सूचनाको शक्ति - The Power Of Information

        

एसईईमा ‘बी’ ग्रेडमा उत्तीर्ण भएपछि शान्ताले भनिन्, ‘बारम्बार हेप्नेहरुसँग कुनै गुनासो छैन’

बाँके । सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याइन् । उनकी छोरीले बी प्लस ग्रेड ल्याइन् । छोरीसँगै एसईई दिएकी सांसद चौधरीले एसईईको नतिजा आउँदा मन भारी भएको बताएकी छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तै भावसहितको स्टाटस लेखेकी छन् ।

उनले स्टाटसमा भनेकी छन्, ‘परीक्षाफल प्रकाशित भयो । मन गरुङ्गो भयो । मुटु चिमोटियो र एक्कासी आँखा रसाए किनकी मलाई अँध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षात्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्ने नगर । तेरो पुस्तौँ पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानुपर्नेछ ।’

तर समयको पिञ्जडा तोडेर आफूहरुलाई बाहिर निकाल्न सक्ने बलशाली भएर आएको र शोषणका खुनी नंग्राहरु भाँच्न सकेको तथा दासताको घुम्टो उघार्न र दमनका पर्दाहरु च्यात्न सकेकाले मुक्त भएर निस्कन सक्दा अहिले आफू एसईई उत्र्तीण हुन सकेको उनले उल्लेख गरेकी छन् । बाल्यकालको सपना आफ्ना सन्तान र उनीहरुका उमेरकासँग भए पनि पूरा गर्न पाउँदा खुशी लागेको उनले उल्लेख गरेकी छन् । अध्ययनमा पूरा समय दिन नपाएकाले परिणामसँग पूर्ण सन्तुष्ट भने हुन नसकेको उनले उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘सबै अवस्थाहरु बुझ्दा बुझ्दै पनि मेरो कमलरी हुँदाको विगतलाई सम्झाएर बारम्बार हेप्नेहरु र मेरो अध्ययनको विषयलाई लिएर उपहास गर्नेहरुप्रति पनि कुनै गुनासो छैन किनकी सम्भ्रान्त वर्गको वर्गीय शोषणको चरम रुप देखेको र भोगेको मान्छे हुा म । आँखा उस्तै देखिए पनि, दृश्य उस्तै देखिए पनि दृष्टिकोण फरक फरक हुन्छन् भन्ने राम्रोसँग थाहा छ ।’ उनले अघिको पढाईलाई निरन्तरता दिने पनि उल्लेख गरेकी छन् ।

 

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार ०८:५३