
बाँके । आज हरिशयनी एकादशी । अर्थात् असार शुक्ल एकादशी । असार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ ।
हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । आज घरघरमा तुलसी रोप्ने चलन छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य मानिन्छ । जसका घर आँगनमा तुलसीको मोठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास भइरहन्छ ।
स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने जस्ता धेरै जनविश्वास प्राचीन कालदेखि चलिआएका छन् । हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्ने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा हुने गरेको भनाई छ ।
चतुर्मास अवधिमा श्रीविष्णु(हरि) भगवानको पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् । आज देशभरका विष्णु मन्दीरहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
सत्यपाटी - ।