सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा कोरा साइक्लिङ्ग–२०१९ आयोजना, धार्मिक समुदायलाई जोड्ने प्रयास

बाँके । नेपालगन्ज साइक्लिङ्ग क्लबले नेपालगन्ज कोरा (परिक्रमा) साइक्लिङ्गको आयोजना गरेको छ । विभिन्न धार्मिक समुदायलाई आपसमा जोड्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ नेपालगन्ज कोरा साइक्लिङको आयोजना हुन लागेको हो ।

जिल्लाका विभिन्न धार्मिक स्थलहरुको साइकलबाट परिक्रमा गरी हिन्दू, मुस्लिम, बौद्ध, शिख र ईशाइ समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालगन्ज कोरा साइक्लिङ्गको आयोजना गरिन लागेको कार्यक्रमका संयोजक सतिश निरौलाले जानकारी दिए ।

उनका अनुसार नेपालगन्ज लगायत आसपासका क्षेत्रमा रहेका धार्मिकस्थलमा साइकल यात्री पुगेर एकआपसमा धर्म, संस्कृति, रितिरिवाज र परम्पराबारे जानकारी आदान–प्रदान गर्दै सद्भावको सन्देश दिन नेपालगन्ज कोरा साइक्लिङ सहयोगी हुने उनले बताए ।

आयोजक साइक्लिङ क्लबले साउन भोली शनिबार बिहान साढे ६ बजे न्यूरोडस्थित बौद्ध गुम्बाबाट नेपालगन्ज कोरा साइक्लिङ्गको सुरुवात हुने जनाएको छ । कोरा साइक्लिङ्गमा बाँके लगायत विभिन्न जिल्लाका १५० भन्दा बढि साइकल चालकहरुको सहभागिता हुनेछ ।

काठमाडौं, पोखरा, हेटौंडा, बुटवल, धरानमा गरिँदै आएको कोरा कार्यक्रम पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा आयोजना हुन लागेको हो । सद्भाव टूर दी ठाकुरद्वारा–२०७५ को सफलतासँगै हौसिएका नेपालगन्जका साइकल प्रेमीहरुका लागि यो यात्राले थप पृष्ठपोषण गर्ने नेपालगन्ज कोरा–२०१९ का संयोजक सतिश निरौलाले बताए ।

आयोजकले नेपालगन्ज कोरामा १० वर्षदेखि ६५ वर्षसम्मका साइक्लिस्टहरुले नाम दर्ता गराएको जनाएको छ । नेपालगन्ज कोरामा सहभागि हुन चाहने विद्यार्थीहरुका लागि रु.एक सय प्रवेश शुल्क राखिएको छ भने अन्यलाई रु.तीन सय तोकिएको छ । सद्भाव टूर दी ठाकुरद्वारा–२०७५ मा सहभागी साइकल यात्रीहरुको पनि विशेष उपस्थिति रहेने आयोजकले जनाएको छ ।

कार्यक्रममा साहसिक पारा साइक्लिस्ट यमलाल रसाइली, कैलालीका साइक्लिस्ट भरतबिक्रम शाह, दाङ साइक्लिङ संघका अध्यक्ष रेशम केसी, नेपालगन्ज उमपहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा लगायत चिरपरिचित अधिकारकर्मी, व्यवसायी, वकिल, पत्रकार, तथा चिकित्सकहरुको पनि नेपालगन्ज कोरा–२०१९ मा सहभागिता हुनेछ ।

यस्तो छ कार्यतालिका

विभिन्न धर्म गुरुहरुको सहभागितामा साउन भोली शनिबार विहान ६ बजे नेपालगन्जस्थित बौद्ध गुम्बाबाट नेपालगन्ज कोरा साइक्लिङ्ग–२०१९ को सुरुवात गरिने छ । उद्घाटन शत्रमा सहभागी विभिन्न धर्मगुरुहरुले धार्मिक झण्डा साइकलयात्रीलाई प्रदान गरी सामुहिकरुपमा साइकल यात्राको सुरुवात गरिनेछ ।

न्यूरोडस्थित बौद्ध गुम्बाबाट सुरु गरिएको यात्रामा सहभागी साइक्लिस्टहरु न्यूरोड हुदैँ बागेश्वरी मन्दिर परिक्रमा गर्नेछन् । बागेश्वरी मन्दिर परिक्रमा गरेको साइकल टोलीले त्रिभुवन चोक हुँदै विपी चोकस्थित गुरुद्वारा परिक्रमा गर्नेछ । त्यहाँबाट कोरियनपुरहुदै भेरी प्राविधिक शिक्षालय नजिक रहेको ज्योती चर्चको परिक्रममा गर्नेछ ।

चर्च परिक्रमा गरे लगत्तै साइकल टोली त्यहाँबाट हुलाक कार्यालय नजिक रहेको त्रिमूर्ती मन्दिरमा जम्मा हुनेछन् । साइकल यात्रा विहानको नास्ता त्रिमुर्ती मन्दिरमा खाएपछि पुनः त्रिवेणीमोड हुदैँ एकलैनीभित्र रहेको जामा मस्जिद जानेछ । जामा मस्जिद परिक्रमा गरेको साइकल यात्री राप्तीपथ हुदैं फुल्टेक्रास्थित हडियाबाबा मन्दिर परिक्रमा गर्नेछ ।

साइकल यात्रा हडियाबाबा रोड भएर बुलबुलिया, हिरमिनिया हुँदै भवनियापुरको बाबुगाँउ भएर साइकलयात्री चौलिक्कामा निस्किने छ । त्यहाँबाट थुकैला, नदैगाँउ हुदँै जोगागाउँ भएर ईन्द्रपुरको बाटोबाट नेपालगन्जको धम्बोझी पुग्नेछ । नेपालगन्जको धम्बोझीस्थित गायत्री मन्दिर परिक्रमा गरेर साइकलयात्री धम्बोझीमै रहेको जेष्ठ नागरिक प्रतिक्षालयमा पुग्नेछ ।

त्यहाँबाट सुर्खेतरोड हुदँै कारकाँदोको कृष्ण मन्दिर परिक्रमा गरेर बाइपास रोड हुदैँ पुनः न्यूरोडबाट बौद्ध गुम्बा हुदैं धम्बोझी चोक भएर नेपाल बायु सेवा निगमको अफिस अगाडी रहेको नेपालगन्ज बाइसाइकल प्रालिमा पुग्नेछ । त्यही नेपालगन्ज कोरा साइक्लिङ्ग–२०१९ को समापन गरिनेछ । यस अवधिमा साइकल यात्रीले ३० किलोमिटर दुरी परिक्रमा गर्नेछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाको प्रमुख आतिथ्यतामा नेपालगन्ज कोरा साइक्लिङ्ग–२०१९ को समापन गरिनेछ । विभिन्न धर्मका धार्मिक गुरुहरुसमेत सहभागी हुने कार्यक्रमबाट संकलन भएको रकम साइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपालगन्जका गोविन्द रिजालका छोराको पढाई खर्चका लागि उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार ०८:०१