बाँके । जमिन जलमग्न हुँदा धानको बेर्ना डुबेका छन् । खेत समेत नदेखिने गरी पानीले ढाकेको छ । धानका बेर्ना पानीमाथि तैरिएका छन् । बाँकेको राप्ती तटीय क्षेत्रका अधिकांश गाउँको पीडा यस्तै छ । भारतले बनाएको लक्ष्मणपुर बाँधले हरेक वर्ष यसैगरी दुःख दिन्छ । खेतमा बाढी पसेर उब्जाउ नै हुन दिँदैन । नरैनापुर–६ फत्तेपुरकी धनी चौधरीलाई बर्सेनि यस्तै समस्या हुन्छ ।
बाँधका कारण आएको बाढीले धानबाली नै डुबेपछि बालबच्चालाई के खुवाउने र परिवार कसरी पाल्ने भन्ने पिरलो धनीको काँधमा थपिन्छ । आफ्नो भूमिमा सिँचाइका लागि भारतले लक्ष्मणपुर बाँध बनाएपछि सीमापारि लोभलाग्दो उब्जनी हुँदा सीमावारि भने बर्सेनि यसैगरी बालीनाली चौपट हुने गर्छ । खेती मात्र होइन घरआँगन पनि डुब्छ । जिल्लाको मध्य भागबाट बग्ने राप्ती नदीले बर्सेनि उसैगरी धार परिवर्तन गरिरहन्छ ।
नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका दर्जन गाउँसँगै खेतीयोग्य जमीन कटान र डुवानको जोखिममा पर्ने गर्छ । बर्षायाममा बाढीकै त्रासले रातमा निद्रा लाग्न छाडेको फत्तेपुरका स्थानीय नरेश चौधरीले बताए । यी बर्षौंदेखि बाढी र डुवानले परेका समस्या हुन् । भारतले सीमामा निर्माण गरेका लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध अनि बाँधजस्तै देखिने सीमा सडकले बाँकेका दर्जनौं बस्ती र खेतीयोग्य जमिन डुबानमा परिरहेको छ ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार सीमाको १२ किलोमिटर क्षेत्रमा बाँध बनाउन पाइँदैन । तर नेपालको सीमाको ३० मिटरदेखि ३ किलोमिटरसम्म भारतले नेपाली भूभाग डुब्ने गरी भारतले एकलौटी रुपमै लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध निर्माण गरेको छ । पानी पर्न थालेपछि राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई सधैं बाढीको चिन्ताले सताउँछ । उनीहरू दिनरात जलमापन केन्द्र, प्रहरी र स्थानीय प्रशासनसँग सम्पर्कमा हुन्छन् ।
एक सतादेखि परेको अविरल वर्षाले राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा शनिबार ६ मिटरसम्म पुगेपछि राप्ती तटीय क्षेत्रका गाउँहरुमा साइरन बजाउनुपरेको थियो । केही गाउँहरु डुवानमा परेपनि नदीमा पानीको सतह घटेपछि मानविय र भौतिक क्षति हुन भने पाएन । ‘वर्षायाममा रातभर निद्रा लाग्दैन,’ कृषि चौफेरी गाउँका गुरुदिन यादवले भने, ‘कतिबेला कहाँ बाढी आउने भन्नेबारे सधैं चिन्ता लागिरहन्छ ।’
गुरुदिनको दुई विघा जमिनमा नदी बगिरहेको छ । बर्सेनि बाढीको समय हुने कटानले सयौं बिघा जग्गा बगाइसकेको छ । हरेक वर्ष वर्षाका बेला स्थानीय बासिन्दा बाढीको त्रासमा हुन्छन् । ‘उर्वरभूमि भएकाले अन्न र तरकारी उत्पादन राम्रो हुन्छ,’ यादवले भने, ‘सधैं बाढीको त्रास पनि उस्तै छ ।’ राप्तीमा पानीको सतह बढ्नसाथ सुरक्षित स्थानको खोजी गर्दै स्थानीयहरु बाढी नपस्ने अग्ला ठाउँतर्फ जान्छन् ।
बाढी र डुबानका कारण अनेकौं समस्या खेप्न बाध्य भए पनि राप्ती नटीय क्षेत्रका बासिन्दाको सरकारसमक्ष एउटै माग छ, ‘बाढी नपस्ने सुरक्षित स्थानमा घर बनाउने जग्गा ।’ सुरक्षित स्थानमा घर बनाउने जग्गा उपलब्ध गराइदिने आश्वासन पनि पाएको वर्षौं बिते पनि अवस्था उस्तै छ । बाढी प्रभावितलाई घर बनाउन पुग्ने मात्रै जग्गा सरकारले उपलब्ध गराए वर्षाैंदेखि खेप्दै आएको सास्तीबाट मुक्ति पाउने होलियाका राजकुमार शुक्लाको भनाई छ ।
शुक्लाले भने, ‘बाढी र डुबान बाँकेको सबैभन्दा ठूलो र जटिल समस्या हो । यहाँका बासिन्दा बर्सेनिजसो यो समस्याबाट गुज्रिरहेका छन् । तर अहिलेसम्म दिगो समाधानको कुनै पहल हुन सकेको छैन । सरकारी उदासीनताका कारण यहाँका बासिन्दा बिचल्लीको कहालीलाग्दो अवस्था खेप्न बाध्य छन् ।’ बाढी प्रभावितको नाममा सरकारले बर्सेनि करोडौं लगानी गरे प्रभावितले प्रत्यक्षरुपमा लाभ उठाउन सकेका छैनन् ।
‘सरकारी अधिकारीहरु बाढी र डुबानका बेला हेलिकोप्टरबाट प्रभावित क्षेत्रको निरीक्षण गर्छन् चिउरा, खाद्यान्न र त्रिपाल बाँड्छन्,’ शुक्लाले भने, ‘अर्काे बाढी आउनुअघि नै सुरक्षित स्थानमा बसोबासको मिलाउँछौं भनेर गफ दिन्छन् । यस्तो आश्वासन सुनेको १५ वर्ष बितिसक्यो, समस्या उस्तै छ ।’ वर्षौंदेखि नदीको कटान र बाढीको उच्च जोखिममा भए पनि तटबन्ध निर्माण लगायतका प्रभावकारी नियन्त्रण कार्य हुन नसकेको शुक्लाको गुनासो छ ।
गाउँका धेरै मानिसले खाद्यान्न उच्च ठाउँमा राखिसकेको शुक्लाले बताए । उनले भने, ‘गाउँलेहरु रातभर जाग्राम बस्छन् । खाद्यान्न, लत्ताकपडा उच्च ठाउँमा सारिसकेका छन् ।’ बाढीबाट सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५,६,७ र डुडुवा गाउँपालिकाको वडा नं. १ सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । त्यस्तै लक्ष्मणपुर बाँध आसपासका होलिया, बेतहनी, गंगापुर, मटैया, फत्तेपुर, कचनापुर लगायतका गाउँहरु डुबानको जोखिममा पर्ने गरेका छन् ।
सत्यपाटी - ।