सूचनाको शक्ति - The Power Of Information

        

हुम्लामा अनौठो प्रथा : अविवाहित छोरीको बच्चा माइतीकै जिम्मा

हुम्ला । अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा बाआमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ । कतिपयलाई त यो अनौठो पनि लाग्ला तर अपत्यारिलो भए पनि अझै यस्तो परम्परा हुम्लामा छ ।

जिल्लाको नाम्खा गाउँपालिकाको हिमालपारिको गाउँका रूपमा परिचित लिमीमा यस्तो अनौठो प्रथा अझै कायम छ । यो प्रथालाई ठिमाहा भनिन्छ । ‘विवाह नगरी बसेका बेला गाउँकै एक युवकसँग शारीरिक सम्बन्ध हुँदा छोरी जन्मिइन् । बुवाले एकसरो सबै व्यवस्था गरिदिनुभयो । दुःखजिलो गरेर बसेकी छु,’ लिमी हल्जिकी कार्जाङ्मा तामाङले आफ्नो व्यथा सुनाइन् ।

बुवाले माइतीको जग्गामै बनाएको घरमा बस्नुपर्ने गाउँको सामाजिक मान्यताअनुसार सम्पर्क गरेको केटा मान्छेले बच्चा जन्माउने कामबाहेक अन्य केही पनि सहयोग नगरेको उनको भनाइ छ । त्यसैगरी बुवाले दिएको गरिखाने जमिन, पशुबस्तु, भाँडाबर्तन, लत्ताकपडाका भरमै जीवन धान्दै आएकी ४५ वर्षीया कार्जाङ्मा तामाङसँग पछि अर्की छोरी पनि थपिएकी छन् ।

त्यो कसरी ? प्रश्न उठ्न सक्छ । घरमा श्रीमती भएका अघोषित श्रीमान् त्यसरी एक्लै बसे पनि आउन छोड्दैनन् तर दायित्व भने केही लिँदैनन् । तामाङ भन्छिन्, ‘अर्की छोरी पनि तिनकै हो तर श्रीमान् भने सार्वजनिक रूपमा भन्न पाइँदैन, समाज नै यस्तो छ ।’ धनीका बाआमाका लागि त अविवाहित छोरीको व्यवस्था गर्नु सहजै होला तर गरिब परिवारलाई भने निकै बोझिलो भएको उनको तर्क छ ।

तर, समाजले यसलाई सहर्ष स्वीकार गरेको छ । बुवाको आर्थिक अवस्था कमजोर भएका कारण जेनतेन गरिएको व्यवस्थामै निर्भर रहँदै आएकी तामाङलाई हालसम्म बेलाबखत आउने केटाले केही पनि सहयोग गरेको छैन । जीवन धान्नकै लागि बर्खामा ताक्लाकोट काम गर्न जाने गरेको पनि उनले बताइन् ।

तामाङजस्तै ३५ वर्ष उमेर पुगेकी लिमी जाङ्गकी नोरजिङ तामाङको पनि छोरा जन्मेको छ । बुवा केही हुनेखाने भएका कारण उनको व्यवस्था राम्रै छ । हालसम्म बुवाले व्यवस्था गरेको घरमा बस्दै आएकी नोरजिङका अघोषित श्रीमान् मन लागेका बेला भने आउने गरेका छन् । छोरा र आमालाई केही व्यवस्था गर्नु नपरेका उनँका ती केटा मान्छे आउने, खाने र सुत्नेभन्दा अन्य केही पनि जिम्मेवारी लिँदैनन् ।

सामाजिक मान्यताअनुसार सबै कुरा स्वीकार गर्नुपरेको नोरजिङको भनाइ छ । ‘के गर्नु, पहिले गल्ती भयो, अब सहजरूपमै बस्नुप¥यो,’ उनले भनिन् । समाजले अलि राम्रो दृष्टिले नहेर्दा भने केही खल्लो महसुस हुने नोरजिङको भनाइ छ । बिरामी हुँदा र अरू केही गाह्रोसाह्रो पर्दा भने पीडा खेपेको उनको भनाइ छ । वैधानिक श्रीमान् नहुँदा समस्या धेरै आउने गरेको यस्ता महिलाहरूको अनुभव छ ।

‘म त मेरी छोरीलाई यो प्रथाबाट टाढै राख्छु,’ नोरजिङको भनाइ छ । लिमीका तीन गाउँ तिल, हल्जी र जाङ्गमा यस्तो ठिमाहा प्रथा स्वीकार गरेर तीस जना महिला बसेका लिमा–६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । बहुपति प्रथाकै कारण केटी मान्छे बढी हुँदा धेरै पहिलेबाट यो समस्या उब्जिएकाले समाजले सहजरूपमा स्वीकार मात्र गरेको छैन, केही विभेदपूर्ण सामाजिक नियम पनि बनाएको छ ।

यसरी बसेकी महिला र उनीबाट जन्मेको बच्चालाई समाजमा तेस्रो दर्जामा राखी पुम्ताम्बा भनिने गरिन्छ । बच्चा १८ वर्ष पुगेपछि भने दोस्रो दर्जा टुट्यो भन्ने गरिन्छ । यो मध्यम दर्जा हो । औपचारिक विवाह परम्परालाई टोङ्बा भनिने जानकारी पनि अध्यक्ष पाल्जोरले दिए । कुनै जनसहभागिता गर्दा दर्जाअनुसार श्रमदान गर्नुपर्ने नियम छ ।

जब ठिमाहा प्रथाबाट जन्मिएको बच्चा १८ वर्ष नाघ्छ अनि उसलाई पनि दोस्रो दर्जामा लिने सामाजिक नियम छ । पहिले पहिले त केटा मान्छेले आफूबाट जन्मेको बच्चा र आमालाई केही पनि सहयोग गर्दैनथे । अचेल धेरथोर सहयोग गर्न थालिएकाले केटीलाई पनि अघोषित श्रीमान् छ भन्ने लाग्न थालेको वडाध्यक्षको भनाइ छ ।

आफूले कमाएकोमध्ये केही रकम दिने गरेको अविवाहित महिलासँग जोडिएका पुरुष थुक्दिन लामाले बताए । घरको सम्पत्ति भने केही पनि नदिएको बरु आफू बेलाबेला गएर उतै खाने गरेको उनी निर्धक्क बताउँछन् । चलन यस्तै भएपछि केही गर्न बाध्य नभएको उनको भनाइ छ ।

यसरी जन्मिएको बच्चा र आमाको रेखदेखका लागि लोग्ने मान्छेलाई जिम्मेवार बनाउन नाता कायम र पालनपोषणका लागि अदालतमै जानुपर्ने तर्क जिल्ला सहन्यायाधिवक्ता उदयचन्द अधिकारीको छ । तर यसका लागि कानुनी उपचार लिन कोही पनि नआएको उनले बताए । गाउँघरमा स्थापित मान्यताअनुसार नै चल्दै आएको हुनसक्ने उनले स्पष्ट पारे ।

ठिमाहा प्रथाले झैझगडा पनि निम्त्याउने गरेको सहन्यायाधिवक्ता अधिकारीको भनाइ छ । स्थानीयभन्दा अरू मानिस विरलै आउने लिमी गाउँमा पछिल्लो पुस्ता सबै गाउँबाहिर जान थालेपछि यो प्रथामा केही कमी आएको अध्यक्ष पाल्जोर बताउँछन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ०७:३८