सूचनाको शक्ति - The Power Of Information

        

भारततर्फ जाने पूँजी रोक्दै बाँकेका सहकारी, करोडौं रुपैयाँ स्वदेशमै सञ्चित

बाँके । कुनै बेला सीमावर्ती भारतीय बजारमा सञ्चालित बैंक तथा सहकारीमा करोडौं रुपैयाँ नेपालगन्ज बजारबाट बचतका रुपमा बाहिरिने गर्दथ्यो । भारतीय बैंक तथा सहकारीका एजेन्डले नेपालगन्जबाट स–सानो बचत रकम दैनिकजसो सीमापारी पुर्याउँथे । कति बचतकर्ताको रकम त फिर्ता पनि आउदैन्थ्यो ।

तर, बाँकेमा सहकारीहरुको संख्या बढ्दै गएपछि भारतमा बचत गर्ने क्रम न्यून भएको छ । बाँकेमा बचत तथा ऋणसँगै कृषि क्षेत्रमा पनि सहकारी संस्थाहरु खुल्ने क्रम तीव्र भएपछि करोडौं नेपाली रुपैयाँ स्वदेशमै रोकिएको छ । बाँकेमा बचत सहकारीहरुको स्थापनापछि नेपाली पूँजी बाहिरिन कम भएको बताउँछन्, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी ।

उनले यहाँका सहकारीले पुँजी पलायनलाई रोकेको बताउँदै भारतमा बचत गर्ने बचतकर्ताको संख्या न्यून भएको जानकारी दिए । बाँकेमा ४ सय बढी सहकारी सञ्चालनमा रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । ‘बाँकेमा मात्रै ११ लाख ६५ हजार सदस्य सहकारीमा आबद्ध हुनुहुन्छ,’ अध्यक्ष सुवेदीले भने ।

उनले २७ सय भन्दाबढी व्यक्ति सहकारीको सञ्चालक समितिमा आबद्ध रहेको बताउँदै सहकारीमा दुई हजार जनाले रोजगारी पाएको जानकारी दिए । अध्यक्ष सुवेदीले बाँकेमा सञ्चालित कृषि सहकारीले मात्रै दैनिक ८ हजार लिटर दुधको कारोबार गर्ने गरेको पनि जानकारी दिए ।

उनले भने, ‘बार्षिक १५ सय मेट्रिक टन बढी धान र १ हजार मेट्रिक टन गहुँको बिउ सहकारीहरुले तयार गर्छन् ।’ जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालित छन् । यसबाट विपन्नलाई आयआर्जनमा समेत टेवा पुगेको छ । ऋण परिचालनले धेरैलाई स्वरोजगार समेत बनाएको अध्यक्ष सुवेदीको भनाई छ ।

‘सहकारीमैत्री समाज बन्यो भने, कोही कसैको भर पर्नुपर्दैन,’ उनले भने, ‘सहकारी भए घरघरमा रोजगारी हुने सिद्ध भइसकेको छ ।’ अध्यक्ष सुवेदीका अनुसार महिलाले नेतृत्व गरेका सहकारीहरुको वार्षिक कारोबार तुलनात्मक रूपमा राम्रो रहेको छ भने महिलाहरुले भारतीय बैंक तथा वित्तिय संस्थामा बचत गर्न छाडेका छन् ।

‘सहकारीका कारण साँझ–बिहान चुलोचौको टार्न कठिन पर्नेलाई आयआर्जनमा सहयोग पुगेको छ,’ पौरखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले भने, ‘सहकारीले सर्वसाधारणलाई जीवनयापन गर्न सजिलो बनाएका छन् । हामीले सीपमूलक तालिमहरु समेत दिने गरेका छौं । यसबाट सर्वसाधारणहरु आन्मनिर्भर पनि बनेका छन् ।’

ठूला सहकारीले वैदेशिक रोजगार, सवारीसाधन र घर निर्माणमा लगानी गरिरहेका छन् । सरकारी बैंक तथा वित्तीय संस्थामा ऋण लिन लामो र धेरै प्रक्रिया पु¥याउनुपर्ने भएकाले सहकारीप्रति सेवाग्राहीको आकर्षण बढेको उनको भनाई छ । आफू अध्यक्ष रहेको पौरखी सहकारीले एक महीनामा रु.२२ लाख शेयर विक्री गर्न सफल भएको उनले बताए ।

उनले भने, ‘जेठ महीनामा मात्र रु.२२ लाखको शेयर विक्री गरेर सहकारीको कुल पुँजी रु.१ करोडमाथि पुर्याएका छौं । बैंकहरुभन्दा सहकारी विश्वासिलो, भरपर्दो र सहज लाग्ने भएकै कारण शेयर खरीदसँगै बचततर्फ सर्वसाधारणको आकर्षण छ ।’ सामान्य खर्चका लागि श्रीमान्को मुख ताक्नुपर्ने महिलाहरु बचत गर्न थालेपछि आत्मनिर्भर भएको उनको भनाई छ ।

बचत समूहमा आबद्ध केही महिलाले बाख्रापालन, कुखुरापालन व्यावसायिक पशुपालन, च्याउ खेती, तरकारी तथा फलफूल खेती, घरेलु तथा साना उद्योग तथा व्यवसाय गरेको अध्यक्ष तिमिल्सिनाले बताए । ‘केही वर्ष अघिसम्म सामान्य परिवारका महिलाले स–सानो खर्चका लागि श्रीमान्को मुख ताक्नुपथ्र्यो, अब त्यो अवस्था रहेन,’ उनले भने ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष सुवेदीले एक सहकारी एक उत्पादनको नीति अनुसार स्थानीय सहकारीका उत्पादनको बजारीकरणका लागि सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको बताए । ‘एक बर्षभित्र जिल्लामा सहकारी बजार स्थापना गर्ने लक्ष्य राखेका छौं,’ उनले भने । सहकारी बजार स्थापनापछि सहकारीहरुलाई उत्पादनमा जोड्ने लक्ष्य रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ११:०१