सूचनाको शक्ति - The Power Of Information

        

विषादी परीक्षण रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँं । भारतबाट आयात हुने तरकारी तथा फलफलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । विषादी परीक्षण रोक्ने सरकारको असार १८ गतेका निर्णय खारेजीको माग गर्दै मंगलबार दायर भएका तीन वटा रिटको एकसाथ सुनुवाइ गर्दैै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

मंगलबार अधिवक्ताहरु कञ्चन न्यौपाने, स्वागत नेपाल र विष्णुप्रासद तिमिल्सनाले दायर गरेको छुट्टा छुट्टै तीनवटा रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजालसले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्नुको कारण १५ दिनभित्र पेश गर्न समेत सरकारलाई आदेश दिएको छ ।

रिटबारे थप छलफल गर्न असार ३० गते दुवै पक्षलाई बोलाइएको सर्वोच्चले जनाएको छ । भारतीय दबाबका कारण सरकारले विषादी परीक्षण रोकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सर्वोच्चको आदेशले सरकारमाथि थप दबाब परेको छ । सरकारले सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नभएको भन्दै निर्णय फिर्ता लिएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार १८:१७