सूचनाको शक्ति - The Power Of Information

        

आज धान दिवस : बाँकेका किसानलाई छाडा पशु लखेट्दै ठिक्क

बाँके । आज असार १५, अर्थात् धान दिवस । धान दिवस रोपाई गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाईको सुरसार छैन । ‘ब्याड त राखेका छौं,’ जानकी गाउँपालिकाका किसान गंगाप्रसाद काँदु भन्छन्, ‘सिँचाइको व्यवस्था छैन त्यसैले पानी नपर्दासम्म रोपाई गर्ने अवस्था रहेन ।’

असार पहिलो साता पानी परेपछि ब्याड राख्न सुरु गरेका किसानले असार १५ सम्म रोपाईको कुनै तयारी गरेका छैनन् । भर्खर धानको ब्याड राखेका किसानहरुलाई छाडा पशुका कारण ब्याड जोगाउन गाह्रो परिरहेको छ । खेतमा भेटिने हुलका हुल पशु चौपाया ब्याडमा चर्न थालेपछि टन्टलापुर घाममा किसानहरु ब्याडको चौकीदारीमा खटिन बाध्य भएका हुन् ।

शनिबार करिब ४० डिग्रीको हाराहारीको तापक्रम र उम्सोको सकस सहँदै जानकी गाउँपालिका खजुराखुर्दकी किसान शाहिनु अन्सारीलाई हातमा लठ्ठी लिएर खेतको छेउमा उभिनुभएको थियो । अन्सारीले भनिन्, ‘एकैछिन छाड्ने हो भने पशुले सबै ब्याड खाइदिन्छन्, दिनभर चर्को घाममा पहरा दिइरहनुपरेको छ ।’

अन्सारीले ब्याड नियाल्दा नियाल्दै पनि छाडा पशु ब्याडमा छिरिहाले । उनले अर्का ब्याड कुर्न बसेका ओम मिश्रलाई भन्दै थिइन्, ‘छिटो दौड ।’ मिश्रले खेलमा पुगुञ्जेल गाइले अलिकति ब्याड चपाइसकेको थियो । मिश्र र अन्सारी मात्रै होइन धेरै किसान ब्याड कुर्न दिनभरी खेतमा पुग्छन् । राती भने गाई गाउँ पस्ने भएकाले ब्याड सुरक्षित रहने अन्सारीले बताए ।

‘विहानैदेखि एकजनाको काम नै पशुचौपया लखेट्ने हुन्छ,’ अन्सारीले भने । ब्याड थोरै ठाउँमा लगाइएकाले निगरानी जसोतसो गरिरहेको किसान बताउँछन् । ‘धान रोपेपछि नकाटुन्जेञ्लसम्म एकछिन खेत छाड्न मिल्दैन,’ परसपुरका अर्जुन कलवार भन्छन्, ‘छाडा पशुको कारण घरको काम छाडेर दिनभर खेतमा चौकीदारी गर्नुपर्ने अवस्था छ ।’

पछिल्ला बर्षदेखि बाँकेमा छाडा पशुको समस्या बढ्दै गएको छ । गाई, गोरु पाल्ने किसानले तिनको उपयोग हुन छोडेपछि खुला छाडिदिने गरेका छन् । त्योभन्दा छाडा पशु बढ्नुको कारण अर्को चाही भारत पनि हो । भारतको उत्तरप्रदेश सरकारले गाई, गोरुको संरक्षण गर्दै गौबधमा रोक लगाएको छ ।

त्यसैले भारतसँग सीमा जोडिएका क्षेत्रमा भारतबाट गाईगोरुका बथान आउँदा यहाँ थामिनसक्नु अवस्था हुन्छ, स्थानीयबासी भन्छन् । ‘सीमा खुला छ पशुलाई रोक्ने कुरा भएन, अहिले संख्या बढ्दै जाँदा सास्ती भएको छ,’ राजेन्द्र आचार्य भन्छन्, ‘छाडा पशुका कारण सहरमा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ, गाउँमा किसानलाई खेती जोगाउन ।’

त्यसो त यस बर्षदेखि सिक्टा सिँचाइले नहरमा पानी छाड्ने भनिएको थियो, त्यो सम्भावना पनि निकै न्यून छ । ‘खोइ कहिले आउने हो नहरमा सिक्टाको पानी’, काँदु भन्छन्, ‘ब्याडमा राखेको धानको बीउ भर्खरै टुसाएको छ । असार अन्तिमतिर मात्रै रोप्नका लागि तयार हुन्छ । बाँकेको मुख्य बाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसानहरु आकासे पानीको भरमा खेती गर्दै आएका छन् ।

‘पानी परेपछि ब्याड राख्न र धान रोप्नका लागि खेत खनजोत गरिरहेका छौं,’ जानकी गाउँपालिका–६ का किसान बद्रुदिन यादवले भने । बाँकेका केही सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । हामीले डिप बोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौं । रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौं,’ सीतापुरका किसान दीपक थापाले भने । ‘अब त किसानलाई फुर्सद नै हुदैन ।’

‘अहिले केन्द्रका कर्मचारीलाई समेत धानको बीउका बारेमा परामर्श दिन भ्याईनभ्याई छ,’ कृषि ज्ञान केन्द्रका प्रमूख एवं बरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले भने । बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य छ । गतबर्ष पनि सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको कृषि प्रसार अधिकृत ढकालले बताए ।

उनका अनुसार गत वर्ष बाँकेमा चार मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ४६ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उनले भने, ‘यसवर्ष पनि सोही अनुपातमा उत्पादन हुनेछ । मौसम प्रतिकुल भए साउन पहिलो सातासम्म सबै खेतमा धान रोपाइँ भइसक्नेछ ।’ उनका अनुसार सिँचाइ सुविधा नभएका स्थानहरुमा राखिएको ब्याड असार अन्तिमसम्म रोप्नका लागि उपयुक्त हुनेछ ।

अघिल्ला बर्षहरुमा राम्रो फलेकै आधारमा पुराना र एकै जातका धान लगातार रोप्न उपयुक्त नहुने किसानहरुलाई सुझाव दिने गरेको बताउँदै कृषि प्रसार अधिकृत ढकालले भने, ‘बाह्य अवरोध तथा रोग प्रतिरोधात्मक क्षमता भएको एवं कृषि अनुसन्धान परिषद (नार्क)ले सिफारिस गरेका नया“ र उन्नत जातको धान लगाउन किसानहरुलाई सुझाव दिएका छौं ।’

उन्नत जातका धानको बीउ रोप्दा धानमा रोग कम लाग्ने तथा वातावरण अुनुकुल नभए पनि उत्पादनमा ह्रास नआउने कृषि ज्ञान केन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समय भएसँगै कृषि अनुसन्धान परिषद् (नार्क)ले नार्कले किसानहरुलाई ब्याड राख्नु पहिले कृषि प्राविधिकसँग सम्पर्क गरेर बीउ उपचार गरेर धानको ब्याड राख्न आग्रह गरेको छ ।

नार्क खजुराका बाली बैज्ञानिक रामदास चौधरीले नयाँ जातको धानको बीउ छनोट गर्न सुझाव दिएका छन् । ‘समयमै पानी परेको र ब्याड राख्नेसमेत समय भएकोले नार्कबाट सिफारिस भएका धानका जातहरु सुख्खा र डुवान सहन सक्ने धान प्रयोग गर्नुस्,’ किसानहरुलाई आग्रह गर्दै उनले भने ।

प्रकाशित मिति : १५ असार २०७६, आइतवार ०७:५३