काठमाडौं । कुल जनसंख्यामध्ये आधाले मोबाइलबाट इन्टरनेट चलाउने गरेका छन्, त्यो पनि ब्रोडब्यान्ड । यसै वर्षको वैशाखसम्मको नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदनअनुसार देशभर एक करोड ५७ लाख ९५ हजारले मोबाइलबाट थ्रीजी र फोरजी प्रयोग गर्ने पाइएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले गरेको कुल दुई करोड ९५ लाख बराबरको नेपालको जनसङ्ख्याको प्रक्षेपणका आधारमा प्राधिकरणले यो तथ्याङ्क तयार पारेको हो । कुल जनसंख्याका आधारमा मोबाइल ब्रोडब्यान्डको पहुँचमा रहेको संख्या करिब आधा हो । प्राधिकरणले थ्रीजीस्तरको इन्टरनेट सुविधालाई ब्रोडब्यान्ड मान्ने गरेको छ, जसको ग्रामीण क्षेत्रमा न्यूनतम गति ५१२ केबीपीएस निर्धारण गरिएको छ ।
नेपालमा अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले मोबाइलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेका छन् । त्यसमध्ये स्मार्ट टेलिकमले फोरजी सेवा मात्र उपलब्ध गराएको छ । मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये अधिकांश थ्रीजी प्रयोगकर्ता छन् जसको संख्या एक करोड नौ लाख हाराहारी छ । सेवा प्रदायकको हिसाबले नेपाल टेलिकमका ६८ लाख ३९ हजार थ्रीजी प्रयोगकर्ता छन् भने एनसेलका ४० लाख ६६ हजार ।
टेलिकमका प्रयोगकर्ता धेरै
कुल मोबाइल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमको मोबाइल इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । प्राधिकरणको उक्त प्रतिवेदनअनुसार टेलिकमका कुल ८८ लाख ७८ हजारले मोबाइलबाट इन्टरनेट चलाउँछन् । यो संख्यामा इभीडीओ प्रयोगकर्तासमेत समेटिएको छ । जसको संख्या एक लाख ३६ हजार छ । त्यस्तै थ्रीजी र फोरजी गरेर एनसेलका कुल मोबाइल इन्टरनेट प्रयोगकर्ता ६७ लाख ४१ हजार पुगेको छ । स्मार्टको भने फोरजी प्रयोगकर्ता मात्र छन् जसको सङ्ख्या एक लाख ७४ हजार मात्र छ ।
फोरजीमा एनसेल अगाडि
चौथो पुस्ताको फोरजी इन्टरनेट प्रयोगकर्ताको संख्या देशभर ३६ लाख १२ हजार पुगेको छ । यसमध्ये एनसेलका मात्र २६ लाख ४१ हजार फोरजी प्रयोगकर्ता छन् । एनसेलका अनुसार अहिले देशभरका प्रमुख ४० सहरमा कम्पनीले फोरजी सेवा उपलब्ध गराएको छ । नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमका सात लाख ६२ हजार फोरजी ग्राहक छन् । टेलिकमको फोरजी काठमाडौँ उपत्यका र पोखरामा मात्र सीमित छ ।
यद्यपि टेलिकमले गत माघ २० गतेदेखि गणना हुने गरी एक वर्षभित्र देशैभर फोरजी विस्तार गर्ने योजनासहित उपकरण आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ । उक्त सम्झौता अनुसार टेलिकमका ६५ लाख फोरजी ग्राहक थप हुनेछन् । सबैभन्दा पछिल्लो पटक फोरजी उपलब्ध गराएको स्मार्ट टेलिकमका फोरजी ग्राहक संख्या एक लाख ७४ हजार पुगेको पनि प्राधिकरणले जनाएको छ ।
सत्यपाटी - ।