बाँके । अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यसक्रममा आफैं लखनउ पुगेका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गन्ज (शहर) नेपालमा पनि बनाउने सपना देखे । विद्रोह असफल पार्न सहयोग गरेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिएको थियो ।
त्यसपछि बाँकेको समथल फाँट छानेर राणाले नेपालगन्ज बनाउने आदेश दिएका थिए । त्यतिबेला आधुनिक सवारी साधन थिएनन् । राणा र राजपरिवारबीच बग्गी प्रचलनमा रहेको नेपालगन्जका जानकारहरुको भनाई छ । दुईपांग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बग्गीको सर्वसाधारण रुप रहेको नेपालगन्जका साहित्यकारसमेत रहेएका पुराना जानकार सनत रेग्मी बताउँछन् ।
उनका अनुसार त्यसलाई एक्का भनिन्थ्यो, पछि समय परिर्वतनसँगै त्यसैलाई टाँगा भन्न थालियो । आधुनिक प्रविधि र सवारीसाधन प्रवेश गर्नुपूर्व नेपालगन्जमा टाँगा नै सर्वसाधारणका लागि अत्यावश्यक सवारीका रुपमा स्थापित भएको थियो । उनले भने, ‘त्यसैले त, नेपालगन्ज टाँगैटाँगाको शहर भनेर चिनिन थालेको हो ।’ उनका अनुसार टाँगा चढ्न नेपालगन्ज आउने पर्यटक धेरै भेटिन्थे ।
करिब दुई सय वर्ष पुरानो नेपालगन्ज शहरको मौलिकताका रुपमा रहेको टाँगामा बसेर यात्रा गर्नुको मज्जै बेग्लै हुन्थ्यो । कुनै बेला शहरको मुख्य सवारी साधन टाँगा थियो । नेपालगन्जदेखि कोहलपुर–चिसापानीसम्म टाँगा चल्थे । खजुरा बजारमा रहेको विमानस्थल पुग्ने एकमात्र साधन टाँगा थियो । नेपालगन्ज घुम्न आउने जोकोहीका लागि टाँगाको यात्रा रोमाञ्चक रहन्थ्यो । धेरैले घोडा चढ्ने रहर टाँगा चढेर पूरा गर्थे ।
सुर्खेत रोड हुँदै नेपालगन्ज–रुपैडिया रुटमा टाँगा चल्दासम्म व्यवसायीको राम्रै आम्दानी थियो । सुरुमा रिक्साले यात्रु खोसे । त्यसपछि मिनी बस र अहिले इलेक्ट्रिक रिक्साले । दुई/चार वटा टाँगा मुस्किलले देख्न पाइन्छ । नेपालगन्जबाट भारतीय सीमा रुपैडिहासम्म किनमेल, घुमघामलगायत काममा जाँदा पहिलो रोजाइको साधन हुन्थ्यो, टाँगा । नेपालगन्जको परिचयसँग जोडिएको यो व्यवसाय पछिल्लो समयमा पलायन भएको छ ।
आधुनिक यातायातका साधनको संख्या बढेसँगै यो व्यवसाय पलायन भएको हो । उतिबेला नेपालगन्जमै करिब ५ सयको हाराहारीमा टाँगा रहेकामा अहिले मुस्किलले दुई/चार वटा मात्रै देखिन्छन् । नेपालगन्जमा टाँगा देख्नै मुस्किल भइसकेको छ । व्यवसाय संकटमा परेपछि अधिकांश टाँगा व्यवसायी मजदुरीका भारत जाने गरेका छन् । हाल टाँगा चलाउने पेशा गर्ने धेरैले घोडा बेचिसकेका छन् ।
‘राजा, महाराजा र मन्त्रीहरू आउँदा पनि टाँगा चढ्ने गरेको इतिहास छ,’ साहित्यकार रेग्मीले स्मरण गर्दै भने, ‘नेपालगन्ज आउनु भनेको टाँगा चढ्नु हो भन्ने चलनजस्तै थियो । समयको मागसँगै मानिसमा आएको विलासिताको लहडले नेपालगन्जमा टाँगा लोप हुदै गएका छन् । मानिसहरु आजभोलि रिक्सा चढ्छन्, गाडीमा हुइँकिन्छन् ।’ यतिवेला नेपालगन्जमा मुस्किलले ५–६ वटा टाँगा मात्र देखिन्छन् ।
अर्का साहित्यकार एवं नेपालगन्जका पुराना बासिन्दा सच्चिदानन्द चौवेका अनुसार रानीबगियाका चुन्नी साहुका कुनैबेला १२ वटासम्म घोडा थिए । त्यसबेला उनी टाँगा चलाउँथे, अरूलाई पनि भाडामा दिन्थे । टाँगाको स्थान रिक्सा, अटोरिक्सा र विभिन्न मोटरगाडीले लियो । टाँगा व्यवसायीहरु विस्तारै विस्थापित भए । उनीहरुले समयको मागलाई मध्यनजर गर्दै आफ्नो पेशासमेत बदलेका छन् । घोडाको कामै छैन ।
‘टाँगा चढेर राप्ती नदीको किनारमा घुम्न र नुहाउन गएको विगत र वर्तमानलाई तुलना गर्दै आफ्नो अनुभव सुनाउनुँदै भने, ‘टाँगा विस्थापनसँगै यहाँका धेरै सुमदायको रोजीरोटी खोसिएको छ ।’ टाँगाहरुको आधुनिकीकरण हुन नसक्नु र संरक्षणको पहल नहुनु नै टाँगा विस्थापितको कारण भएको उनी बताउँछन् । अहिले धेरै मानिसहरू घोडाहश्रको फोटो खिच्नमात्रै आउने गरेको टाँगा चालकहरू बताउँछन् ।
४३ वर्षदेखि नेपालगन्जमा टाँगा हाँक्दै आएका मुन्नाको पनि हालत उस्तै छ । घोडालाई खुवाउने घाँसको धुलो, चनाको पीठो र धानको भुस किन्नेसमेत पैसा नभएपछि मुन्नाले घोडालाई खुला चौरमा चर्न छोडिदिने गरेको बताए । ‘कुनैबेला घोडाका चरण क्षेत्र रहेका स्थान घरहरुले भरिएका छन्,’ मुन्नाले भने । आजभोली नेपालगन्जमा टाँगामा चढ्ने मान्छे नै भेटिन्नन्, दिनभरि दौडायो, साँझ घोडालाई खानेकुरा किन्नेसम्म पैसा हुन्न ।
नेपालगन्जमा रहेका केही टाँगा व्यवसायीहरुको यही नै हो पीडा । पहिले मुस्लिम समुदायमा धेरैजसोले टाँगा चलाउँथे । टाँगा ब्यवसायी मुन्ना भन्छन्, ‘टाँगा हराए, हाम्रो काम पनि सकियो । टाँगा हराएसँगै टाँगावालाको पेशा संकटमा मात्रै परेको छैन हराइसक्यो । टाँगाको शहर नेपालगन्ज अब एकादेशको कथाजस्तै भइसक्यो । टाँगाको शहरको पहिचान गुमेको छ । टाँगा चालकको रोजगारी पनि खोसिएको छ ।’
टाँगा हराउँदा टाँगाका लागि घाँस काट्ने घसियारहरुको समेत पुख्र्यौली पेशासमेत संकटमा परेको छ । टाँगा हराउँदा घँसियारको जीविकामात्र नभई इतिहास पनि संकटमा परेको नेपालगन्ज महेन्द्रपार्कस्थित घास मण्डीका घँसियाराहरु बताउँछन् । कुनैबेला नेपालगन्ज उपमहानगरपालिका सरस्वती उमाविको छेउमा टाँगा स्टेशन थियो । जुन स्थान अझ पनि टाँगा स्टेशनका रुपमा परिचित छ ।
टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो, त्यसैले माग धान्न मुस्किल थियो तर, अहिले घोडा नै नभएपछि उनीहरु पनि बेरोजगार बनेका हुन् । टाँगा चालक तथा टाँगा व्यवसाय गर्दै आएका अधिकासंले हाल ईट्टा भट्टामा ईट्टा, माटो बोक्ने, हार्डवेयर लगायतका सामाग्री ढुवानी गर्ने सक्रिय छन् । ‘यहाँ पनि प्रतिस्पर्धा धेरै भएकाले काम पाउनै मुस्किल छ,’ नेपालगन्ज धम्बोझीमा भेटिएका बग्गी चालक जलाल बेहना बताउँछन् ।
नेपालगन्जदेखि भारतीय सीमावर्ती बजार रुपैडिहाबाट सामान खरिद गरि ल्याउने र आवातजावत गर्ने मुख्य साधनका रुपमा रहेको टाँगा विस्थापित भएसँगै त्यससँग जोडिएका टाँगा चलाउनेहरुले पनि आफ्नो व्यवसाय परिर्वतन गर्नुपर्ने बाध्यता रह्यो । कुनैबेला नेपालगन्जमा टाँगा सञ्चालकहरुको संगठन नै थियो । अहिले न संगठन रह्यो, न टाँगा चालकहरुको पेशा नै ।
विडम्बना आधुनिक सवारी साधनले टाँगा विस्थापन गरेसँगै टाँगा स्टेशन त छ तर त्यहाँ एउटा टाँगा भेट्टाउन पनि निकै मुस्किल पर्छ । टाँगा स्थानीय बासिन्दाको पुख्र्यौली पेशामात्र होइन, नेपालगन्जको ऐतिहासिक पहिचानसँग जोडिएको छ । यो पहिचानलाई जोगाउन नेपालगन्ज उपमहानगरपालिकाले चासो नदिएको टाँगा व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरु भन्छन्, ‘नेपालगन्ज शहरसँग जोडिएको पहिचानलाई जोगाउन कसैले पनि चासो दिएनन् ।’
तीन बर्ष अघिसम्म टाँगा व्यवसायी समितिका अध्यक्ष रहेका सहादल अलीेका अनुसार विगतमा रिक्साका कारण समस्यामा परेको व्यवसाय अटोरिक्सा आएपछि पूर्णरुपमा विस्थापित ‘शाही सवारी र नेपालगन्जको परिचयसँग जोडिएको टाँगा व्यवसाय अब एकादेशको कथाजस्तै भएको छ,’ अलीले भने, ‘स्थानीय रुटमा सुरुमा रिक्सा र पछि ई–रिक्साको प्रयोग हुन थालेपछि टाँगा विस्थापित भए ।’
विस्थापित नै हुने अवस्थामा पुगेपछि टाँगावालहरू आन्दोलन र विरोधमा पनि उत्रिए । तर, उनीहरुको केही लागेन । मुख्य चोक धम्बोझीछेउको बेलासपुरबाट टाँगा स्ट्यान्ड नगर भवन सामुन्ने सारियो । सुर्खेत रोड चार लेनमा विस्तार हुने बेलासम्म स्थानीय प्रशासन र प्रहरीले रुट फेरेर टाँगालाई अस्पताल रोडमा मात्र सीमित गरिदिए । टाँगाबाट जीविका चल्न छाडेपछि केही व्यवसायी भारत छिरेर मजदुरी गरिरहेका छन् ।
केही रैथानेले आफ्ना घोडा र खच्चडलाई इँटाभट्टामा लगाएका छन् । अहिले स्टेसनमा टाँगा नै देखिँदैनन् । अलीले भने, ‘पुराना रिक्सा चलाउनेले ऋण लिएर बिजुली रिक्सा किनेका छन् । हामी भएको घोडा कहाँ बेचौँ भन्ने अवस्थामा पुगेका छौँ ।’ टाँगा व्यवसाय छाडेर अरु काम गरे पनि घोडा र खच्चड पाल्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । ‘टाँगा विस्थापित भए घोडा विक्री भएनन्, घोडालाई दानापानी खुवाउनसमेत समस्या छ,’ उनले भने ।
तीन वर्ष अघिसम्म नेपालगन्जका टाँगा व्यवसायीको दैनिक कमाई रु.दुई हजारदेखि रु.तीन हजारसम्म हुने भए पनि अहिले रु.दुई÷चार सय कमाउनै मुस्किल हुन थालेपछि पेशा छोडेको व्यवसायीहरु बताउँछन् । ‘अहिले बजारमा यात्रु पाउन गाह्रो छ,’ टाँगा चालक जब्बर अलि भन्छन्, ‘दिनभरको कमाईले साँझ–बिहानको छाक टार्न र घोडाको दानापानीमै सकिन्छ ।’ ई–रिक्सा, मिनी बस र निजी सवारी साधनले टाँगा व्यवसाय पलायन गरिदियो ।
सत्यपाटी ।