बाँके राष्ट्रिय निकुञ्जको दक्षिणतर्फ रहेको एउटा सुन्दर शहर हो कोहलपुर । उत्तरतर्फको प्रकृतिले पनि लुकामारी खेलेजस्तोे भान हुन्छ पहिलो पाइला टेक्ने अतिथिलाई त्यो शहरमा । स्वदेशी तथा विदेशी मानिसहरुको आवातजावत विस्तारै बढ्दै छ । कोहलपुरदेखि करिब ९ किलोमिटर उत्तरतर्फ रहेको गाभर भ्याली पर्यटकीय हिसावले अत्यन्तै सुन्दर छ । पर्यटकका लागि सुरक्षित बासको गन्तव्य मानिने कोहलपुरमा पर्यटन व्यवसायीहरुको ध्यान पनि उत्तिकै खिचिएको छ । कोहलपुर पर्यटन आधार क्षेत्र बन्दै गएको छ । नेपालगन्जपछि मध्य तथा सुदूरपश्चिमको व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गरेको कोहलपुरमा अत्याधुनिक मेडिकल कलेजसहित तारे होटलहरु खुल्ने क्रम बढिरहेको छ ।
सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर, बैंक तथा वित्तिय संस्थाहरु, होटल, शैक्षिक संख्याहरु खुल्ने क्रमले तीव्रता पाएको कोहलपुरमा । निकुञ्ज छेउछाउमा गृष्ममा फुल्ने सयौं रङ्गीचंगी फूलहरुसँग लुकामारी खेल्ने गर्दछन् कोहलपुरसँग । यतिमात्र होइन विभिन्न जातजातिको संस्कृतिले पनि यो शहरलाई साँस्कृतिक शहरका रुपमा विकास गर्न सकिने सम्भावनाहरु प्रचुर छन् । प्रदेश नम्बर ५, ६ र ७ को प्रवेशद्वारको रुपमा परिचित रहेको कोहलपुरलाई अन्तर्राष्ट्रिय मार्गको रुपमा विकास गर्न सकिन्छ । कोहलपुरलाई सुन्दर नगरी बनाउन कोहलपुरलाई भारत र चीन जोड्ने शहरको रुपमा विकास गर्न सके मुलुकले लाभ लिन सक्ने देखिन्छ । यहाँको थारु समुदायको बासोबास र संस्कृतिले अझै सुन्दरता थपिदिन्छ ।
नेपालगन्ज विकसित भइसक्दा जंगलै रहेको कोहलपुरको विकास पछिल्लो समयमा तीव्र विकासको बाटोमा अघि बढिरहेको छ । कोहलपुर अहिले विकसित बनिरहेको छ । टाउन प्लानिङको अत्यन्त व्यवस्थित भएकै कारण ठूलाठूला नीजि घरहरु भरिएका छन् । दुई राजमार्गको जक्सनका रुपमा रहेको कोहलपुर बाहिर बजार विस्तार पनि उस्तै तीव्र छ । कोहलपुरमा व्यवसायिक गतिविधिहरु बढिरहेका छन् । चौडा सडक, आकर्षक घरले कोहलपुर व्यवस्थित आवासीय शहर बन्ने गतिमा अघि बढिरहेको छ । शहर विस्तार हुँदै जाँदा कोहलपुर विस्तारै ऐतिहासिक शहर नेपालगन्जसँग जोडिनै आँटेको छ । नेपालगन्ज उपमहानरपालिका र कोहलपुर नगरपालिका जोडेर महानगरको परिकल्पना गरिएको छ । दुइवटा शहर जोड्न ६ लेनको सडक निर्माण भइसकेको छ ।
कोहलपुरमै रहेको नेपालगन्ज मेडिकल कलेज पश्चिम क्षेत्रको सबैभन्दा ठूलो मेडिकल संस्था हो । कोहलपुर विकासको ट्रान्जिट प्वाइन्ट बन्न सक्छ । कोहलपुरलाई अन्तर्राष्ट्रिय केन्द्र विन्दुका रुपमा विकास गर्नसके कोहलपुरलाई भारत र चीन जोड्ने माध्यमका रुपमा विकसित गराउन सकिने बताएका छन् । ‘कोहलपुरदेखि भारतको दिल्लीसम्म फोर लेनको सडक छ, कुनै पनि सम्भावनाहरु पर्याप्त छन् । हिल्सामा मितेरी पुल निर्माण कार्य सम्पन्न भइसकेको छ । तिब्बत र नेपालको सडक निर्माण कार्य सम्पन्न हुँदा मात्रै कोहलपुर अन्तर्राष्ट्रिय केन्द्र विन्दुको शहरका रुपमा विकास हुने सम्भावना छ । औद्योगिक क्षेत्रको केन्द्र विन्दुका रुपमा रहेको कोहलपुर आर्थिक विकासका लागि प्रसस्त आयाम भएको शहरका रुपमा विकसित हुँदै गइरहेको छ ।
औद्योगिकीकरणको तीव्र विकास भइरहेको कोहलपुरमा मध्य र सुदुरपश्चिमकै पहिलो पटक अपाङ्गमैत्री तथा सबैभन्दा ठुलोे होटल सेन्टर प्लाजा सञ्चालनमा छ । तीन वटा आधुनिक हल, आधुनिक एवं सुविधायुक्त कोठासहित सञ्चालनमा आएको होटल सेन्टर प्लाजासँगै ठूला ठूला उद्योग कारखानाहरु एकपछि अर्को गर्दै थपिने क्रम बढिरहेको छ । मध्य र सुदूरपश्चिमका २३ जिल्लाको ट्रान्जिट प्वाइन्टको रुपमा विकास हुँदै गैरहेको रहेको कोहलपुर आफैमा पर्यटकहरुको वासस्थानको गन्तव्य हो । कोहलपुरलाई पर्यटक रेष्टसिटीको रुपमा विकास गर्न सकिने प्रसस्तै सम्भावनाहरु रहेका छन् । जसले गर्दा होटलका लगानीकर्ताको ध्यान तानिएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएकाृ कोहलपुर शहर पर्यटकीय गन्तव्यको हिसाबले निकै सम्भावना भएको शहरमध्ये पर्छ । प्राकृतिक रुपमा मात्र नभई धार्मिक, सामाजिक, साँस्कृतिक, आर्थिक र पर्यावरणीय सम्पत्तिले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको कोहलपुरमा विभिन्न जातजातिको बसोबासले मिश्रित परम्परालाई सहजै बुझ्न सकिन्छ । दक्षिततर्फको समथर फाँट, उत्तरमा प्राकृतिक मनोरम दृश्य, चुरे महाभारत क्षेत्रको सौन्दर्य, सुन्दर फाँट, नदी, ताल तलैया र ऐतिहासिक एवं धार्मिक मन्दिरहरु, ऐतिहासिक साँस्कृतिक सम्भावनाका कारण सम्भावनायुक्त शहरका रुपमा कोहलपुरलाई लिन सकिन्छ ।
कोहलपुरलाई पर्यटनको ट्रान्जिट बनाउँदै दीर्घकालिन योजना तय गरी सरकारी तथा नीजि क्षेत्र अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । हामी बाँके जिल्लालाई पश्चिम नेपालको केन्द्रविन्दुका रुपमा दावी गर्दै आएका छौँ । हामीले बाँके जिल्ला हुँदै कर्णाली क्षेत्र एवं पश्चिम नेपाल जाने पर्यटकलाई केहीदिन बाँके जिल्लामै होल्ड गर्न सक्ने प्याकेजहरु तयार गर्नुपर्नेछ । सरकारी लगानी, निजी क्षेत्र, समुदायस्तरबाट पर्यटनको क्षेत्रमा उत्साहपूर्ण लगानी भए पनि व्यवस्थित गुरुयोजना तथा आगामी कार्यक्रमको खाका नहँुदा पर्यटनको क्षेत्रमा काम गर्ने निकायहरु नै अन्यौलमा पर्ने गरेका छन् । यसले पनि पर्यटन क्षेत्रले गति लिन सकेको देखिँदैन ।
विभिन्न धर्मावलम्बीहरु भएकाले यहाँका धार्मिक स्थलहरुमा हिन्दु, मुस्लिम, बौद्ध, इसाई, सिख लगायतका धर्मसँग सम्बन्धित निकै पुराना ऐतिहासिक दृष्टिकोणले धार्मिक तथा ऐतिहासिक पर्यटनको सम्भावना निकै राम्रो देखिन्छ । जैविक विविधता, संस्कृति र पर्यटकीय आकर्षणका प्रसस्त सम्भावना बोकेको यो शहर जिल्ला पर्यटकहरुका लागि पश्चिम नेपालको प्रवेशद्वार हो । सम्भावना प्रसस्तै हुँदाहुँदै पनि पर्यटकीय स्थानहरुको ब्यवस्थापनमा केही फितलो भने पक्कै देखिएको छ । जसका कारण पर्यटकीय दृष्टिकोणबाट चर्चामा आउन सकेको छैन । जैविक विविधतायुक्त भौगोलिक बनावट, परम्परागत कला र मौलिक संस्कृति यहाँका पर्यटन विकासका आधारहरु हुन् ।
यसका साथै ऐतिहासिक र पुरातात्विक महत्व बोकेका धार्मिक स्थललाई समेटेर धार्मिक पर्यटनको सम्भावना यस क्षेत्रले बोकेको छ । यहाँ मनमोहक र मन भुलाउने स्थान र आयाम प्रशस्तै छन् । भौगोलिक पर्यटनका हिसावले खासै चर्चित हुन नसके पनि धार्मिक र साँस्कृतिक हिसाबले यो जिल्ला निकै प्रख्यात छ । मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट यहाँ बसाईसराई अत्यधिक हुने गरेका कारण थारु संस्कृतिदेखि हिमाली पहाडी क्षेत्रमा मनाइने सल्यानी, दैलेखी समुदायको टप्पा, मुगाली समुदायको देउडा नाच प्रख्यात छ । त्यस्तै मुस्लिम, शिख, इसाई धर्मावलम्बीहरुको पनि आफ्नै परम्परा र संस्कृतिले बाँके जिल्लामा विविध परम्परा र संस्कृतिको समिश्रण देख्न पाइन्छ ।
थारु संस्कृतिदेखि हिमाली क्षेत्रमा मनाइने ल्होसार एवं शेर्पा समुदायको संस्कृति पनि यहाँ देखिन्छ । पर्यापर्यटन, धार्मिक एवं साँस्कृतिक पर्यटन, कृषि पर्यटनको विकास गर्न सकिने प्रसस्त आयामहरु यहाँ छन् । बाँके राष्ट्रिय निकुञ्ज, ढकेरी बनस्पति उद्यान, गाभर भ्याली पर्यटकीय गन्तव्यका रुपमा रहेका छन् । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सांस्कृतिक सम्पदा, भेषभुषा र सांस्कृतिक रहनसहन आदिले भरपुर यसलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । हामीसँग जेजति पर्यटनको सम्भावना बोकेका स्थलहरु छन्, तिनीहरुका बारेमा हामीले कहिल्यै चासो दिन सकिरहेका छैनौ । हामीसँग ठूला लगानीमा सञ्चालनमा आएका पर्यटकीयस्तरका होटलहरु आफै समस्यामा देखिन्छन् ।
हाम्रा पर्यटकीयस्तरका होटलहरुसँग एकदिन भएपनि पर्यटकलाई होल्ड गराउने कुनै प्याकेज छैनन् । नेपालगन्जमा होटल स्थापनाको इतिहासलाई हेर्ने हो भने पृथु शमशेर राणाले २०३५ सालमा आफ्नो पुख्र्यौली घरलाई होटेलमा रुपान्तरण गरे । त्यो बेला नेपालगन्ज जोड्ने सडक थिएन । पर्यटक नआउँदा स्नेहा होटेलमा सुनसान हुन्थ्यो । तिब्बतको कैलाश मानसरोवर जान हुम्ला रुट खुलेपछि नेपालगन्जमा भारतीय पर्यटक खचाखच हुन थालेका हुन् । पर्यटक बढेपछि ६ कोठाबाट खुलेको स्नेहा होटेल ६० कोठाको भइसकेको छ । स्नेहा होटल अझै विस्तारकै योजनामा छ । हुम्ला रुट मानसरोवर जाने छोटो प्रवेशद्वार हो । बाँकेबाट हुम्लाको सिमिकोट, हिल्सा हुँदै तिब्बतको ताक्लाकोट भएर मानसरोवर पुगिन्छ । मानसरोवर जानेहरू नेपालगन्ज आएर बस्न थाले । पर्यटक बस्न होटेलको अभाव हुन थाल्यो ।
अहिले यहाँ तारे होटेल खोल्ने होडबाजी देखिन्छ । भारतीय तथा तेस्रो मुलुकका पर्यटकका लागि मध्यपश्चिम र सुदूरपश्चिमका पर्यटकीयस्थल रोजाइमा परेका छन् । मुगुको रारा, डोल्पाको शे–फोक्सुन्डो, बर्दियाको राष्ट्रिय निकुञ्जमा बढीजसो विदेशी पर्यटक पुग्ने गर्छन् । सुदूरपश्चिमको खप्तड, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, चाँदनी दोधारा प्रमुख पर्यटकीय स्थलका रूपमा रहेका छन् । यसैगरी, मध्यपश्चिम र सुदूरपश्चिमलाई जोड्ने कर्णाली पुल, बाजुराको बडीमालिका, अपि हिमाल र सैपाल हिमालसमेत पर्यटक रोजाइमा पर्दै आएका छन् । नेपालगन्जको जुंगे महादेव र बागेश्वरी मन्दिर, सुर्खेतको देउतीबज्यै र काक्रेबिहार, दैलेखको ज्वालामुखी, म्याग्दीदेखि सुरु भएर रुकुम र रोल्पामा समाप्त हुने गुरिल्ला पदमार्ग, जुम्लादेखि रारासम्मको पदमार्ग, डाँफेलेकदेखि रारा र गुक्षीलेक हुँदै रारासम्मको पदयात्रासमेत पर्यटक गन्तव्य हुने गरेको छ ।
बाँके पश्चिम नेपालको ट्रान्जिट प्वाइन्ट बने पनि पर्यटनका लागि हव बन्न सकेको छैन । बाँकेमा पर्यटकले सेवासुविधा मागेजति पाउन सकेका छैनन् । पर्यटकलाई पर्याप्त नक्सा उपलब्ध नगराइनु र गाइड कम हुने हुँदा पर्यटकीय क्षेत्रबारे पूर्ण जानकारी लिन सक्ने अवस्था छैन । बाँकेमा पर्यटकका लागि स्थापना भएका होटलले पर्यटकीय नक्सा दिएरै भए पनि यस क्षेत्रका पर्यटनस्थलबारे पर्यटकलाई थप जानकारी दिन सक्नुपर्छ । त्यसैले यहाँ पर्यटकीय सम्भावना बढेको छ । हामीसँग होटल सञ्चालनको होडबाजी मात्रै देखिरहेको छ । पर्यटन विकासका लागि हामीले प्याकेजमा होडबाजी गर्न सकिरहेका छैनौ । हामीले ‘पर्यटकको सत्कार, हाम्रो संस्कार’ भन्ने नारालाई यर्थाथमा परिणत गर्न सकिरहेका छैनौ ।
अतिथि देवो भवः हाम्रो मूल मन्त्र नै हो । पर्यटकको स्वागत र सम्मान तथा घुमफिर वर्षको निर्धारित लक्ष्य हासिल गर्नका लागि यस मन्त्रको सकारात्मक अनुसरण गर्नु पनि उत्तिकै आवश्यक छ । लक्ष्य र नाराहरू जति आकर्षक छन् सोही अनुरूप कार्यान्वयण गर्न आवश्यक छ । नेपालमा आएका पर्यटकलाई पुनः आगमन गराउनका लागि के कस्ता उत्प्रेरणा दिलाउन सकिन्छ र तिनीहरूलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने नै हाम्रो दायित्व हो । तर हामी आफै दायित्वबाट बिमूख भइरहेका छौँ । त्यसैले यस्ता कार्यक्रमहरू बनाई पर्यटन व्यवसाय र यससँग सम्बन्धित सम्पूर्ण पक्षलाई व्यवस्थित तथा मर्यादित बनाइनुपर्छ ।
नेपालमा पर्यटकहरू खासगरी पदयात्रा, धार्मिकस्थल र प्राकृतिक मनोरम दृश्यावलोकन तथा हिमाल आरोहण लगायतका लागि आउने गरेका छन् । नेपाल मनोरञ्जन र प्राकृतिक सौन्दर्यका लागि उत्तम भए पनि व्यवस्थापनको अभावमा लथालिङ पूर्वाधारले गर्दा पर्यटक दिक्क हुनुपरेको छ । त्यसैले ‘पर्यटकको सत्कार हाम्रो संस्कार’ भन्ने नारालाई आत्मसात् गर्दै राष्ट्रियरूपमै स्थानीय क्षेत्रका पर्यटकीय गन्तव्यहरूको संरक्षण तथा प्रवद्र्धन गर्नु आजको आवश्यकता हो । जसले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै आर्थिक विकासमा पनि योगदान पुग्नेछ ।
काशीराम शर्मा - ।