सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदी किनारका बस्तीमा उच्च सतर्कता, सुरक्षाकर्मी तयारी अवस्थामा

बाँके । निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन् । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजीक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् ।

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेको प्रजिअ भुजेलले बताए । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

यस वर्ष बाँकेमा बाढी र डुबानको जोखिम कम गर्न तथा तत्काल उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । बाढी र डुबानको विपद् आएको समयमा नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ ।

नदीमा जल प्रवाहको स्तर खतराको चिह्नभन्दा माथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताए । अझै २४ घण्टासम्म मनसुनी न्यूनचापीय रेखा पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने मौसमविद्हरुको भनाइ छ । हाल देशभरको मौसम पूर्ण बदली रहेकोले पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको र केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १४:५१