सूचनाको शक्ति - The Power Of Information

        

लामखुट्टेको लार्भा नष्ट गर्दै खजुरा

बाँके । खजुरा गाउँपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । गाउँपालिका वडा नं. ३ र ४ लाई लक्षित गरी उक्त अभियान सुरु गरिएको हो । दुई दिने अभियान अन्तरगत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेका लार्भा नष्ट गर्नुका साथै सचेतना जगाइने खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए ।

उनले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेका लार्भा र फूल नष्ट गर्ने बताए । पोथी लामखुट्टेको टोकाईबाट लाग्ने डेंगुको उपचार नहुने बताउँदै प्रमुख खड्काले नियनत्रण गर्न सकिने तर निर्मुल नहुने बताए । उनले डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य कर्मीहरुलाई प्रशिक्षण समेत दिइएको र यसका लागी बजेट पनि छुट्टयाएको जानकारी दिए ।

यही असार २५ र २६ गते दुई दिने लार्भा नष्ट गर्ने अभियानमा ३३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरी सर्च र नियन्त्रण अभियान चलाइने स्वास्थ्य शाखाकी लक्ष्मी केसीले बताइन् । महिला स्वास्थ्य स्वयं सेविकालाई दुई दिनसम्म अभिमुखीकरण गरेर फिल्डमा खटाइने उनले जानकारी दिइन् ।

अभियानको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष एकमाया विकले डेंगु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएको बताइन् । उनले गाउँवस्तीमा पानी धेरै जम्नु र तराईको हावापानी गर्मी धेरै हुने हुँदा बाहिर बस्नुपर्ने बाध्यता भएको बताउँदै डेंगु रोग लाग्नबाट रोक्न महिला स्वास्थ्य स्वयं सेविकाको एकदमै ठूलो भूमिका हुने बताइन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १९:०६