सूचनाको शक्ति - The Power Of Information

        

बाँकेबाट १२३ जना हजयात्री छनोट (सूचीसहित)

बाँके । साउदी अरबको मक्का मदिनामा हज गर्नका लागि बाँके जिल्लाबाट यसवर्ष मुस्लिम समुदायका १२३ जना छनोटमा परेका छन् । हज यात्रामा मक्का मदिना जान बाँकेबाट १६४ जनाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत केन्द्रीय हज समितिमा आवेदन गरेका थिए ।

कोटा अभावका कारण यसवर्ष १२३ जनाले मात्र हज गर्न मक्का मदिना जान पाउने भएको केन्द्रीय हज समितिका सदस्य मेराज अहमद हलवाई हिमालयले बताए । हज यात्राका लागि यसबर्ष साउदी सरकारले नेपाललाई एक हजार २०० कोटा दिएको थियो । केन्द्रीय सदस्य मेराज अहमदका अनुसार छनोटमा परेका हजयात्रीको अन्तिम सूची आइसकेको छ ।

उनले भने, ‘नाम परेका हजयात्रीहरुले समेत आफ्नो तयारी थालिसक्नुभएको छ ।’ आवेदन दिएकाहरुले आफ्नो नाम परे/नपरेको जिल्ला प्रशासन कार्यालयमा गएर हेर्न सक्ने छन् । बाँकेका हजयात्रीको टोली साउन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयर अरेबियाको जहाजबाट साउदी अरबका लागि प्रस्थान गर्ने केन्द्रीय सदस्य मेराज अहमदले जानकारी दिए ।

बाँकेबाट नाम छनौट भएका हजयात्रीहरुलाई प्रशिक्षणसमेत दिइने जानकारी दिँदै उनले भने, ‘जिल्लाबाट लिस्टमा परेकाहरुको लागि नेपालगन्जमा समेत प्रशिक्षण र मेडिकल गर्ने तयारी थालेका छौं । अबको केही दिनमै समय सार्वजनिक गर्नेछौं ।’ हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मकरुपले बढाउने तयारी भइरहेको जनाएको छ ।

प्रतिहजयात्री करीब रु.दुई लाख ३० हजार खर्च लाग्ने बताइएको छ । यो रकम हजयात्री आफैले ब्यहोर्नुपर्छ । समितिले विगतमा रु.१५ हजारसम्म हरेक हाजीलाई फिर्ता गर्ने गरेको थियो यस बर्ष भने रकम बढेकाले फर्काउन समस्या हुने जनाएको छ । ‘यसबर्ष साउदी रियाल बढेकाले प्रतिहजयात्रीको कुल खर्चमा झण्डै पाँच हजारले वृद्वि भएको छ,’ केन्द्रीय सदस्य मेराज अहमदले भने ।

यसपटक स्थानीय यातायात खर्चवापत साउदी सरकारलाई प्रतिहजयात्री रु.१५ हजार १८० बुझाउनुपर्ने बाध्यता रहेको उनले बताए । साउन २ गतेदेखि १० गतेभित्र हजयात्रीहरु साउदी अरब पुगिसक्ने समितिले जनाएको छ । ‘दैनिक १५० जनाका दरले एयर अरेबियाको जहाजबाट हजयात्रीलाई साउदी अरब लैजाने तयारी भएको छ,’ केन्द्रीय सदस्य मेराज अहमदले भने, ‘साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि स्वदेश फर्काइनेछ ।’

मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान (आस्था, विश्वास), नमाज (प्रार्थना), रोजा (व्रत), जकात (दान) मध्ये हज (तीर्थाटन) समेत एक रहेको मुस्लिम अगुवा बताउँछन् । इस्लाम धर्मावलम्बीको जीवनमा एकपटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्का मदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ । मुस्लिममा हज गर्नु अत्यन्त उत्तम र पुनित कार्य मानिन्छ ।

हज गर्नाले स्वर्ग जानेसरह पुण्यफल प्राप्ति गर्ने र अञ्जानमा भएका गल्तीबाट मुक्ति पाउनाका साथै भेदभावको अन्त्य तथा आमाको गर्भबाट भर्खरै जन्मेका शिशु जस्तै निश्छल र पवित्र हुने धार्मिक विश्वास छ । मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथालो मानिन्छ । हजयात्रीले ३० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नुपर्छ ।

मक्कामा सातपटक परिक्रमा (तवाफ) गर्नुपर्छ जसले एक हज प्राप्त हुन्छ । हजयात्रीले बकरईदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढी जनावरको बलि (कुर्बानी) दिने गर्छन । हज यात्रा गरी आउनेलाई हाजी भन्ने मुस्लिम धर्मको परम्परा रहेको नेपालगन्जका मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए ।

 

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १२:५६