सूचनाको शक्ति - The Power Of Information

        

भारतीय पर्यटकले नेपालगन्जका होटल भरिभराउ, फस्टाउँदै पर्यटन व्यवसाय

बाँके । बाँकेको नेपालगन्जमा भारतीय पर्यटकको भीड लागेको छ । नेपालगन्ज, कोहलपुर र आसपासका होटलहरु भारतीय पर्यटकले भरिएका छन् । कैलाश मानसरोवर तीर्थाटनका लागि नेपालगन्जलाई ट्रान्जिट बनाउने भारतीय पर्यटकका कारण यहाँका होटलले बेमौसममा पनि राम्रो कारोबार गरिरहेको होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले बताए ।

मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाख महीनाको मध्यदेखि भदौ महीनासम्म (मे महीनादेखि सेप्टेम्बर महीनासम्म) भए पनि बेमौसममा पर्यटकको रौनक नेपालगन्जमा देखिएको छ । ‘मानसरोवर–कैलाश पर्वत भ्रमणको रुचि धेरै हुँदा यही बेमौसमको ‘टेको’ भारतीयले धानेका छन्,’ वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने, ‘पर्यटकको संख्या बढेसँगै यहाँ होटलसहित अन्य पर्यटन व्यवसाय फस्टाएको छ ।’

मानसरोवरको यात्रामा जाने प्रत्येक भारतीय तीर्थयात्रीले एक लाख रुपैयाँभन्दा बढी रकम नेपालमा नै खर्च गर्ने गरेको वरिष्ठ उपाध्यक्ष काफ्लेले बताए । नेपालको बाटो हुँदै जाने भारतीय तीर्थयात्रीहरुको संख्या बर्सेनि बढ्दै गएको र यसबाट पश्चिम क्षेत्रमा होटल तथा पर्यटनका अन्य क्षेत्रमा रोजगारीको विकास भएको त्यस क्षेत्रका व्यवसायीहरुको भनाई छ । पछिल्लो समय पर्यटकहरुको संख्या बढदै गएपछि स्तरीय होटलहरु पनि थपिंदै गएका छन् ।

हवाई उडानलाई व्यवस्थित गर्दै हुम्लाको हिल्सासम्मको सडकलाई विस्तार गर्न सके अझै धेरै भारतीय तीर्थयात्रीहरू बढ्न सक्ने बताइएको छ । तातोपानी नाका भूकम्पपछि बन्द भएसँगै कैलाश मानसरोवर जाने यात्रीहरु नेपालगन्ज हुँदै हुम्ला भएर जाने गरेका छन् । पाँच महिनासम्म चल्ने मानसरोवर यात्रामा जानेको संख्या बढ्दै गएको छ । मानसरोवर तीर्थाटनका लागि जानेमा धेरै पर्यटक भारतीय रहेको वरिष्ठ उपाध्यक्ष काफ्लेले बताए ।

बाँकेमा दर्जन बढी स्तरीय होटलसँग ३ हजार होटल छन् । जसमध्ये नेपालगन्ज उपमहानगरपालिकामा मात्रै १ हजार ५ सय होटलहरु सञ्चालनमा रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले बताए । मानसरोवरका लागि आउने अधिकांस पर्यटकको बास स्तरीय होटलमा हुने गरेको छ । यद्यपि, स्तरीय होटलको हुने चापका कारण मध्यस्तरका होटलहरुले समेत मानसरोवरका यात्रीहरु पाइरहेको अध्यक्ष कँडेलले सुनाए ।

नेपालगन्जमा होटल सोल्टी वेस्टेन्ड प्रिमियर, सिद्धार्थ भ्यू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट इन कृष्णा, कल्पतरु र कोहलपुरमा सेन्टर प्लाजा लगायत पर्यटक बस्ने स्तरीय होटल हुन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगन्जका प्रायः सबै ठूला र मध्यम होटलहरु भरिभराउ भएका छन् । नेपालगन्ज नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जानका लागि दैनिक सयौंको संख्यामा भारतीय पर्यटकहरु नेपालगन्ज आइपुगेका छन् ।

गतवर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेको होटल व्यवसायीहरुको तथ्यांक छ । यसवर्ष यो संख्या बढेर करीब २५ हजार पुग्ने अनुमान छ । तिब्बती मार्ग नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गइरहेकाले संख््या बढ्दै जान थालेको छ । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका यात्रीहरु नेपालगन्ज भएर मानसरोवर पुग्ने गरेका छन् ।

मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । ‘यस बर्ष आगामी साउनसम्म २५ हजार भारतीय पर्यटक नेपालगन्जलाई ट्रान्जिट बनाएर मानसरोवार पुग्ने अनुमान गरेका छौं,’ कँडेल बताउँछन् । भारतबाट भित्रिने पर्यटकहरु दिल्लीबाट हवाई मार्गबाट काठमाडौं र त्यसपछि नेपालगन्ज आउने गरेका छन् । त्यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगन्ज नाकाबाट समेत हजारौं पर्यटकहरु भित्रिने गरेका छन् ।

होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्यालले मानसरोवरका यात्रुले होटल भरीभराउ रहेको बताउँछन् ‘पर्यटकहरुको उपस्थितिले होटल क्षेत्र उत्साहित छ,’ उनले भने । मानसरोवर चीनमा परेपछि पर्यटकले त्यहाँ नपुगुञ्जेलसम्म नेपालमा खर्च गर्छन् । अधिकाँश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गरेको होटल व्यवसायीहरु बताउँछन् ।

नेपालगन्ज र काठमाडौंबाट मानसरोवर जानका लागि पर्यटकहरुले रु.५ देखि रु.७ लाखसम्म खर्च गर्ने गरेका छन् । विभिन्न ट्राभल एजेन्सीमार्फत आएका पर्यटकलाई नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै जाने गरेका छन् । भारत लगायत तेस्रो मुलुकबाट मानसरोवर जानका लागि आउने पर्यटक कम्तीमा एकरात नेपालगन्जमै बस्नुपर्छ । मानसरोवर जाने पर्यटकले तीन सातासम्मको प्याकेज मिलाउने गरेको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउँछन् ।

नेपालगन्ज विमानस्थल ब्यस्त

तीर्थयात्रीका कारण नेपालगन्ज विमानस्थल व्यस्त बनेको छ । मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई पनि भ्याईनभ्याई छ । तीर्थयात्री ओसार्नकै लागि नेपालगन्ज विमानस्थलमा ताराका २, सीताका २, सिम्रिकका २ र नेपाल वायुसेवा निगमको १ जहाजले दैनिक २० उडान भर्ने गरेका छन् । त्यस्तै सिमकोट विमानस्थलमा सिम्रिक, डाइनास्टी, फिस्टेल, माउन्टेन एयरका हेलिकप्टरले हिल्सासम्मको उडान गर्दै आएका छन् ।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार दैनिक करिब चार सय जनासम्म भारतीय तीर्थयात्री नेपालगन्जबाट सिमकोट पुग्ने गरेका छन् । ‘भारतीय तीर्थयात्रीको चाप बढेको छ । यात्रुको चापका कारण नेपालगन्जमा जहाज थप्ने तयारी गरेका छौं,’ उनले भने । प्रमुख ठाकुरका अनुसार भारतीय पर्यटकका साथै नेपाली यात्रुहरुलाई सकेसम्म सहजरुपमै यात्राको व्यवस्था मिलाइएको छ ।

नेपालगन्ज नागरिक उड्डयन कार्यालय कन्ट्रोल टावरका उपप्रबन्धक विष्णु अधिकारीका अनुसार यहाँबाट दैनिक २०÷२२ उडान भर्ने गरेका छन् । अधिकारीले भने, ‘मौसम तथा आवश्यकता अनुसार उडान हुँदै आएको छ । कति उडान हुन्छन् भन्ने पहिले नै एकीन हुँदैन । एउटा उडानमा १५ देखि १७ जना यात्रुलाई यात्रा गराइन्छ ।’ वैशाख र जेठ उपयुक्त महीना भए पनि भारतीय लोकसभाको चुनावका कारण यस बर्ष भारतीय पर्यटकहरु ढिलो गरी मानसरोवर यात्रामा आएका छन् ।

समुद्री सतहबाट झन्डै ६ हजार ५ सय मिटरको उचाइमा रहेको मानसरोवर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । पछिल्लो समयमा नेपालीहरू पनि मानसरोवर यात्रामा जान थालेका छन् । भारतबाट भित्रिने पर्यटक दिल्लीबाट हवाई मार्गबाट काठमाडौं र त्यसपछि नेपालगन्ज आउने गरेका छन् । यसबाहेक सडक यातायातको प्रयोग गरी नेपालगन्ज नाकाबाट समेत हजारौं पर्यटक भित्रिने गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार ११:१७