बाँके । राप्तीसोनारी गाउँपालिका सोमबार ‘साक्षर’ गाउँपालिका घोषित भएको छ । गाउँपालिकालाई साक्षर घोषणा गरिएसँगै राप्तीसोनारी जिल्लाको चौथो साक्षर गाउँपालिका भएको छ । जिल्लामा सबैभन्दा पहिले कोहलपुर नगरपालिकाले साक्षर नगर घोषणा गरेको थियो । त्यसपछि क्रमशः खजुरा र जानकी गाउँपालिकाले घोषणा गरेका थिए ।
साक्षर घोषणा गरेपछि राप्तीसोनारीले जिल्ला समन्वय समिति बाँकेबाट प्रोत्साहन स्वरुप ६ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको छ । गाउँपालिका परिसरमा आयोजित समारोहमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले साक्षर गाउँपालिका घोषणा गरेका हुन् । ‘साक्षर राप्तीसोनारी घोषणापत्र’ वाचन गर्दै उनले गाउँपालिकाको कुल साक्षर प्रतिशत ९५.११ प्रतिशत रहेको बताए ।
साक्षर नेपाल घोषणा वर्ष २०७६ मा उल्लेखित १२ वटा मापदण्ड अन्तर्गत ९५ प्रतिशत घोषणा गर्न सकिने नीतिगत ब्यवस्था बमोजिम राप्तीसोनारीलाई पनि साक्षर घोषणा गरिएको उनको भनाई थियो । उनले भने, ‘राप्तीसोनारीलाई साक्षर घोषणा गर्न सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु, बाँकी रहेका सबै निरक्षरलाई एक वर्ष्भित्र साक्षर बनाउने नीति लिइएको प्रतिवद्धता ब्यक्त गर्दछौं । ’
गाउँपालिकामा रहेका कुल ९ वटा वडामा १३ हजार ३३६ घरधुरीबाट ७२ हजार ३९८ जनसंख्या रहेको छ । ती मध्ये ४५ हजार ६७८ साक्षर र २ हजार ३६९ जना निरक्षर रहेको गाउँपालिकाले जनाएको छ । साक्षरता घोषणाका लागि साक्षर नेपाल वर्ष २०७६ का अवधारणा अन्तरगत १५ देखी ६० वर्ष उमेर समुहका ब्यक्तिलाई समेटिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधी सभाका सांसद महेश्वरजंग गहतराज ‘अथक’ ले प्रत्येक विकासको आधार नै शिक्षा भएको बताए । उनले भने, ‘साक्षर घोषणा यो नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारका लागि महत्वपूर्ण उपलब्धी हो ।’ शिक्षा क्षेत्रको विकास गर्न सकेमात्र अन्य क्षेत्रको विकास गर्न सम्भव हुने बताए ।
राज्यले विगतदेखि साक्षर नेपालको परिकल्पना गरेकोमा जोड दिँदै उनले त्यसलाइ पुरा गर्नको लागि धेरै विभिन्न प्रयास हुदै आएको बताए । ‘अब बृद्ध आमा बुवालाई बृद्धभत्ता लिदाँ औठा छाप लगाउने होइन, हस्ताक्षर गर्न सक्ने बनाउनुपर्छ,’ गहतराजले भने । आफु निर्वाचिन भएको पहिलो वर्षको ४ करोड बजेट पुरै शिक्षा क्षेत्रमा लगाएको उहाँले स्मरण गरे ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले शिक्षा क्षेत्रको विकासमा सबैको सहकार्य हुन जरुरी रहेको औल्याउए । उनले साक्षर घोषणा गरेर मात्र नहुने भन्दै घोषित कुरालाई ब्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रबहादुर माझीले साक्षर गाउँपालिका घोषणाका लागि घरधुरी सर्बेक्षण कार्यमा सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकलाई परिचालन गरिएको जानकारी दिए ।
साक्षरताको लागि नागरिकले राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने लगायत मापदण्ड राखिएको उनले प्रष्ट्याए ।
घोषणा कार्यक्रममा पुर्ब सांसद अशोक रोकाय, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर १ का वडाध्यक्ष चन्द्रबहादुर ओली, राप्तीसोनारी शिक्षा शाखा प्रमुख ओमप्रकाश थापा, नेकपाका नेता चिमबहादुर घर्ती, नेपाली कांग्रेसका श्रीधर उपाध्याय, राप्रपाका भुपेन्द्रबहादुर ओली, नेपाल शिक्षक महासंघ राप्तीसोनारीका अध्यक्ष मोहन खत्री लगायतले शुभकामना दिएका थिए ।
त्यसक्रममा एसईई परीक्षामा गाउँपालिकामै उत्कृष्ट अंक ल्याउने सरस्वती मावि भवानियापुरका छात्र निराजन चौधरीलाई नगद ५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट तथा अतिथीले बिद्यालयका प्रधानाध्यापक ललितकुमार चौधरी र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई उक्त रकम र प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रममा चर्चित मयुर नाँच, पञ्चेबाजा तथा सामुदायिक र संस्थागत बिद्यालयका छात्र–छात्राले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । घोषणा कार्यक्रममा ठुलो संख्यामा बिद्यार्थी, शिक्षक, अभिभावक, सरोकारवाला निकाय, समाजसेवी, बुद्धिजिवी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
सत्यपाटी - ।