सूचनाको शक्ति - The Power Of Information

        

विश्व हल्लाउन सफल एउटा दर्दनाक तस्वीर

एजेन्सी । बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटोले अहिले विश्वभरको ध्यान खिचेको छ । प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ । त्यो फोटो हो अमेरिका प्रवेश गर्न खोज्ने एल साल्भाडोरका बाबुछोरीको । मेक्सिको–अमेरिका सीमास्थित रियो ग्रान्डे नदीमा डुबेको अवस्थामा दुवैको शव भेटिएको हो ।

पत्रकार जुलियाले खिचेको उक्त तस्वीरले सबैको मन छियाछिया बनाएको छ, विश्व आप्रवासी बहसमा नयाँ तरंग पैदा गराइदिएको छ । नदी तर्न खोज्दा बगेर उनीहरुको मृत्यु भएको अनुमान लगाउन सकिन्छ । तस्बिरमा २३ महिनाकी छोरी बुवाको टिर्सटभित्र टाउको छिराएको अवस्थामा अझै आफ्नो पिताको ढाडमै छिन् । उनले एउटा हातले बाबुको घाँटीमा समातेकी छिन् । न्युयोक टाइम्सका अनुसार मृत्यु हुने पिता एल साल्भाडोरमा २५ वर्षे मार्टिनेज र उनकी २३ महिनाकी छोरी भलरिया हुन् ।

तस्विरले आप्रवासीको अमेरिका यात्रा कति दर्दनाक छ भन्ने देखाएको छ । साल्भाडोरको परिवार आमा तानिया भनिसासहित गत हप्ता मेक्सिकोको सीमा नजिकको सहर आइपुगेको थियो । विश्वकै ध्यानाकर्षण गर्ने दुःखद घटनाले एस साल्भाडोरले समेत ठूलो चर्चा पाएको छ । विदेशमन्त्री अलेक्सजेन्ड्रा हिलले आफ्नो ज्यान जोखिममा पारेर अमेरिकाको सपना नदेख्न सार्वजनिक अपिल गरेका छन् ।

‘यतिबेला हाम्रो देश शोकमा डुबेको छ । परिवार तथा अभिभावकलाई म बिन्ती गर्छु आफ्नो ज्यान जोखिममा नपार्नुहोस् । जीवन सबैभन्दा मूल्यवान छ,’ उनले देशबासीलाई सम्बोधन गर्दै भनेका छन् । अमेरिका जाने क्रममा मृत्यु भएका पिता र छोरीको परिवारलाई सरकारले क्षतिपूर्ति दिने राष्ट्रपति बुकिलीले घोषणा गरेका छन् । सन् २०२० मा अमेरिकामा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइँ गरिरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार १८:०३