सूचनाको शक्ति - The Power Of Information

        

बीरबहादुरको नेतृत्वमा बाँकेको सुरक्षा कमाण्ड

बाँके । बाँकेमा प्रहरीको सुरक्षा कमाण्ड अब प्रहरी उपरीक्षक बीरबहादुर वलीले सम्हाल्ने भएका छन् । हालका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अरुण पौडेलको सशस्त्र प्रहरी गण हेटौडामा सरुवा भएको छ । पौडेलको सरुवा भएसँगै जिल्लाको सुरक्षा कमाण्डको जिम्मेवारी प्रहरी उपरीक्षक वलीको काँधमा आएको हो ।

प्रदेश ५ सशस्त्र प्रहरी गण कोहलपुरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय बाँकेमा आउने भएसँगै आफ्नो जिम्मेवारी क्षेत्रभित्र भएका समस्या समाधानका लागि अघि बढ्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘सीमासँग जोडिएको जिल्ला भएकाले यहाँ धेरै किसिमका जटिलताहरु छन्, थुप्रै जटिलता हुँदाहुँदै पनि यहाँभित्र रहेका समस्याहरूलाई चिर्नु प्रमुख दायित्व हुन्छ ।’

उनले पछिल्लो समयमा मौलाइरहेको गुण्डागर्दी, धम्की, गठी, बलात्कार लगायतका अपराधजन्य विषयहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘पछिल्लो समय समस्याका रूपमा यस्ता विषयहरु देखापरेका छ । यसले भोलीका दिनमा संगठित अपराधलाई बढावा दिने भएकाले सुरुमै यस्ता कुरालाई निष्तेज पर्नुपर्छ,’ उनले सत्यपाटीसँगको कुराकानीमा भने ।

उनले विगतमा भएका घटनाहरुका बारेमा पनि गम्भीर अध्ययन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन आफ्नो निरन्तर प्रयन्त हुने बताए । उनले भने, ‘हामीले कानुन कार्यान्वयन गराउने हो, कसैले कानुन विपरितका कार्यहरु गर्छ भने हामी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सधैं प्रयत्नरत रहन्छौं, यसका लागि सबैको सहयोग र सहकार्य जरुरी छ ।’

उनले शून्य सहनशीलताको सिद्धान्त अनुसार आफ्ना काम कारबाहीलाई अधि बढाउने बताए । पछिल्लो समयमा सामाजिक विकृति निकै बढी देखिएको र यसले सिर्जित अपराध बढ्दै गएको उनको भनाई छ । यसको समाधानका लागि कार्ययोजनासहित प्रभावकारी ढंगबाट अघि बढ्दै न्यूनीकरणमा जोड दिने प्रहरी उपरीक्षक वलीले सत्यपाटीलाई बताए ।

सामाजिक विकृतिअन्तरगत सामाजिक सञ्जालको दुरुपयोग, लागुऔषधको कुलतमा नपर्न युवाहरुलाई आग्रह गर्दै यस बिषयमा जनतचेतना तथा कानुनी कारबाही दुवैलाई सँगसँगै अघि बढाउने प्रहरी उपरीक्षक वलीको योजना छ । ‘सामाजिक अपराधको तथ्यांकलाई न्यूनीकरण गर्नु पनि मेरो एउटा अभियानको रुपमा रहनेछ,’ उनले भने ।

उनले बाँकेमा आर्थिक अपराध पनि ठूलो समस्याको रुपमा देखिएको बताउँदै सत्यपाटीसँग भने, ‘आर्थिक अपराध, जसअन्तरगत एउटा लेनदेनवाला आर्थिक अपराध, अर्को ठगीका घटना । लेनदेनवाला अपराधमा सचेतनामूलक कार्यकमबाहेक अरु उपाय छैन । ठगीका घटनामा सशक्तरुपमा अभियान चलाएर संलग्नलाई कानुनी दायरामा ल्याउँछु ।’

उनले प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई उच्च प्राथमिकता दिएर अघि बढ्ने बताए । ‘हामीकहाँ समस्या सम्बोधन भएन भन्ने कतिपय गुनासा पनि आउने गरेका छन् । त्यस्ता गुनासा नआउने किसिमले सेवाग्राहीमैत्री वातावरण बनाउने छु,’ प्रहरी उपरीक्षक वलीले सत्यपाटीसँग भने । प्रहरी समक्ष गएपछि सेवा सहजै पाइन्छ भन्ने वातावरण निर्माण गर्ने योजना रहेको उनको भनाई छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ०८:४९