा रहेको उनको फार्ममा करीव एक दर्जनले रोजगारी पाएका छन् । देशकै ठुलो पशुपालन फार्म बनाउने लक्ष्य बनाएका कँडेलले किसानकै पहिचान बनाउन चाहेको बताए । च्याउ उत्पादक कृषकका रुपमा खजुरामा लालबहादुर सुनारको नाम निकै परिचित छ । वैदेशिक रोजगारीबाट फर्किदा शुन्य हात फर्केका उनी जीविका धान्न तरकारीसँगै च्याउ खेती गर्न थाले ।

सात वर्षअघि थोरै लगानीबाट व्यवसाय सुरु गरेका उनले हालसम्म यसै फर्ममा रु.एक करोड बढि लगानी पुगेको बताए । अथक मेहनतकै कारण लालबहादुर देशकै उत्कृष्ट च्याउ उत्पादक किसानका रुपमा सम्मानित पनि भएका छन् । सिजनमा दैनिक दुई क्वीन्टलसम्म च्याउ उत्पादन गर्ने उनले राष्ट्रपति उत्कृष्ट पुरस्कार र सार्कस्तरीय अवार्डसँगै थुप्रै पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।

गाउँपालिकाका एउटा किसानले यति ठुलो पुरस्कार पाउँदा गाउँपालिकाको नामलाई समेत देश विदेशमा चिनाएको उनले बताए । उनको फार्म अवलोकन गर्न देशका विभिन्न जिल्लाहरुबाट समुह, सहकारीका किसान, कृषि सम्बन्धी चासो राख्ने विभिन्न निकाय अवलोकनमा आउने गरेका छन् । उनको कामबाट प्रेरणा र सीप सिकेर धेरैले व्यवसाय सञ्चालन गरेका छन् ।

जिल्लाकै सबैभन्दा धेरै टमाटर उत्पादन गर्ने कृषकका रुपमा परिचित गेनालाल मुराउ उमेरले ७२ कटिसके पनि उनको जोस र जाँगरले भने जो कोहीलाई पनि प्रेरणा दिन्छ । सिजनमा दिनको १५÷२० क्वीन्टलसम्म टमाटर विक्री गर्दै आएका मुराउले उत्पादन गरेको टमाटरको माग अन्यत्रभन्दा ज्यादा छ ।

टमाटर खेती बढाउँदै लगेका मुराउले गतवर्ष १५ विगाह जग्गामा खेती गरेका थिए । टमाटरसँगै आँपलगायतका फलफुल खेतीलाई पनि बढाउँदै लगेका मुराउले जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय पुरस्कारहरु पाइसकेका छन् । उनको बारेमा जान्न र यस्तै तरीकाले खेती गर्न टाढाबाट युवा किसानहरु अवलोकन गर्न आउने गरेका छन् ।

खजुरा–३ सितापुरका गेहेन्द्र धिताल धेरैका किसान गुरु हुन् । कपास विकास समितिमा सरकारी जागिर छाडेर व्यवसायिक कृषिमा लागेका उनले एक्लो मेहेनतले सफल किसानको परिचय बनाएका छन् । उनको बारीमा बाहै्रमास केहि न केहि तरकारी फलेको देख्न पाइन्छ । गेहेन्द्रको तरकारी र फलफुल खेतीबाहेक अन्य व्यवसाय छैन ।

उनले आफ्नो घरखर्च चलाउँदै छोराछोरीलाई अध्ययन गराइरहेका छन् । आधुनिक प्रविधिबाट खेती गर्दै आउनुभएका उनीसँग धेरै किसानहरु लालायीत हुँदै सल्लाह लिने गर्छन् । उनीबाट प्रेरणा लिएर धेरैले गाउँमै तरकारी खेती गरिरहेका छन् । गेहेन्द्रले अनुदानभन्दा पनि आफ्नो कर्ममा बढि विश्वास लाग्ने गरेको बताए ।

नेपालगन्जमा चलेको होटल व्यवसायलाई छाडेर बंगुरपालन व्यवसाय गरी कृषिमा क्रान्ति गर्छु भन्दै खजुरा पुगेका किसान प्रेम खरेलले ब्राहमणले बंगुर छुन हुन्न भन्ने मान्यतालाई चिर्दै व्यवसायलाई निरन्तरता दिए । अहिले उनलाई काममा भ्याईनभ्याई छ । बंगुर व्यवसायबाट सुरु उनको कृषि कर्म बाख्रा, हाँस, माछा, खरायो, लोकल कुखुरापालनमा समेत पुगेको छ ।

लाखौं युवाका लागि प्रेरणाको श्रोतका रुपमा खरेललाई लिन सकिन्छ । पशुपालनमा लागेपछि खरेलको चर्चा पनि देश विदेशमा हुने गरेको छ । पशुपालन थालेपछि उनी पनि जिल्ला, क्षेत्रिय तथा राष्ट्रिय पुरस्कारबाट पुरष्कृत भइसकेका छन् । हाल उनले आफ्नो व्यवसायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेका छन् । जसले गर्दा उनको व्यवसायको चर्चा झनै बढेको छ ।

खजुराका पुराना व्यवसायीक किसानहरुको भीडमा वडा नं.५ का अव्दुल अन्सारीको नाम अग्रपंत्तीमा आउने गर्छ । खजुरामा व्यवसायीक रुपमा किसानहरुले तरकारी खेती नगर्दा अन्सारीले सुरुवातमै ठुलो क्षेत्रफलमा तरकारी खेती गरेका थिए । उनकै बारीको तरकारीले खजुरा बजारका उपभोक्त्ताको भान्सा धानेको छ । अहिले पनि उस्तै जोस जाँगरसहित अन्सारीले व्यवसायीक तरकारी खेती गरिरहेका छन् ।

उनको खेतबारीमा काम गर्नेले अहिले आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेका छन् । सीप सिक्ने पाठशालाजस्तै छ, अन्सारीको खेतीपाती । आफ्नै मेहेनत र आँटले देशविदेशमा चिनिएका उनले खजुरालाई पनि उसैगरी परिचित बनाएका छन् । खजुरामा तरकारी खेतीको इतिहास अन्सारीबाटै सुरु हुने गर्छ ।

खजुरा मनकामनाका काशीराम कँडेल व्यवसायीक गाइपालक किसान हुन् । तीन दशकदेखि व्यवसायीक पशुपालन गर्दै आएका उनी किसानका हकहितमा निडर भएर बोल्ने किसान नेताका रुपमा पनि परिचित छन् । गाइपालनबाटै आफ्नो व्यवहार धानेका उनले तरकारीसँगै अन्नबाली पनि लगाउँदै आउएका छन् । उत्पादन गरेको दुध वर्षभरी डेरीमा पुर्याउने किसानहरुको नाम लिँदा काशीरामको नाम अग्रपंतीमा आउँछ ।

खजुरा–२ गौरीनगरका ६१ वर्षिय कृषक लालबहादुर खत्री टमाटर र कुखुरापालक किसान हुन् । परम्परागत रुपमा टमाटर खेती गर्दै आएका उनले आधुनिक प्रविधि अपनाएपछि झण्डै दोव्वरले उत्पादन बढेको बताए । परम्परागत रुपमा लगाइने टमाटरको एउटा बोटमा ५ देखि ६ किलोसम्म उत्पादन हुने गरेकोमा आधुनिक प्रविधि अपनाएपछि ८ देखि १० किलोसम्म उत्पादन लिन सकेको उनको भनाइ छ ।

बाहिरी जिल्लाहरुबाट फर्म अवलोकनका लागि आउने किसानहरुलाई कृषिमा नयाँ प्रविधिको प्रयोग गर्न उनले सुझाव दिनुहुन्छ । ६ वर्षअघि कृषि विकास बैंकबाट अवकाश लिएसँगै उनी व्यवसायीक तरकारी खेतीमा लागेका हुन् । जागिरे भएकै बेला पनि सामान्यरुपमा खेती गर्दै आएका खत्रीले अवकास लिएपछि पुरै समय खेतबारीमा खर्चिन थालेका छन् ।

आधुनिक इजरायली प्रविधि, थोपा सिँचाइ तथा प्लाष्टिक मल्चीङ गरेर टमाटर उत्पादन गरिरहेका उनले बार्षिक १५ देखि २० लाखसम्म नाफा कमाउँदै आएका बताए । खत्रीले एक दर्जन बढिलाई रोजगारी दिएका छन् भने उनीसँग सल्लाह लिन आउने अधिकांश युवालाई पैसा कमाउन विदेश जानु नपर्ने सुझाव दिँदै कृषिकर्ममा लाग्न प्रेरित गर्दै आएका छन् ।

खजुरामा आधुनिक प्रविधि अपनाएर व्यवसायीक तरकारी खेती गरी सफल व्यक्तिको रुपमा परिचय बनाएका छन्, पदमबहादुर रानाले । तरकारी खेतीमा के गर्नुपर्छ भनेर जान्नका लागि कृषक पदमको घर खजुरा–३ मा पुगे हुन्छ । पदमले गरेको आधुनिक प्रविधिलाई खजुराका अन्य किसानले पनि अपनाएका छन् । उनको खेतबारीमा काम सिकेर धेरै युवाहरु व्यवसायीक बनेका छन् । बाँकेमा पहिलो राष्ट्रपति पुरस्कार पाउने कृषक पनि उनी नै हुन् ।

झण्डै एक दर्जन पुरस्कारबाट पुरस्कृत तथा सम्मानित उनले आफुसँगै आफ्नो गाउँ र गाउँपालिकालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । खजुरामा यस्ता धेरै किसानहरु कृषि कर्मबाटै सफल जीवन बिताइरहेका छन् । गाउँपालिकाले पनि वर्षेनि किसानहरुको प्रोत्साहन तथा कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट छुट्टाएको कृषि शाखा प्रमुख समिर ठाकुरले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷०७६ मा रु.४० लाख कृषिमा छुट्टयाएको गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा रु.६० लाख बजेट विनियोजन गरेको छ । ‘हुन त खजुरालाई देश विदेशमा चिनाउन कृषि पेशाले मात्रै होइन, तर पनि कृषिबिना खजुरा अधुरो छ,’ खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले भने, ‘बाँकेमै खजुरा क्षेत्र कृषि उत्पादनमा अग्रस्थानमा छ ।’

कृषि पेशामा अब्बल बनेका व्यवसायीक किसानहरुले आफुमात्रै कृषि कर्म गरेका छैनन्, उनीहरुले नयाँ पुस्तालाई पनि कृषि व्यवसायमा लाग्न प्रेरित गरिरहेका छन् । विभिन्न जिल्लाहरुबाट खजुराका किसानले गरेको व्यवसायीक कृषि पद्दतीका बारेमा अध्ययन तथा अवलोकन गर्न आउनेको संख्या पनि उत्तीकै बढ्दो छ । गाउँका अन्य किसानलाई व्यवसायीक बनाउन अगुवा किसानहरुको उत्तीकै भूमिका छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार ०६:०९