सूचनाको शक्ति - The Power Of Information

        

सरकारी जागीरको तयारीमा महिला

देवी भण्डारी । दाङ । कुनै समय यस्तो थियो जहाँ छोरी घरधन्दामै सिमित हुन्थे । घरको पर्खालभित्र छोरीहरुको संसार सिमिति हुन्थ्यो । स्कुल र घरबाहिरको काम छोरीहरुका लागि अपवाद हुन्थ्यो । समाजको यही सोंचलाई छोरीहरुले पनि छोरी भएर जन्मनुको भाग्य र जन्मको कर्म नै सम्झन्थे । तर अहिलेको समाज, चिन्तन र शिक्षाको विकाससँगै छोरीहरुमा आएको जागरणले विगतका पुरुषवादी चिन्तन र सोंचलाई चुनौति दिएको छ । पुरुषको परिकल्पनाले निर्माण गरेको समाज र निर्धारण गरेका गलत मान्यताहरु अहिले एकपछि अर्को गर्दै भत्किएका छन् ।

अहिलेको २२ औं शताव्दीको युग, यो युगका छोरीहरु परनिर्भर होइन आत्मनिर्भर बन्नुपर्ने सोंचका साथ अघि बढिसके । राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक लगायत कुनै त्यस्तो क्षेत्र छैन जहाँ छोरीहरु नपुगेको र छोरीहरुले गर्न नसकेको काम होस् । पछिल्लो समय छोरीहरुको आकर्षणको केन्द्र बनेको छ सरकारी सेवा । अहिलेको समयमा छोरीहरु अरु क्षेत्रमा जति निपुण छन् सरकारी प्रतिष्पर्धामा उत्तीकै अब्बल देखिएका छ । देशभरका हजारौं छोरीहरु सरकारी जागीरको तयारीमा छन् ।

त्यस्तै मध्येकी एक हुन् घोराही उपमहानगरपालिका–१५ की सुनिता वली । उनले अहिले नायव सुब्बाको तयारी कक्ष पढिरहेकी छन् । ‘शैक्षिक योग्यताको प्रमाणपत्र मात्र भएर नपुग्ने रहेछ,’ उनले भनिन्, ‘घरवारे पनि बनियो, छोराछोरी पनि हुर्किए । श्रीमान पनि जागीरे अब घरमा दिनभर बस्दा समय खेर फाल्नुभन्दा ढिलै भए पनि सरकारी सेवामा प्रवेश गर्नुपर्छ भन्ने जोस र आँट आएको छ ।’ लोकसेवाले लिने विश्वासिलो परीक्षा प्रणाली मेहनत गर्नेहरुको पहुँचमा हुन्छ भन्ने सोचले तयारीमा जुटेको सुनिता बताउँछिन् ।

वली जस्तै सरकारी जागीरे हुने चाहनाका साथ लागिपरेकी छन् प्युठान माण्डवी गाउन्पालिका घर भइ हाल घोराहीमा बसेर लोकसेवाको तयारी गरिरहेकी देवका कार्की । ‘लोकसेवाकै तयारीका लागी स्नातक तहमा भर्ना गरेको छैन । जति पढे पनि अन्तिममा चाहिने जागीर नै हो । त्यसैले पहिला लोकसेवाको तयारी गर्छु पछि पढाईलाई निरन्तरता दिन्छु,’ उनले भनिन्, ‘पहिलेजस्तो श्रीमानको भर पर्ने जमाना अब छैन । अब आफैले संघर्ष गर्ने हो । एकपटक नभए अर्काे पटक हुन्छ । कोशिष गर्न छोड्दिन ।’

पछिल्लो समय लोकसेवा आयोगले विभिन्न पदका लागि ९ हजार १६१ जनाको कोटा खुलाएको छ । सो संख्यामा आफु पनि पर्ने सोचका साथ लागिपरेकी छन् घोराहीकै शान्ति चौधरी । ‘पहिले नपढेर दिए पढेपछि त पास भइन्छ भन्ने सोच पलायो, अनि पढ्न सुरु गरे,’ चौधरी भन्छिन्, ‘सबै हामीजस्तै साथीहरु हुनुहुन्छ, प्रतिश्पर्धा गरेरै नाम निकाल्छु ।’ कार्की, वली र केसी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता धेरै छोरीहरुका लागि सरकारी जागीर आकर्षण बन्दै गएको छ ।

जागीरको स्थायीत्व र सामाजिक प्रतिष्ठा लगायतका विभिन्न सेवा सुविधाहरु पाउने भएपछि महिलाहरु समय सरकारी जागीरतर्फ आकर्षित भएका हुन् । संविधानले छोराछोरीलाई समान वंषिय अधिकार भनेको छ । जैवीक लिंगको विभेदबाहेक अरु कुनै विभेद गरिनुहुँदैन, काममा पुरुष र महिलाबीच कुनै भेदभाव छैन भनिएको छ । तर पनि बर्षौदेखिको पितृसत्तात्मक सोच र यसले निर्माण गरेको समाज अझै भत्किएको छैन । यसले गर्दा महिलाको जिम्मेवारी जन्मजात जस्तै बनेको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार १२:४५