सूचनाको शक्ति - The Power Of Information

        

आहाराका आधारमा बाघको संख्या, चार बर्षमा दोब्बर गर्ने लक्ष्य

काठमाडौंं । विश्वमै दुर्लभ पाटेबाघले खाने आहारा प्रजातिको अवस्थिति पत्ता लगाउन भएको अध्ययनको स्थलगत कार्य सकिएपछि बाघको अध्ययनमा अझै सहज हुने भएको छ । नेपालमा पहिलो पटक भएको अध्ययनको नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको हो ।

विश्वका अन्य क्षेत्रका घना जङ्गलमा संरक्षित वन्यजन्तुको सहायता गर्ने गरिन्छ । ‘फिल्डको काम सकेर अब तथ्याङ्क विश्लेषणको काम भइरहेको छ,’ विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने, ‘विभिन्न ब्लकमा आहारा प्रजातिको अवस्थासँगै बाघका लागि चाहिने आहाराको आँकलन विश्लेषणपछि गर्न सकिन्छ ।’

विभागले सन् २०२२ सम्ममा नेपालमा पाटेबाघको संख्या दोब्बर गर्ने लक्ष्य लिएको छ । सन् २०१० मा बाघ पाइने १३ वटा देशको भेलाले सन् २०२२ सम्म संख्या दोब्बर पार्ने लक्ष्य लिएको थियो । सो लक्ष्यअनुसार वर्तमानमा रहेको आहाराको संख्याले धान्न सक्ने वा नसक्ने पत्ता लगाएर सुधार गर्ने योजना विभागले लिएको छ ।

बाघको जीवन निर्वाहका लागि आहारा प्रजातिको बलियो उपस्थिति अति जरुरी रहेको उनले औँल्याए । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा टोली बाँडिएर वैशाख अन्तिम सातादेखि करिब एक महिना स्थलगत अध्ययन भएको थियो ।

आहारा प्रजातिको अध्ययनका क्रममा सीधा रेखामा हिँडेर वरिपरिका वन्यजन्तुको गणना गर्ने र दूरीका आधारमा भेटिने वन्यजन्तुको अभिलेख राख्ने गरी दुई विधि अपनाइएको श्रेष्ठले जानकारी दिए । एउटा टोलीमा अध्येता र सहयोगी गरी छ जना थिए । बाघको आहाराअन्तर्गत पर्ने चित्तल, जरायो, रतुवा मृग, लगुना, बँदेल, बाँदर, नीलगाई, गौरीगाई आदिको अवस्थिति विश्लेषणले निकाल्ने अनुमान गरिएको छ ।

‘यतिबेला प्राविधिकले जङ्गलमा प्राप्त गरेका तथ्याङ्कको विश्लेषण धमाधम गरिरहेका छन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक नरेश सुवेदीले भने, ‘यसबाट नेपालका बाघका लागि आहारा पर्याप्त छ, छैन यकिन हुन्छ ।’ अबको दुई हप्तापछि अध्ययन प्रतिवेदन तयार हुने उनले जानकारी दिए ।

आहारा प्रजातिको कमीका कारण बाघको सङ्ख्या बढोत्तरीमा अप्ठेरो नहोस् र मानव वन्यजन्तु द्वन्द्वको अवस्था नहोस् भन्नाका लागि पनि यस अध्ययनले महत्व राख्ने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए । आहारा प्रजातिका लागि घाँसे मैदान, पानीको स्रोत लगायतका वातावरण निर्माण गर्न अध्ययनले सघाउने अर्यालले बताए ।

हाल नेपालका पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा, चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा, बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा गरी नेपालमा पाटेबाघ रहेका छन् । सन् २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको थियो । अहिले ५ वर्षपछि २३५ पुगेको हो । ५ वर्षको अवधिमा ३७ बाघ बढेका छन् ।

संसारमा पाइएका ८ प्रजातिमध्ये ३ प्रजाति बाली, जाभा र क्यासपियन बाघ सन् १९८० को दशकमै लोप भए । बाघलाई स्वस्थ पारिस्थितिक प्रणालीको सूचक मानिन्छ । एसिया महादेशका १३ राष्ट्रमा अहिले ५ प्रजातिका मात्र बाघ पाइन्छन् । तीमध्ये नेपालमा पाइने बंगाल टाइगर हो, जसलाई पाटेबाघ भनिन्छ ।

विश्व वन्यजन्तु कोष (ग्लोबल)का अनुसार भारत, नेपाल, बंगलादेश र भुटानमा गरी बंगाल टाइगरको संख्या करिब १ हजार ८५० छ । यसमध्ये सबैभन्दा बढी भारतमा १ हजार ४०० को हाराहारीमा भएको बताइन्छ । २०१८ मा बाघ गणना गर्दाताकाको एकमुष्ट अध्ययनको विश्लेषणले पर्सामा २२.२, चितवनमा ७७.७, बाँकेमा ८.१, बर्दियामा ७७.५१ र शुक्लाफाँटामा ६८.०४ प्रतिशत आहारा प्रजातिको जनघनत्व अनुमान गरिएको थियो ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलवार १०:४४