बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघका लागि अब कमाई खाने भाँडो फुत्किएको छ । नेपालगन्ज–१८, कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा बन्ने भनिएको बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनीस्थल नबन्ने पक्कापक्की भएपछि सभागृहकै नामबाट महोत्सव आयोजना गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका लागि कमाई खाने भाँडो फुत्किएको छ ।
बहुउद्देश्यीय सभागृहका नाममा महोत्सव आयोजना गर्दै रकम कुम्ल्याउँदै गरेको वर्तमान नेतृत्वकै कारण सभागृह गुमेको नेपालगन्जका उद्योगी व्यवसायीहरुको भनाई छ । बहुद्देश्यीय सभागृह बनाउने अभियान थालेको ११ वर्षमा पनि नेपालगन्जमा कुनै पूर्वाधार निर्माणको काम हुन सकेको छैन । त्यसो त वर्तमान कार्यसमितिले दुई वटा महोत्सव गरिसक्दा पनि आर्थिक हिसाबकिताब सार्वजनीक गर्न सकिरहेको छैन ।
२०६४ भदौं ४ मा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्यको कार्यकालमा कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा बहुद्देश्यीय सभागृह निर्माण गर्न मन्त्रिपरिषद्को निर्णयबाट १० बिघा क्षेत्रफल जग्गा भोगाधिकारको अधिकार पाएको थियो । पाँच वर्षयता नेपालगन्ज उद्योग वाणिज्य संघले सभागृह निर्माणार्थ सहयोग भन्दै हरेक वर्ष मेला आयोजना गर्दै संकलन भएको रकम हिनामिना गर्दै आएको थियो । तर अहिलेसम्म मेलाको नाममा डेढ करोड रुपैयाँ मात्र बचत भएको छ ।
पूर्वाधार निर्माणका कुनै पनि काम भएका छैनन् । सभागृहका परिकल्पनाकार आचार्य सुरुका दुईवटा मेला अरुकै जग्गामा आयोजना गरिँदा घाटा मात्र सहनुपरेकाले स्थायी रूपमा मेलास्थलको आवश्यकता देखेर जग्गा खोजिएको बताउँछन् । उनले भने, ‘हरेक वर्ष मेला पनि लगाउने र हिमाल, तराई र पहाडका लोपोन्मुख खाद्य वस्तुको प्रदर्शनी गर्ने उद्देश्य पनि सभागृह निर्माणसँग जोडिएको थियो । जग्गा उपलब्ध भयो । सुरुमा दाताको सहयोग खोज्दै मेरो कार्यकाल सकियो । त्यसपछि कुनै काम हुन सकेन ।’
गत फागुन १९ देखि २९ सम्म आयोजना गरिएको महोत्सवको पूर्वसन्ध्यामा अध्यक्ष बैश्यले महोत्सव सकिएलगत्तै मेलाको हिसाब किताब पत्रकार सम्मेलन गरेर सार्वजनिक बाचा गरे पनि तीन महीना बितिसक्दा पनि उनलाई कुनै वास्ता छैन । उनकै कारण सभागृह बन्न नसकेको उद्योगी व्यवसायीको दावी छ । अध्यक्ष बैश्यले भनेका थिए, ‘यो वर्ष कम्तीमा ५० लाख बचत हुने आशा छ । मेलाको हिसाबकिताब पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु । मेलाबाट बचेको रकमबाट सभागृहको पर्खाल लगाउन सुरु गर्छु ।’
उनले पर्खाल त के महोत्सवको आयव्यय सार्वजनीक नगर्दै सभागृह नबन्ने गरी सरकारसँग भएको सम्झौता खारेज भएको छ । हरेक बर्ष नागरिकलाई झुक्याउँदै महोत्सव आयोजना गरिरहेको संघले गत बर्ष पनि सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै प्रादेशिक महोत्सव–२०७५ आयोजना गरेर अध्यक्ष लगायतका केही व्यक्तिले केही व्यक्तिले राम्रै आम्दानी गरेको उद्योग वाणिज्य संघ स्रोतले जनाएको छ । ‘सभागृहका लागि भन्दै महोत्सव आयोजना गरेर मोटो रकम कुम्ल्याएका वर्तमान नेत्ृवका केही व्यक्तिहरुकै कारण सभागृह नबन्ने भएको हो,’ संघ स्रोतले भन्यो ।
संघले सभागृह र प्रदर्शनीस्थल बनाउने योजनालाई ठगीखाने भाँडो बनाएको भन्दै यहाँका व्यवसायीहरुले पटक पटक अन्तुष्टि जनाउँदै आएका छन् । सफल नै नहुने प्रोजेक्ट अघि सारेर त्यसैको नाममा जनताबाट पैसा उठाउँदै वैधानिकरुपमा नेतृत्वले ठगी गरिरहेको व्यवसायीहरुको भनाई छ । नेपालगन्ज–१, धम्बोझी निवासी कृष्णबहादुर खड्काले भने, ‘सभागृह भन्दै रकम उठाउने र हिनामिना गर्दा स्थानीय प्रशासन मुकदर्शक बन्नु हाँस्यास्पद हो । संघको आर्थिक हिनामिनामाथि स्थानीय प्रशासनले तत्काल चासो देखाउनुपर्छ ।’
सधैं महोत्सव आयोजना गर्ने र त्यसको हिसाबकिताब सार्वजनीक नगर्नु ठगी गरेको ठहरिने उनको भनाई छ । ‘आर्थिक अपारदर्शीतामा लिप्त वर्तमान नेतृत्वकै कारण सभागृह गुमेको छ । हालसम्म गरिएका महोत्सवहरुबाट संकलन भएको हिसाबकिताब अब नागरिकले खोज्नुपर्छ,’ खड्काले भने । संघका पूर्वअध्यक्ष दामोदर आचार्यको पालामा सभागृह र प्रदर्शनीस्थल बनाउनका लागि सरकारबाट १० विघा जमिन नेपालगन्ज उद्योग वाणिज्य संघले प्राप्त गरेको थियो ।
सभागृह र प्रदर्शनीस्थलका नाममा मेला लगाउँदै जनताबाट पैसा उठाएर संघले आफूखुसी गर्दा त्यसले भोलि कानुनी झमेला निम्त्याउन सक्ने हुँदाहुँदै पनि संघको वर्तमान नेतृत्वले दुई पटक आयोजना गरेको महोत्सवबाट उठेको रकमको हिसाबकिताब अहिलेसम्म सार्वजनीक गरेको छैन । ‘दुई पटक आयोजना गरिएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन,’ नेपालगन्जका एक व्यवसायीले भने, ‘सभागृह भन्दै हरेक बर्ष मेला लगाउँदै सर्वसाधारणलाई ठग्ने अनि आफू मालामाल बन्ने नेतृत्वसँग अब हिसाब खोज्नुपर्छ ।’
हालसम्म पनि हिसाबकिताब सार्वजनीक गर्न नसक्नुले महोत्सवमा संघको नेतृत्वले नागरिकबाट उठेको रकमको हिनामिना गरेको व्यवसायीहरुको ठहर छ । ‘सहयोगबापत उठाइएको रकम सार्वजनीक सम्पत्ति भएकाले लेखा परिक्षण गरी सार्वजनीक गर्नुपर्छ,’ नेपालगन्ज–१८ का दिपक शाहीले भने, ‘उद्योग वाणिज्य संघ उद्योगी व्यापारीको मात्रै संस्था नभई सामाजिक संस्था पनि भएकाले आफ्नो हिसाबकिताब पारदर्शी गर्नैपर्छ । अहिलेसम्म उठेको रकम कहाँ र कुन अवस्थामा छ त्यसबारे सार्वजनिक गर्नुपर्ने दायित्व संघले बिर्सिनुहुँदैन ।’
शाहीले भने, ‘सभागृहलाई भजाएर अहिले पनि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएकोमा अब सभागृहसमेत फुत्किइसक्यो, नेतृत्वले अहिलेसम्मको हिसाबकिताब देखाउनुपर्छ कि पर्दैन ?’ हरेक मेला महोत्सवबाट पारदर्शी तरिकाले रकम उठेको समेत हिसाबकिताब नराखिने गरेको र मेलामा खानपान, भोजभतेर, काठमाडौं बस्दा विभिन्न रमाइलो लगायतका विवरणमा हिसाब मिलान गर्दै बचेको रकम देखाइने गरेको संघका एक जना पूर्व पदाधिकारीले जानकारी दिए ।
यसअघि लगाइएका मेला, महोत्सवमा संकलित रकम कहाँ, कति र कसरी खर्च भयो र कसरी राखिएको छ भन्नेबारे अहिले पनि रकम प्रदान गर्ने दाताहरूलाई समेत जानकारी छैन । विगतको हरहिरसाब अस्तव्यस्त भएकै बेला सभागृहको सम्झौता पनि रद्द भएको छ । सरकारले यसबर्ष एक अर्ब रुपैयाँ बजेट विनियोजन गरे पनि वाणिज्य संघकै कारण प्रदर्शनीस्थल निर्माण नहुने भएको हो ।
संघले शुरुमा ३० बर्ष र पछि २० बर्षगरि ५० बर्षका लागि जग्गा लिजमा लिएको हो । तर लिजको भाडा नतिरेको भन्दै भौतिक पूर्वाधार मन्त्रालयले लिज सम्झौता खारेज गरेको हो । तीनलाख २५ हजार रुपैयाँ भाडा तिर्न बाँकी रहेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैंशयले गत बर्षसम्म लिजको भाडा तिरेको भन्दै सम्झौता खारेज भएको बारे आफुलाई जानकारी नभएको बताउँदै पन्छिन खोजिरहेका छन् ।
तर व्यवसायीहरुले भने उनकै कारण सम्झौता रद्द भएको भन्दै आक्रोश पोखेका छन् । शहरी विकास मन्त्रालयले बहुउदेश्यीय सभागृह निर्माणका लागि सडक डिभिजन परिसरको जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघसँग भएको ‘लिज’ सम्झौता तोडेको छ । यसको जिम्मेवारी अध्यक्षले लिनुपर्छ,’ कार्यसमितिकै एक पदाधिकारीले भने । तर अध्यक्ष बैश्य भने आफूलाई यस बारेमा जानकारी नभएको भन्दै पन्छिएका छन् ।
संघको मेला शृंखला
संघले करिब २० वर्षको अवधिमा आठ पटक मेला लगाएको छ । संस्करणसम्म आइपुग्दा मेलाबाट हुने बचत अत्यन्तै न्यून छ । ०५७ सालमा अच्यूत प्रसाईको कार्यकालमा मेलाको थालनी भयो तर नाफा कमाउन सकेन । ०६० सालमा सतिश अग्रवालको पालामा आयोजना गरेको दोस्रो मेलामा ५० हजार बचत गर्यो । ०६४ सालमा दामोदर आचार्य नेतृत्वको तेस्रो मेला त घाटामा गयो ।
०६८ सालमा सुनिलकुमार शर्माको कार्यकालमा साढे सात लाख रुपैयाँ नाफा भयो । ‘व्यापार संघले मात्र आयोजना गर्दा घाटा हुने ठानेर काठमाडौंबाट सह–आयोजना ल्याएको थिएँ । १५ लाख रुपैयाँ नाफा भयो । संघको भागमा साढे सात लाख पर्यो’, शर्माले ती दिन सम्झे । ०७० सालमा कृष्णप्रसाद श्रेष्ठले पहिलो पटक सभागृह सहयोगार्थ व्यानरमा मेला आयोजना गरे । उनले दुईपटक मेला आयोजना गरे ।
पहिलो कार्यकालमा ४५ र दोस्रो कार्यकालमा ४८ लाख रुपैयाँ गरी सभागृहका नाममा जम्मा भयो । ‘मैले एक करोड रुपैयाँ जम्मा गरेको छु,’ श्रेष्ठको दाबी छ । संघले दुई पटक महोत्सव आयोजना गरे पनि हालसम्म हिसाबकिताव देखाउन सकेको छैन । ‘संघका अध्यक्ष नन्दलाल वैश्यकै कारण संघ आर्थिक अपारदर्शीतातर्फ धकेलिएको छ । अध्यक्षकै कारण संघ उठ्नै नसक्ने गरी थला परेको छ,’ कार्यसमितिका एक सदस्यले भने ।
सत्यपाटी - ।