बाँके । बाँकेका आठ वटा स्थानीय तहमा आर्थिक वर्ष २०७६/०७७ को बजेटमा महत्वाकांक्षी योजनासहित पूर्वाधार विकासलाई बढी जोड दिएका छन् । स्थानीय तहहरुले सामाजिक विकास, आर्थिक, स्वास्थ्य, शिक्षा तथा खेलकुद, संस्कृति तथा पर्यटन, सूचना तथा प्रविधि, विपद् व्यवस्थापन लगायतका लागि क्षेत्रलाई बढी महत्व दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्सदेखि हालको नगरभवनमा ‘हाई राईज पार्किङ’ सुविधासहितको बहुतले पार्किङसहितको सपिङ कम्पलेक्स निर्माणलाई प्राथमिकता दिएको छ । नेपालगन्जमा निर्माण भइरहेको अत्याधुनिक बसपार्कलाई एक महिनाभित्र सञ्चालन गर्ने र फुटपाथ तथा फोहोर व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।
कोहलपुर नगरपालिकाले चीनसँगको सहकार्यमा १०० मेघावाटको सोलार विद्युत उत्पादन, योगा तथा ध्यान केन्द्र निर्माण, अटो भिलेज, आधुनिक बधशाला, ल्याण्डफिल साइटको निर्माण र गरिब जनताका फुस एवं खपटाका घरहरु विस्थापित जस्ता कार्यक्रमलाई प्राथामिकता दिएको छ । पशु जन्म दर्ता एवं सुत्केरी पशु भत्ताजस्ता कार्यक्रम पनि कोहलपुर नगरपालिकाले अघि सारेको छ ।
खजुरा गाउँपालिकाले सबै पालिकाभित्रका सडक कालोपत्रे, पालिकाको प्रशासनीक भवन तथा सभागृह निर्माण, चिल्डे«न पार्क, जेष्ठ नागरिकका लागि खुशीयाली घर निर्माण, विपन्न नागरिकका लागि आवास, फुटबल मैदानजस्ता योजना ल्याएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास, कृषि, पर्यटन, उद्योग, सहकारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति, लैंगिक समानता तथा समावेशीकरण जस्ता विषयलाई जोड दिएको छ ।
पूर्वाधार निर्माणमै प्राथमिकता दिएको डुडुवा गाउँपालिकाले शिशु बालिकाका लागि कन्या मुद्दती शिक्षा योजनासँगै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा अध्यापन गराउने कार्यक्रम अघि सारेको छ । त्यस्तै पालिकामा रहेका सरकारी तथा ऐलानी, प्रति तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, सबै वडामा इन्टरनेट सेवा विस्तार, खुला सरकार नागरिक साझेदारीको अवधारणालाई कायर्नन्वयन गर्ने लगायतका योजना ल्याएको गरेको छ ।
राप्तीसोनारी गाउँपालिकाले पनि पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक विकास, सामाजिक विकास, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई पनि उत्तिकै जोड दिएको छ । पूर्वाधार विकासमै जोड दिएको नरैनापुर गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्रको विकासको गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ जस्ता कार्यक्रम ल्याएको छ ।
त्यस्तै जानकी गाउँपालिकाले नागरिकको गुणस्तरीय स्वास्थ्यमा पहुँच, आधारभूत शिक्षालाई थप सुदृढ, वातावरण संरक्षण र विपद् व्यवस्थापनको पूर्वतयारी गर्दै कृषिमा आधुनिकीकरण, सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । पूर्वाधार विकासलाई नै उच्च प्राथमिकतामा राखेको बैजनाथ गाउँपालिकाले ल्याएको बजेटमा शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण जस्ता कार्यक्रम ल्याएको छ भने वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई पनि महत्व दिएको छ ।
स्थानीय तहको बजेट ६ अर्ब बढी
बाँकेका आठ स्थानीय तहले आर्थिक वर्ष २०७६/०७७ का लागि ६ अर्ब बढी बजेट सार्वजनीक गरेका छन् । मंगलबार सार्वजनीक बजेट अनुसार आठ वटै स्थानीय तहको बजेट रु.६ अर्ब १२ करोड २० लाख ८४ हजार रहेको छ । जसअनुसार नेपालगन्ज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढी रु.२ अर्ब २८ करोड १८ लाख ५४ हजार रहेको छ भने सबैभन्दा कम बैजनाथ गाउँपालिकाको रु.३१ करोड ४२ लाख ५९ हजार रहेको छ ।
त्यस्तै कोहलपुर नगरपालिकाले रु.८० करोड ६१ लाख, रु.राप्तीसोनारी गाउँपालिकाले रु.७२ करोड ६ लाख ३२ हजार, खजुराले रु.६६ करोड २६ लाख ६५ हजार, जानकीले रु.५१ करोड ५१ लाख ५१ हजार, नरैनापुरले रु.४३ करोड ३४ लाख १ हजार र डुडुवा गाँउपालिकाले रु.३८ करोड ४० लाख २२ हजारको बजेट सार्वजनीक गरेका छन् ।
संघीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि देशभरका सबै स्थानीय तहलाई मंगलबारसम्मको समय सीमा तोकेको थियो । यसअघि स्थानीय तहहरुले संघ र प्रदेशको बजेटपछि स्थानीय तहको बजेट बनाउनुपर्ने र त्यसको समय सीमा कम भएको भन्दै समयसीमा बढाउन आग्रह गरेका थिए । तर, संघीय सरकारले मङगलबारकै दिन नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देश गरेपछि बाँकेका आठवटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
सत्यपाटी - ।