सूचनाको शक्ति - The Power Of Information

        

सहकारीमा हिनामिना भएको रकम लालपूर्जा धरौटी राखेर असुल्दै

बाँके । करोडौं रुपैयाँ हिनामिना भएको सहकारी वित्तीय विकास संस्था लिमिटेडका तीन जना उच्च कर्मचारी प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरुलाई सार्वजनिक मुद्दा लगाएर थुनेको छ । प्रहरी हिरासतमा बैंकिङ प्रवन्धक अरुणकुमार पाठक, नायव महाप्रवन्धक गंगाधर सुवेदी र मुख्य प्रवन्धक गोपाल भण्डारी छन् ।

ती कर्मचारीलाई कहिलेसम्म थुनामा राख्ने ? सहकारी सञ्चालकहरु नै अल्झनमा परेका छन् । सहकारी ऐनअन्तरगत मुद्दा चलाउदा उनीहरु जेल जाने निश्चितप्रायः छ । उनीहरुलाई जेल पठाउदा हिनामिना रकम असुलमा अझ विलम्ब हुने डर छ । अर्कोतिर, सहकारी ऐनअन्तरगत मुद्दा मामलामा जादा सहकारीको बेइज्जत हुने सञ्चालकको बुझाई छ ।

त्यसो भए उपाय के त ? नाम नछाप्ने शर्तमा एक अधिकारी भन्छन्, ‘२८ गते साधारण सभा गरेर ती कर्मचारीहरुलाई धरौटी लिएर थुनाबाट बाहिर निकाल्ने तयारी भइरहेको छ । जेल पठाएर पैसा असुल नहुने भएकाले सकेसम्म उनीहरुको जायजेथा धरौटी राखेर असुल गर्ने तरिका अपनाउने छलफल भइरहेको छ ।’

प्रहरी हिरासतमा रहेका कर्मचारीले पनि लालपूर्जा धितो राख्न तयार भइसकेका छन् । जसअनुसार भण्डारीको ५४ कठ्ठा, सुवेदीको ३३ कठ्ठा र पाठकको १०० कठ्ठा जमिनको लालपूर्जा सहकारीमा बुझाइसकिएको छ । तर, उनीहरुले हिनामिना गरेको रकम यतिले नपुग्ने सहकारी स्रोतले जनाएको छ ।

सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले आवश्यक धरौटी लिएर कर्मचारीहरुलाई थुनामुक्त गर्ने कुराको पुष्टि गरेका छन् । ‘जेल पठाएर भन्दा आवश्यक धरौटी लिएर जाने कि भन्ने विषयमा छलफल भइरहेको छ,’ अध्यक्ष चौधरीले भने, ‘यी विषयमा २८ गतेको साधारण सभामा वृहत छलफल हुन्छ ।’ सहकारीले धरौटी लिने, हिनामिना गरेको रकम तिर्ने तालिका बनाउने तयारी गरेको छ ।

उसले थुनामा रहेका कर्मचारीको कार्यकालमा वितरण गरिएको १२ करोड उठाउने ग्यारेन्टी खोजिरहेको छ । सहकारीले दोस्रो पटक २८ गते साधारण सभा बोलाएको छ । यसअघि २१ गते बोलाएको साधारण सभा ‘कोरम’ नपुगेर स्थगित भएको थियो । एक हजार ७४० जना सदस्य रहेको सहकारीमा २८५ जनामात्रै उपस्थित भएका थिए । जबकी विशेष साधारण सभामा ५१ प्रतिशत उपस्थिति चाहिन्छ ।

अब दोस्रो पटक आव्हान गरेको साधारण सभामा ३३ प्रतिशत उपस्थिति आवश्यक पर्नेछ । सहकारीमा आधा दर्जन कर्मचारीले कम्तीमा २६ करोड हिनामिना गरेका छन् । कर्मचारीले रकम हिनामिना गरेको बाहिर आउने बित्तिकै बचतकर्ताहरु आत्तिएका छन् । सहकारीले कर्मचारीबाट उठाएर साढे तीन करोड रुपैया बाँडिसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ०७:२८