सूचनाको शक्ति - The Power Of Information

        

तरकारी र फलफुल बोकेका ४० बढी ट्रक भन्सारमै रोकिए, परिक्षणपछि मात्रै जाँचपास

बाँके । नेपाल भारत सीमा नाकामा ४० वटाभन्दा बढी ट्रकहरुलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ वटा ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ वटाभन्दा बढी ट्रक रोकिएको नेपालगन्जका व्यवसायीहरुले बताएका छन् ।

भारतबाट तरकारी र फलफूल बोकेर नेपाल भित्रिँदै गरेका ट्रकहरु सीमामै रोकिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमूख शान्तिराम निरौलाले जानकारी दिए । उनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र अनुसार भारतबाट नेपाल प्रवेश गर्दै गरेका मालबहाक ट्रकहरु रोकिएको बताए ।

उनले भने, ‘विषादी परिक्षण नगरेका ट्रकहरुलाई नेपाल प्रवेशमा रोक लगाउनु भन्ने परिपत्र आएको छ । परिपत्र आएलगत्तै हामीले ती ट्रकहरुको जाँचपास दिएका छैनौं ।’ उनले विषादी परिक्षणका लागि तरकारी तथा फलफुलको नमुना संकलन गरेर नेपालगन्जस्थित विषादी अन्वेषण द्रुत विश्लेषण इकाई कार्यालय बाँकेमा पठाइएको जानकारी दिए ।

भन्सार प्रमूख निरौलाले भने, ‘विषादी छ छैन भन्नेबारे परिक्षणपछि मात्रै थाहा हुने र सोही आधारमा ट्रकहरुलाई जाँचपास दिन्छौं । विषादीयुक्त पाइएमा ट्रकहरु फिर्ता पठाइदिन्छौं ।’ विगतमा तरकारी र फलफुल बोकेका गाडीहरु रोकटोक नेपाल भित्रिन्थे । उनले भने, ‘विगतमा परिक्षण नभएर भित्रिन्थ्यो, अब परिक्षण गराएर मात्रै जाँचपास दिन्छौं ।’

विषादीयुक्त तरकारी खान बाध्य उपभोक्तहरुका लागि विभागले गरेको निर्णय स्वागतयोग्य रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘सरकारको यो कदम स्वागतयोग्य छ, यसमा निरन्तरता होस् ।’

उनले आम नागिरकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गरेको निर्णयले सधैं निरन्तरता पाउने विश्वास व्यक्त गरे । ‘आज निर्णय गर्ने भोली कार्यान्वयन नहुने अवस्था नहोस् । यस्ता निर्णयले आम नागरिकलाई आत्मनिर्भरताको बाटोतर्फ प्रेरित गर्छन्,’ उनले भने, ‘स्वदेशमै उत्पादन बढाउनुपर्छ भन्ने सन्देश दिन्छ ।’

तरकारी र फलफूल मात्रै परिक्षण नगरी भारत तथा तेस्रो मुलुकबाट आयात हुने सबै प्रकारका खाद्यवस्तु खानयोग्य छन् वा छैनन् भन्ने चेकजाँच र परिक्षण गरेर भित्र्याउनुपर्ने उनको भनाई छ । उनले भने, ‘धेरै खाद्यवस्तुहरु परिक्षणपछि मात्रै थाहा हुन्छ । त्यसैले तरकारी र फलफुल मात्रै नभएर सबै प्रकारका खाद्यवस्तुहरु सरकारले परिक्षण गर्नुपर्छ ।’

यता दुई दिनमात्रै तरकारी र फलफूल बोकेका ट्रकहरु नेपाल नभित्रिएपछि नेपालगन्जमा तरकारीको भाउ बढ्न थालेको छ । माग अनुसार आपूर्ति हुन नसक्दा भाउ बढ्न थालेको हो । दैनिक ८० टन बढी तरकारी विक्री हुने नेपालगन्जको राती तलाउमा धेरैजसो तरकारी भारतबाटै आयात हुन्छ । आयात रोकिएपछि व्यवसायीहरुले भाउ बढाउन थालेका छन् ।

नेपालमा प्रतिबन्धित क्लोरडाइन, डीडीटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, मोनोक्रोटोफस, लिन्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, इन्डोसल्फेन जस्ता विषादी अवैधरुपमा नेपालगन्जमा विक्रीवितरण हुने गरेको र तरकारी खेतीमा प्रयोग हुने अधिकांश विषादी भारत र अन्य मुलुकबाट आयात हुने गर्छन् ।

रोग, कीरा तथा चराचुरुङ्गीबाट तरकारी बालीलाई जोगाउन विषादी प्रयोग गर्नुपर्ने भए पनि कतिपय तरकारी उत्पादकले थोरै समयमा धेरै नाफा कमाउन र उत्पादन वृद्धिका लागि हानिकारक विषादीसमेत प्रयोग गर्ने गरेका छन् । विषादी हालेको कम्तीमा तीन सातापछि तरकारी, फल वा खाद्यान्न उपभोग गर्दा विषादीका कारण मानव स्वास्थ्यमा हुन सक्ने जोखिम कम सकिन्छ ।

भान्टा, परवर, आलु, मुला, काउली, करेला, गोलभेडा, काँक्रो, फर्सी, प्याज, धान, गहुँ, मकै लगायतका खाद्यान्न तथा बेमौसमी तरकारी बालीमा विषादीको प्रयोग धेरै गर्ने गरिएको छ । मानव शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने विषादीहरुको प्रयोग रोक्न विज्ञहरुको सुझाव छ । नेपालमा वर्षेनी १० देखि २० प्रतिशतका दरले विषादीको प्रयोग बढ्दै गएको सरकारी तथ्यांक छ ।

विषादी प्रयोग गरेका बालीनाली कति दिनसम्म टिपेर बिक्रीवितरण र उपभोग गर्ने भन्नेबारे किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यान्न प्रयोगले मानव स्वास्थ्यमा असर गरिरहेको छ । विषादीयुक्त तरकारी र खाद्यन्न प्रयोगले श्वासप्रश्वास, छाला, नशाका साथै स्मरणशक्ति, प्रजनन क्षमतामा असर पर्छ । लामो समयसम्म बिषादीयुक्त तरकारी तथा खाद्यान्न प्रयोगले रगत तथा छालाको क्यान्सर हुने जोखिम उच्च हुने भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतवार १६:२७