बाँके । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रुपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो ।
महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसंख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसंख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई÷चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायीहरू बताउँछन् ।
विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बंगलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो । तर, अहिले भने यो अवस्था ठ्याक्कै बदलिएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने नेपालगन्ज भञ्सार नाका हुँदै रु.६ अर्व ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठुलो मात्रामा चामल निर्यात हुन्थ्यो ।
तर केही दशकयता वर्षेनी करोडौं मुल्यको चामल भारतबाट आयात हुँदै आएको छ । नेपालगन्ज भञ्सार कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सबैभन्दा धेरै बस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ । गत आर्थिक वर्षमा १ लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख शान्तिराम निरौलाले बताए ।
उक्त परिमाणको चामल आयात गर्दा रु.६ अर्ब ४७ करोड रकम नेपालगन्ज नाकाबाट मात्र बाहिरिदा सरकारको खातामा रु.५ करोड भञ्सार राजश्व संकलन भएको छ । नेपालगन्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ताहरु बताउँछन् । बाँके र बर्दिया जिल्लामा उत्पादन हुने ठुलो मात्राको धानकै कारण ठुलो लगानीमा सञ्चालनमा रहेका चामल मिलहरु पनि अहिले बन्द भएका छन् ।
धान उत्पादन घटेसँगै मिलहरु बन्द भएको व्यवसायीहरु बताउँछन् । चामलको विदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । पहिला नेपालगन्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगन्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् । नेपालगन्जमा धान आउन छाडेकाले यहाँका मिल बन्द भएको मिल व्यवसायी प्रदीप भट्टराई बताउँछन् ।
धान उत्पादनसँगै बाँके र बर्दियामा ठूलो परिमाणमा तोरी उत्पादन हु्ने हुँदा यहाँबाट तेल पनि निर्यात हुन्थ्यो । दाङमा उत्पादित तोरीसमेत यहीँ आउँथ्यो । हाल दाङको तोरी नेपालगन्ज आउन छाडिसकेको छ । बाँके र बर्दियामा रहेका धेरैजसो तेल मिल पनि बन्द भइसकेका छन् भने बाँकी बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगन्जमा स्वदेशी उत्पादनकै खाद्यबस्तु ठूलो परिणाममा किनबेच हुन्थ्यो ।
‘यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । नेपालगन्जको भारतसँग परनिर्भरता बढ्दै गइरहेको छ । वनस्पति घीउ उद्योग बन्द भएका छन् । कुनै बखत यहाँबाट एक लाख लिटरसम्म वनस्पति घीउ निर्यात हुने गरेको थियो । बाँकेमा सञ्चालित केएल दुगडले तेल मिल चलाउनकै लागि भारतको राजस्थानबाट तोरी आयात गरिरहेकोे छ ।
खाद्यान्न उत्पादनमा अग्रणी रहेको नेपालगन्ज क्षेत्र अहिले परनिर्भर भए पनि जानकी गाउँपालिका भने औंद्योगिक केन्द्रका रूपमा विकसित भइरहेको छ । यहाँका साना, ठूला र मझौला गरी दर्जन बढी उद्योग सञ्चालनमा आइसकेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय महेन्द्रजंग शाही बताउँछन् । बाँकेमा लगानीमैत्री वातावरण भएकै कारण पछिल्लो समय नयाँ उद्योगहरु खुल्ने क्रम तीव्ररुपमा बढिरहेको छ ।
सत्यपाटी - ।