बाँके । सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफुलमा विषादी चेकजाँच गर्यो । दुई साता नबित्दै चेकजाँच रोकियो । कर्मचारी अभावका कारण चेकजाँच रोक्नुपरेको सरकारले बताइसकेको छ । सरकारले भनेको छ, ‘आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक बर्षभित्रै चेकजाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।’
केन्द्र सरकारले चेकजाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफुलमा विषादी चेकजाँच गर्ने बताएपछि नेपालगन्जमा एकसाता अघिदेखि चेकजाँच पुनः सुरु गरियो । तर चेकजाँच गर्ने कर्मचारीको अभाव देखाउँदै पुनः चेकजाँच रोकिएको छ । पूर्व तयारी नै नगरेर सुरु गरेको चेकजाँच पटकपटक रोक्नुपरेको विषादी अवशेष द्रुत विश्लेषण इकाई नेपालगन्जले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सकिल अहमदले कर्मचारी अभावका कारण समस्या भएको बताए । उनी घरायसी कामले काठमाडौं गएपछि विषादी चेकजाँचको काममा झनै बाधा पुगेको छ । विषादी अवशेष द्रुत विश्लेषण इकाईका अनुसार नियमित चेकजाँच गर्न बाली संरक्षण अधिकृत अहमदलाई जिम्मेवारी दिइए पनि एक्लैले काम गर्न नसक्ने भएपछि चेकजाँच निरन्तर हुन सकेको छैन ।
कर्मचारी नहुँदा विषादी चेकजाँच रोकिएपछि भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल निर्वाधरुपमा विना चेकजाँच भित्रिरहेको छ । विषादी अवशेष द्रुत विश्लेषण इकाई नेपालगन्जका सञ्चालक समिति अध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरका अनुसार विषादी चेकजाँचलाई निरन्तरता दिन स्थानीय तथा प्रदेश सरकारसँग थप कर्मचारीसमेत माग गरिएको छ ।
‘हामीले विषादी चेकजाँचका लागि बाली संरक्षण अधिकृत एक जना, दुई जना प्रावधिक र कार्यालय सहयोगी एक जना हुनुपर्ने माग गरेका छौं,’ उपमेयर उमा थापा मगरले भनिन् । उपभोक्ता सबैले आफुले तरकारी उत्पादन गरेर खाने बानी बसाल्न अनुरोध उपमेयर थापाले अनुरोध गर्नुभयो । केहिदिन यता भारतीय तरकारीको नमुना भन्सार कार्यालयले नपठाएकाले पनि चेकजाँच हुन नसकेको बाली संरक्षण अधिकृत अहमदले बताए ।
तरकारी भारतबाट आउने तरकारी मात्र नभएर नेपालगन्जमा विभिन्न स्थानबाट आउने तरकारी र फलफुललाई मण्डीमा नै कहिले जोर नम्बर र विजोर नम्बर मिलाएर र कहिले जोर विजोर क्रस गरेर चेकजाँच गर्ने योजना रहेको बाली संरक्षण अधिकृत अहमदले बताए । अहिले आउने हरियो तरकारीमा अन्यभन्दा बढि विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण इकाईले जनाएको छ ।
बाली संरक्षण प्रयोगशाला खजुराका दिपक घिमिरेले नेपालगन्जको सरकारी जमिनमा तरकारी लगाउने हो भने नेपालगन्जलाई पर्याप्त पुग्ने बताउँदै सबैले आफ्नै बारीमा तरकारी फलाउन अनुरोध गरे । नेपालगन्जको रानीतलाउ तरकारी उपज बजारसँगै कोहलपुर र भन्सार क्षेत्रमा समेत ल्याब राख्नुपर्नेमा उनको जोड छ । केही दिनयता भारतबाट भित्रिने तरकारीमा अत्याधिक विषादी मिसाइएको हुनसक्ने भएकाले सजग रहन उपभोक्तालाई आग्रह गरिएको छ ।
सत्यपाटी - ।