खगेन्द्र दाहाल । बाँके । स्थानीय निर्वाचनका बेला खजुरा गाउँपालिकामा उम्मेद्वारहरुले पालिकालाई देशकै नमुना बनाउने भनेका थिए । उ बेला निर्वाचनको माहोलमा यस्तो भनेका होलान् भनेर धेरैले विश्वास गरेनन् । गाउँपालिकामा जनप्रतिनिधिहरुले गरेको काम र प्रगति हेर्दा साँच्चै केही प्रगति हुदैछ भन्ने भान थुप्रैलाई हुन्छ । गाउँपालिका क्षेत्रमा पक्की अर्थात पिच, ग्रावेल सडक धमाधम बनिरहेका छन् । विद्यालयहरुको सुधारको लागि पहल भैरहेको छ । स्वास्थ सस्थाहरुको स्तरोन्ती हुने क्रममा छन् ।
किसानहरु व्यवसायिक बनिरहेका छन् । उद्योग खुल्नेक्रम बढ्दै छन । योसँगै स्थानीयले सहज रुपमा सेवा पाउन सकेका छन् । बाँकेमा रहेका अन्य नगर तथा गाउँपालिका भन्दा खजुरालाई नमुना रुपमा बनाउन विभिन्न करसत पनि भैरहेका छन् । पछिल्ला दिनमा खजुरालाई ग्रिन सिटीका रुपमा विकास गर्न पहल थालिएको छ । पालिकाका ८ वटै वडा समेटिने गरी ग्रिन सिटी त्यसमा पनि कृषिको विकासलाई महत्वपूर्ण पाटोका रुपमा लिइएको छ । यो बेला खजुरेली जनताले ग्रिन सिटीको सपना देख्न थालिसकेका छन् ।
गाउँका चोकचोकमा ग्रिन सिटी कस्तो बन्छ भन्ने चर्चा चल्न सुरु भैसकेको छ । करिव एक वर्षअघि गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति साउस साउथ कर्पोरेसनले दुवैमा गरेको ग्रिन इकोनोमिक समिट सम्मेलनमा भाग लिन गएका थिए । नेपालको ७५३ स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको तर्फबाट अध्यक्ष कक्षपतिले र बर्दघाट नगरपालिकाका मेयर धिरज बस्यालले प्रतिनिधित्व गरेका थिए । उक्त सम्मेलनमा अध्यक्ष कक्षपतिले खजुरालाई कसरी ग्रिन सिटी बनाउन सकिन्छ भन्ने अवधारणा प्रस्तुत गरेका थिए ।
कक्षपतिले प्रस्तुत गरेको प्रतावनालाई साउस साउथ कर्पोरेसनले चासोका रुपमा लिँदै फेब्रुअरी २३ मा पत्र कर्पोरेसनका तर्फबाट मिस्टर एलेक्समुले पठाएका थिए । उक्त पत्रमा खजुरा गाउँपालिकामा कसरी ग्रिन सिटीका रुपमा विकास गर्न सकिन्छ भनेर कागजपत्रसहित माग गर्यो । गाउँपालिकाले पनि खजुराको पहिलेको अवस्था र अहिलेको अवस्थासहित आगामी योजना सहितको अनुमानित प्रतावनाका रुपमा पठाएको थियो ।
खजुरा गाउँपालिकाले पठाएको प्रतावनाको अध्ययन पनि पुनः कर्पोरेसनका एलेक्सले मार्च १८ तारेखमा पत्र पठाएका छन् । पत्रमा काम गरीने परियोजनाको स्थानिय लोकेशन, परियोजना स्थापना गर्ने मान्छे, कुल लागत बजेट, यसमा नेपाल सरकारको नीति के छ, यसको प्रतिफल, मौसम सम्बन्धी जानकारी, नेपाल सरकारले के सहयोग गर्न सक्छ लगायतका जवाफ मागिएको थियो । जसमा गाउँपालिकाले जियोलोजिकल सव्र्रेको काम सकिसकेको जनाएको छ ।
कागजपत्र माग गरे बमोजिम गाउँपालिकाले रिर्पोट कर्पोरेसनलाई बुझाएलगतै कर्पोरेसनका प्रतिनिधि एलेक्स मुलेले गाउँपालिकाका अध्यक्षलाई फोनमार्फत खजुरा गाउँपालिकामा आफुहरु एकपटक आएर हेर्ने र त्यसपछि मात्र परियोजना सञ्चालन गर्ने नगर्नेबारे निर्णय गर्न सकिने भनेपछि करिव १० दिनअघि साउस साउथ कर्पोरेसनका डाइरेक्टर एलेक्स मुसहितको प्राविधिक टोलीले चार दिनसम्म खजुराको अनुगमन गरिसकेको छ । उनीहरुले पहिलो दिन खजुरा गाउँपालिकाको भौगोलिक अवस्था, आर्थिक अवस्था, सम्भावना, समस्या, परियोजनाको डिपिआर लगायतको जानकारी लिएका थिए ।
त्यसपछि सबै जनप्रनितिधिसँग वडामै पुगेर भेटघाट गरेका छन् । गाउँपालिका भित्रका किसानको घरदैलोमा पुगेर भेट्दै छलफल गरेका छन् । विभिन्न धर्मगुरुहरुसँंग चर्चा गरेको पाहुना टोलीले खजुराका सानादेखि ठुला व्यापारीसम्मलाई भेटेर ग्रिन सिटीको बारेमा छलफल गरेको थियो । किसानको घरदैलोमा पुगेका उनीहरु खजुराको कृषिलाई आधुनिकीकरण गरि बैज्ञानिक तरिकाबाट गर्ने इच्छा व्यक्त गरेका थिए । खजुराको अवलोकन गरेर विदेशि टोली फर्किसकेपछि अहिले खजुरामा ग्रिन सिटिकै चर्चा हुन थालेको छ ।
ग्रिन सिटीमा ग्रिन एग्रीकल्चर पनि सँगसगै लगिने भएकाले पनि यो परियोजना लागु भए खजुराबासीको आर्थिक अवस्था बलियो बन्ने आशा गरिएको छ । परियोजना ल्याउन समस्या नभएको तर परियोजनालाई दिर्घकालिनरुपमा कसरी सञ्चालन गर्ने विषयमा भने साउस साउथ कर्पोरेसन टिमको चिन्ता थियो । ग्रिन सिटिको डिजाएन तयार हुने क्रममै रहेको गाउँपालिका अध्यक्ष कक्षपति बताउछन । कर्पोरेसन टिमले ग्रिन सिटि निर्माणको लागी अत्यन्तै सकारात्मक सङकेत दिएकाले अब खजुरालाई ग्रिन सिटी बनाएर विकास गर्ने अध्यक्ष कक्षपतिले बताए । खजुराको वडा नं. १, २, ३ र ४ इजरायली मोडलमा बनेको बस्ती हो ।
वडा नं. ५, ६, ७ र ८ मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता भएको बस्ती हो । यसलाई ग्रिन एग्रीकल्चरको रुपमा विकास गर्न खोजिएको छ भने वडा नं. १, २, ३ र ४ लाई ग्रिन सिटीका रुपमा विकास गर्न खोजिएको छ । उक्त परियोजना लागु भए देशकै नमुना र सुविधा सम्पन्न गाउँपालिका बन्नेमा जनप्रतिनिधिहरुले विश्वास लिएका छन् । कक्षपतिले परियोजना पर्न सकेन भने पनि खजुरालाई ग्रिन सिटीको रुपमा गाउँपालिकालाई अघि बढाउने योजनामा रहेको बताए । ग्रिन सिटी निर्माणका क्रममा खजुरामा लाखौं बोटविरुवा रोपिने छन् । हरेक घरमा रुखविरुवा, फलफुलका विरुवा, तरकारी बारी हुनैपर्ने गरी योजना बनाइने छ ।
खगेन्द्र दाहाल - ।