सूचनाको शक्ति - The Power Of Information

        

शौचालयबिहीन पर्यटकीय स्थल, जंगलमै शौच गर्नुपर्ने बाध्यता

बाँके । आफ्नो मनोकामना पूरा भएपछि विभिन्न अवसरमा भारतीय नागरिक सावरा गफारी डुडुवा गाउँपालिका–५, कम्दीस्थित कम्मर शाह बाबा मजारमा पुग्ने गर्छिन् । हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रुपमा रहेको मजारमा च्यादर चढाउनकै लागि विभिन्न पर्वहरुमा पुग्ने गरेको उनको भनाई छ ।

‘मैले मागेको पूरा भएपछि खुसियालीमा बाबालाई च्यादर चढाउनकै लागि यहाँ आउँछु,’ उनले भनिन् । हरेक वर्ष तिहारपछि लाग्ने मेलामा भारतीय नागरिकको घुइँचो लाग्ने गर्छ । भारतका ठूला अस्पतालमा उपचार गराउँदासमेत निको नभएपछि नरैनापुर गाउँपालिका–५, मटेहिया माइती घर भएकी बहराइच जिल्ला महेरी, भारतकी आम्ना शेष मजार पुगिन् ।

‘लखनउ मुम्बईका ठूला अस्पतालमा उपचार गराउँदासमेत निको नभएपछि अन्तिममा बाबाको शरणमा आए पनि निको भएको छ,’ आमा सैरुन निशाले भनिन् । गफारी र निशाजस्ता धेरै भारतीय नागरिकहरु मेलामा दर्शन गर्नकै लागि आउने गर्छन् । हरेक वर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेलाको सञ्चालन हिन्दू र मुस्लिम समुदायले मिलेर गर्दै आएका छन् ।

हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरको रुपमा रहेको छ । मजारमा आशिर्वाद लिन, माग्न वा भाकल गर्न, सुख, शान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास छ । जसका कारण नेपाली मात्रै नभएर भारतीय नागरिक पनि दर्शनका लागि आउने गरेका छन् । मजारका पुजारी नजिर मोहम्मदका अनुसार दीर्घरोगका बिरामी, उपचार गराएर निको नभएका बिरामी निको हुने विश्वास लिएर मजारमा आउने गर्छन् ।

मजारमा पूजापाठका लागि काठमाडौं, भारतको राजधानी दिल्ली, मुम्बई, राजस्थान, पटना, लखनउजस्ता सहरबाट आशीर्वाद लिन आउने गरेको पुजारी मोहम्मदले बताए । ‘निम्न वर्गदेखि उच्च घरानाका समेत पूजापाठका लागि आएको पाइन्छ,’ उनले भने । सरकारले उत्कृष्ट एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको मजारमा भने पर्यटकले भौतिक संरचना नहुँदा पूजापाठ गर्न आउने पर्यटकले सास्ती भोग्नुपरेको छ ।

हिन्दू र इस्लाम धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा रहेको मजारमा धार्मिक आस्था बोकेर पुग्ने पर्यटकहरु जंगलमा शौच गर्न बाध्य छन् । मजार संरक्षणको अभाव मात्र होइन पूजापाठ गर्न आउनेहरुले समेत जंगलमा शौच गर्नुपर्ने बाध्यता छ । नेपालगन्जबाट आठ किलोमिटर पूर्वमा रहेको मजारमा नेपालीका मात्र होइन भारतका हिन्दू र इस्लाम धर्मावलम्बीको समेत पूजापाठ गर्न आउने गरेका छन् ।

पुजारी मोहम्मदले शौचालय नहुँदा भक्तजन र पुजारी नजिकको जंगलमा शौच गर्दै आएको बताए । उनले सरकार र विभिन्न संघसंस्थाले सहयोग गर्ने आश्वासन दिए पनि काम नभएको बताए । मजारमा आउने भक्तजनका लागि ओत लाग्ने ठाउँसमेत छैन । गर्मीमा वास बस्न समस्या नभए पनि बर्षात् र चिसोयाममा भक्तजनलाई समस्या हुने गरेको छ ।

‘सानो पानी पर्नासाथ रुखको ओत लाग्नुको विकल्प छैन,’ उनले भने, ‘मजारमा पिउने पानीको पनि समस्या छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत भएपछि मजारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गतवर्ष रु.२५ लाख विनियोजन गरी पठाए पनि सो रकम पर्याप्त नभएको पुजारी मोहम्मदले बताए । स्थानीय अगुवा जमील खानले सरकारले पर्याप्त बजेट नदिँदा भौतिक पूर्वाधार अभाव रहेको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार १४:२५