बाँके । नेपालगन्जको मध्यभाग मानव बस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती बढ्दै गएको छ । कैदीबन्दीको आचरण सुधारका लागि वि.सं.२००० मा स्थापना गरिएको कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् ।
नेपालगन्ज शहर विस्तार हुने क्रमसँगै कारागारको क्षेत्र बाहिर मानव बस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगन्जको ठीक बीच भागमा परेको छ । कारागार मानव बस्तीको बीचमा पर्दैमा जोखिम भइहाल्दैन । कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास बाहिर बस्तीका नागरिकमा पर्ने गरेको छ ।
कैदी कैदीबीच पनि बेलाबखत हुने भैmँझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्न जाने गरेको जेलर भरत पाण्डे बताउँछन् । कैदी बीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्युसमेत भएको थियो । विगतका यी घटना फेरि दोहोरिँदैनन् भनेर किटान गर्न नसकिने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनीकस्तरबाटै उठ्न थालेको छ ।
नेपालगन्ज–१० मा रहेको कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको संख्या पनि बढ्दै गएको छ । कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहोर रहेको जेलर पाण्डेले बताए । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था पनि छैन ।
फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो छ । यस्तै समस्याका कारण कारागारले सुरक्षा चुनौती अझै बढाएको जेलर पाण्डेको भनाई छ । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ ।
मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदीबन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँके जिल्लाको गनापुरमा खुला कारागार निर्माण गर्ने भने पनि उक्त काम पूर्णरुपमा अघि बढ्न सकेको छैन । आठ बिघा क्षेत्रफलमा रहेको खुला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएपनि अन्य संरचना निर्माणमा ढिलाई भएको छ ।
सुरक्षा दिनका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुले सुरक्षा चुनौती बढेको छ । बाँकेको नौबस्तामा क्षेत्रीयस्तरको कारागार र गनापुरमा खुला कारागार निर्माणधिन अवस्थामा छ । ‘तीन हजार क्षमताको कारागार निर्माण सकिएपछि समस्या समाधान हुनेछ,’ जेलर पाण्डेले भने ।
क्षमताभन्दा बढी कैदीबन्दी
बर्षौदेखि क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको नेपालगन्ज कारागारको व्यवस्थापन अझैसम्म पनि हुन सकेको छ । ३०० कैदीबन्दी राख्न सकिने क्षमताको नेपालगन्ज कारागारमा बैशाख मसान्तसम्म ७५५ कैदीबन्दी र दुई आश्रित बालबालिका रहेका थिए । जेलको क्षमता ५० महिला र २५० पुरुषको हो । तर, क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी नेपालगन्ज कारागारमा राखिने गरेका छन् ।
वैशाख मसान्तसम्म ४०५ कैदी र ३५० थुनुवा रहेको नेपालगन्जमा चाप कम गर्नका लगि ३५ जनालाई जेठमा दैलेख कारागार पठाइएको जेलर पाण्डेले जानकारी दिए । ‘थप १२ जना गणतन्त्र दिवसको अवसरमा छुटेका थिए,’ उनले भने । जेठ अन्तिमसम्म पनि कारागारमा ७०८ जना कैदीबन्दी छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको व्यवस्थापन जेल प्रशासनका लागि चुनौति बनेको छ ।
कैदीबन्दी दिन प्रतिदिन थापिदै जाने तर थापिएको अनुपातमा कम संख्यामा कैदीबन्दी छुटेपछि कैदीहरुको संख्या बढ्दै गएको हो । ‘प्रत्येक दिन कैदीबन्दी थपिने र जाने क्रम जारी हुन्छ,’ जेलर पाण्डेले भने, ‘तर छुट्नेभन्दा कैदीबन्दी थपिने क्रम बढ्दो छ ।’ २५० जना पुरुष कैदीबन्दी बस्न सक्ने कारागारमा ६५० बढी पुरुष कैदी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि गर्मीमा कैदीहरुले कष्ट भोग्नुपरेको छ ।
पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भन्सा र शौचालयको छतमा समेत कैन्दीबन्दी सुत्न बाध्य छन् । जेलर पाण्डेले भने, ‘ठाउँ व्यवस्थापन गर्न सक्ने अवस्था छैन, भएकै ठाउँमा मिलाएर राख्नुपर्ने बाध्यता छ ।’ भवन जीर्ण बन्दै जानु र कैदी थपिंदै जानुले कारागार व्यवस्थापनमा चुनौतिसमेत थपिदै गएको छ । बर्षात् सुरु हुँदैछ । आकाश, बरण्डा र छतमा समेत कैदी सुत्ने, बस्ने गर्दछन् ।
‘जेलभित्रै थप पूर्वाधार निर्माणका लागि बजेट र स्थान दुवै उपलब्ध छैन,’ उनी हालकै अवस्थामा कैन्दीबन्दीको व्यवस्थापन गर्नुपर्ने बाध्यता सुनाउँदै भन्छन् । पानी परेपछि ओत लागेर रातीमा जागै बस्नुपर्ने अवस्था आउने गरेको कैदीहरु बताउँछन् । कारागारमा रहेका कैदीबन्दीहरु खानेपानी, विद्युत, सुत्ने र मनोरञ्जनका साधनको कमी रहेको बताउँछन् । ५० जना महिला कैदीबन्दी राख्ने क्षमता अनुसार नै रहेकाले समस्या कम छ ।
लागुऔषध मुद्दाका धेरै
नेपालगन्ज कारागारमा पुर्पक्ष र सजाय काटिरहेका सबैभन्दा बढी संख्या लागुऔषधकै रहेका छन् । गत बैशाख मसान्तसम्मको तथ्यांक अनुसार, कारागारमा लागुऔषध मुद्दाका कुल २७५ जना रहेका छन् । जसमध्ये १३५ कैदी र १४० जना थुनुवा रहेको जेलर पाण्डेले जानकारी दिनुभयो । लागुऔषध मुद्दामा पुरुषतर्फ १२८ जनाले सजाले सजाय काटिरहेका छन् भने पुर्पक्षमा १३२ जना रहेका छन् ।
उक्त मुद्दामा सजाय काटिरहेका ७ महिला छन् भने पुर्पक्षमा ८ जनाले कारागारमा दिन बिताइरहेका छन् । कर्तव्य ज्यानका १०६ कैदी रहेका छन् भने ३९ जना कर्तव्य ज्यानका थुनुवा कैदी रहेका छन् । यस्तै ७१ जना जबरजस्ती करणीका कैदी र रहेका छन् भने ४३ जना जबरजस्ती करणीका थुनुवा कैदी रहेका छन् । यस्तै मानव बेचबिखनका १६ जना कैदी र २३ जना थुनुवा कैदी रहेका छन् ।
थुनामा रहेको ५७ विदेशीमध्ये भारतका ५५ जना छन् । नेपालगन्ज कारागारमा लागुऔषध मुद्दामा २० जना भारतीय नागरिकले सजाय काटिरहेका छन् भने ७ जना मुद्दाका क्रममा थुनुवा जीवन बिताइरहेका छन् । नेपालगन्ज कारागारमा सजाय काट्ने एक जना भारतीय महिला रहेकी छन् । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय काटिरहेको कारागार प्रशासनले जनाएको छ ।
सरुवा हुन अनिच्छुक
क्षमताभन्दा बढी कैदीबन्दी भए पनि उनीहरु अन्यत्र जिल्लाका कारागारमा जान भने रुचि राख्दैनन् । उनीहरु जे–जस्तो समस्या भए पनि अन्य कारागारमा जान अनिच्छुक हुने गरेको जेलर पाण्डेले बताए । ‘त्यसैले गर्दा पनि जेलमा चाप बढ्दै गएको हो,’ उनी भन्छन् । गत जेठमा चाप थेग्न नसकेपछि ३५ कैदीलाई उनीहरुले नचाहँदा नचाहँदै पनि सार्नुपरेको उनले जानकारी दिए ।
नेपालगन्जमा रहेको अधिकांश थुनुवाहरुको यही मुद्दा चलिरहेका कारण पनि कैदीहरु अन्यन्त्र जान नचाहेको हुनसक्ने जेलर पाण्डेको भनाई छ । कैदीहरु पनि अन्यत्र सर्नेभन्दा जेलभित्र थप भवनहरु बनाए सहज हुने बताउँछन् । ‘जेलभित्रै थप भवन बनाउने, मनोरञ्जन र खेलकुदका सामानहरु पर्याप्त हुने हो भने समस्या हुँदैन्थ्यो होला,’ कैदीबन्दीको भनाई छ । आफन्तहरुसँग सहजै भेटघाट हुने भएकाले पनि यहाँबाट सर्न नचाहने गरेको कैदीहरु बताउँछन् ।
सीप सिक्दै कैदीबन्दी
कारागारमा कैदी तथा थुनुवाहरुका लागि सीपमूलक तालिम आयोजना गरिँदै आएको छ । कैद भुक्तान गरेर फर्किदा जीविकोपार्जन गर्न सहज होस् भन्ने उद्देश्यले विभिन्न समयमा सीपमूलक तालिम आयोजना गर्ने गरिएको जेलर पाण्डेले जानकारी दिए । ‘आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा पुरुषका लागि वायरिङ्ग र महिलाका लागि दुई महिने तालिम आयोजना गरिरहेका छौं,’ जेलर पाण्डे भने ।
उनले ३५ पुरुषले वायरिङ्ग र १३ महिलाले ब्यूटिसियन तालिम लिइरहेको जानकारी दिए । जेलभित्रै पनि कैदीबन्दीले समय बिताउन तथा थोरै भएपनि आम्दानीका लागि विभिन्न कामहरु गर्दछन् । कतिपय कैदीहरुले जेलभित्रै खाना पु¥याउने, कपाल काट्ने, मुढा बुन्ने, कपडा धुने, टोपी बुन्ने, भान्सामा काम गरेर आम्दानी गर्ने गरेका छन् । कैदीबन्दीहरुले आपसी सहमतिमै जेलभित्रै उक्त कामहरु गर्ने गरेका हुन् ।
सिसी क्यामेरा थपिँदै
कारागारमा निगरानी बढाउन सिसी क्यामेरा थप गरिँदै छ । हाल कैदीबन्दी भवन र बाहिर सुरक्षाको निगरानीका लागि १० वटा सिसी क्यामेरा रहेका छन् । कारागारमा निगरानी बढाएर थप सुरक्षित बनाउन पाँच वटा सिसी क्यामेरा थप गर्न लागिएको जेलर पाण्डेले बताए । कारागारमा रहेको खानेपानी समस्या समाधानका लागि डिप बोरिङ्गको काम भइरहेको उनले जानकारी दिए ।
सत्यपाटी - ।