सूचनाको शक्ति - The Power Of Information

        

एसईईमा १६ हजार ८२ लाई ‘ए’ प्लस, १५ दिनभित्र पुनर्याेग गर्न सकिने

काठमाडौँ । २०७५ साल चैतमा सञ्चालन भएको एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५ सय ९६ छात्र र सात हजार २८६ छात्रा छन् । यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

७४ हजार ११० ले बी जीपीए ल्याए । जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् । यसैगरी ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन् । ९७ हजार २९९ ले सी प्लस ल्याए । जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ । सी जीपीए ल्याउने ९५ हजार २०९ जनता छन् । जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् ।

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन् । जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन् । गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए । परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ ।

गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सार्वजनिक भएको हो । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवारेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए

यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो । यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ । साथै रिजल्टस् र सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ ।

 

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार २१:११