सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रवेश गर्ने नाकामा सिसी क्यामेरा जडान गर्न अध्ययन गरिँदै

बाँके । राजमार्गसँगै समग्र जिल्लाको सुरक्षालाई ध्यानमा राखेर बाँकेका विभिन्न सीमा नाकामा सिसी क्यामेरा राख्न अध्ययन थालिएको छ । प्रदेश सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले ‘पावरफूल’ सिसी क्यामेरा राख्न अध्ययन सुरु गरेको हो ।

जिल्लाको पश्चिममा गुलरिया सडक खण्डको धनौली, दक्षिण जमुनाहा नाका, उत्तर चिसापानी र पूर्वमा महेन्द्र राजमार्गको कुसुम तथा पश्चिम सम्झना चोकमा उच्च क्षमताका सिसी क्यामेरा जडान गर्न अध्ययन गर्न लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भने, ‘राजमार्ग सुरक्षा अन्तरगत सिसी क्यामेरा जडानका लागि टेण्डर भइसकेको छ । कहाँनिर राख्दा उचित हुन्छ भनेर अध्ययन गरिरहेका छौं ।’

राजमार्गमा सवारी दुर्घटनासँगै अन्य अपराधिक गतिविधि हुन नदिन जिल्ला प्रवेशका मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गर्ने उद्देश्य अनुरुप काम थालिएको प्रवक्ता सापकोटाले जानकारी दिए । ‘कुसुम क्षेत्रको अध्ययन गरेर फर्किएका छौं,’ प्राविधिक टोली लिएर बुधबार विहानै कुसुम पुग्नुभएका प्रवक्ता सापकोटाले भने ।

असार २५ गतेभित्र जिल्लाका सबै सीमा नाकामा सिसी क्यामेरा जडान गरिसक्ने गरी अध्धयन थालिएको उनले बताए । छनौट गरेका पाँच वटा सीमा नाकामा स्थान छनौट गरेर १० वटा ‘पावरफूल’ सिसी क्यामेरा राख्ने गरी काम थालिएको प्रवक्ता सापकोटाले जानकारी दिँदै भने, ‘अपराधिक गतिविधि गर्नेहरुमाथि निगरानी मुख्य उद्देश्य हो ।’

राजमार्गमा दुर्घटना बढेको र दुर्घटना भएपछि दुर्घटना गर्ने गाडीको पहिचान गर्न गाह्रो हुने समस्यासमेत सिसी क्यामेरा राखेपछि हट्ने प्रहरीको अपेक्षा छ । राजमार्गमा हुने दुर्घटना रोक्न प्रदेश सरकारले बजेटमा कमी हुन नदिने भन्दै सामाजिक अपराध र दुर्घटना रोक्ने उपायहरु अवलम्बन गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिँदै आएको थियो ।

सिसी क्यामेरा जडानपछि जिल्ला प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनको सहजै निगरानी गर्न सकिने प्रहरीले विश्वास गरेको छ । जिल्लाका पाँच वटा मुख्य नाका दक्षिणमा भारतसँग जोडिएको सीमा नाका जमुनाहा, उत्तरतर्फ चिसापानी, गुलरिया सडक खण्डको धनौली तथा पूर्व–पश्चिम महेन्द्र राजमार्गको कुसुम र सम्झना चौकबाट जिल्ला प्रवेश गर्ने सवारी साधनको निगरानी हुनेछ ।

बिग्रिए नगरभित्रका सिसी क्यामरा

जिल्लाकै सुरक्षाका लागि विभिन्न पाँच वटा नाकामा सिसी क्यामेरा जडान गर्ने तयारी भइरहेका बेला नेपालगन्जका विभिन्न चोकमा राखिएका सिसी क्यामेरा भने बिग्रिएका छन् । नेपालगन्जका १६ ठाउँमा राखिएका ५६ वटा सिसी क्यामेरामध्ये १२ वटा सिसी क्यामेरा बन्द अवस्थामा रहेका छन् । ती क्यामेरा मर्मत गर्न हालसम्म कसैले चासो देखाएको छैन ।

सिसी क्यामेराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेको सञ्चारफाँटले विभिन्न स्थानमा राखिएका १२ वटा सिसी क्यामेरा बिग्रिएर काम गर्न छोडेको जनाएको छ । चार महिनासम्म गहन छलफल र सहयोग संकलन गरेपछि नेपालगन्जका विभिन्न चोकमा सिसी क्यामेरा राखिएको थियो । गत साउन २१ गते सिसी क्यामेराको उद्घाटन गरिएको थियो ।

हावाहुरीका कारण तारमा असर गर्दा क्यामरा विग्रिएको हुनसक्ने जनाइएको छ । नेपालगन्जमा सिसी क्यामेरा जडान गर्न विभिन्न व्यक्ति, उद्योग, फर्महरुबाट रु.४५ लाख ७६ हजार संकलन गरिएको छ । संकलन भएकोमध्ये ५६ वटा सिसी क्यामेरा जडान गर्दा रु.३३ लाख ९७ हजार २६० खर्च भएको थियो । ५६ वटा क्यामेराको १४ किलोमिटरमा नेटवर्क बनाइएको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार १४:५४