बाँके । एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जगेश्वर सिंह थारु र भीम पौडेललाई दिउँसो बाटिका होटलका कर्मचारीले कुटपिट गरेका छन् । होटलका कर्मचारीले कुटपिट गर्ने क्रममा एभिन्यूज टेलिभिजनको क्यामेरा तोडफोड गरिदिएका छन् ।
केही समयअघि होटल बाटिकाबाट रु.३५ लाखसहित एउटा समुह पक्राउ परेको थियो । सोही समाचारको दृष्य लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर्न भन्दै पत्रकारहरुमाथि हातपात गर्दै क्यामरा खोसेका थिए । भारतीय सेनामा भर्ना गराईदिने भन्दै युवाहरुसँग रकम लिएको सो समूहले पत्रकार रोकायलाई आधा घण्टा नियन्त्रणमा लिनुका साथै हातपात गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । घटनापछि बाँकेका पत्रकारहरुले प्रहरी उपरीक्षक वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेमाथि कडा कारवाहीको माग गरेका छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघ बाँके शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गर्दै समाचार संकलनका लागि गएका पत्रकारहरुमाथि आक्रमण गरी सञ्चार सामाग्री समेत तोडफोड गरिनु सिंगो प्रेस जगतमाथिको आक्रमण भएको ठहर गरेको छ ।
आज विज्ञप्ती जारी गर्दै होटल बाटिकामा भएको यो घटनाले बाँकेमा रहेका सम्पूर्ण पत्रकारहरु त्रसित भएको जनाउँदै घटनामा संलग्न एबिसी टुर एण्ड ट्राभल्स काठमाडौंका सञ्चालक ईश्वर भनिने भुवन खडका र होटल बाटिकाका म्यानेजर प्रकाश ढकाललाई दहैसम्मको कारबाही माग गरेको छ ।
घटनाको सत्यतथ्य पत्ता लगाई घटनामा संलग्न रहेका खड्का र ढकाललाई कडाभन्दा कडा कारबाहीका साथै तोडफोड भएका सञ्चार उपकरणको क्षतिपूर्ति र निर्वाध रुपमा समाचार संकलनको वातावरणका लागि पत्रकार महासंघ बाँके शाखाले सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।
।