सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा १० प्रतिशत विद्युत चुहावट, अझै सात मेघावाट विद्युत अभाव

बाँके । बाँकेको नेपालगन्जमा गतवर्ष १९ प्रतिशत विद्युत चुहावट थियो । अहिले पनि १० दशमलव ५ प्रतिशत विद्युत चुहावट भएको प्राधिकरणको आँकलन छ । यद्यपी चुहावटबाट बार्षिक कति घाटा भइरहेको छ यसको एकीन विवरण नेपालगन्ज शाखासँग नभएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादव बताउँछन् ।

विवरण तयार गर्ने काममा शाखा प्रमुखले समेत कुनै चासो नदेखाएको कर्मचारी बताउँछन् । चुहावट नियन्त्रण तथा कार्वाही प्रक्रियालाई नियमितरुपमा सञ्चालन गरेका कारण यो सफलता हाँसिल भएको केन्द्रका प्रमुख यादवको भनाई छ । चुहावट नियन्त्रणसँगै ठूलो मात्रामा विद्युत युनिट रिकभर भएको छ । जसका कारण गतवर्षको तुलनामा नेपालगन्जमा यो वर्ष लोडसेडिङ गर्न नपरेको यादवको दावी छ ।

तर, बत्ती प्रतिदिन दुई घण्टा गइरहेकै छ । गतवर्ष यतिबेला दैनिक चार घण्टा लोडसेडिङ्ग हुँदै आएकोमा यो वर्ष दुईवटा फिडरमा मात्रै लोडसेडिङ हुने गरेको छ । विद्युत क्षमता गतवर्षकै अनुपातमा रहे पनि ग्राहक भने १२ प्रतिशत बढी बढेको प्राधिकरणले बताएको छ । नेपालगन्जमा गर्मीयाममा २४ मेघावाट विद्युत आवश्यक हुने गरेको यादव बताउँछन् ।

नेपालगन्जमा अहिले भारतबाट १२ मेघावाट र व्यस्त समय पिकआवरमा नेपालबाट पाँच मेघावाट विद्युत प्राप्त भइरहेको कार्यालय प्रमुख यादवले बताए । ‘जति गर्मी बढ्दै जान्छ त्यति भारतले कम विद्युत पठाउने गरेको छ । मुलुकका अन्यत्र सहर लोडसेडिङ्ग हटेको कारण नेपालगन्जमा पनि लोडसेडिङ हुन नदिन प्रयत्न भइरहेको छ,’ यादवले भने ।

अहिले भारत र नेपालको गरी १७ मेघावाट विद्युत नेपालगन्जमा खपत भइरहेको छ । नेपालगन्जमा अझै ७ मेघावाट विद्युत अभाव छ । ट्रान्सफर्मरको क्षमता वृद्धि विद्युत वितरणको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमतासमेत बढाएको छ । बसपार्कस्थित क्षेत्रीय कार्यालयमा रहेको साढे सात एमभीए क्षमताको ट्रान्सफर्मरलाई १५ एमभीए बनाइएको छ ।

त्यस्तै नेपालगन्ज कार्यालय परिसरमा रहेको तीन एमभीए क्षमताको ट्रान्सफर्मरलाई आड एमभीए बनाइएको छ भने कोहलपुरमा रहेको १५ एमभीएको ट्रान्सफर्मरलाई पनि बढाएर ३० एमभीए बनाइएको छ । ट्रान्सफर्मरको क्षमता वृद्धिपश्चात विद्युत वितरण प्रक्रियामा कुनै समस्या नभएको प्रमुख यादवको भनाई छ । विगतमा विद्युत लोड बढि हुँदा ट्रान्सफर्मरले नधान्ने समस्या रहेको थियो ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले चालु आर्थिक वर्षमा चुहावट नियन्त्रणसँगै वक्यौता बाँकी रहेका ग्राहकको लाइन काट्ने र वक्यौता असुल उपर गर्ने कार्यलाई समेत प्राथमिकता दिएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयको आँकडाअनुसार जडित क्षमताका आधारमा प्रणालीमा अहिले स्वदेशका निजी क्षेत्रले उत्पादन गरिरहेको २०१ मेगावाट बराबरको बिजुली चुहावट भएको छ ।

विद्युत चुहावट नियन्त्रणलाई उत्पादनभन्दा बढी महत्व दिनुपर्ने प्राधिकरणले जनाएको छ । चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा चलाउन सक्ने व्यवस्था भए नियन्त्रण हुन सक्ने प्राधिकरणको दावी छ । चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ । प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नु रहेको औंल्याइएको छ ।

प्राधिकरणले जिल्लाका ठाउँमा ट्रान्सफर्मर मर्मत, नयाँ जडान, तार, मिटर तथा सबस्टेसन मर्मत तथा स्तरोन्नतीले प्राविधिक चुहावटसमेत नियन्त्रण हुँदै गएको दावी गरेको छ । सामुदायिक विद्युत उपभोक्ताले विद्युत वितरण गरिरहेका ठाउँमा चुहावटको दर बढी रहेकोले त्यसलाई नियन्त्रण गर्न लागिपरेको नेपालगन्ज वितरण केन्द्रका प्रमूख यादवले बताए । विद्युत चुहावट वितरण लाइनबाट बढी रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत चुहावट चरमरुपमा भइरहेको विद्युत चोरी नियन्त्रण गर्न चुहावट हुने स्थानहरुमा छड्के जाँच, मासिक रिडिङ्ग, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर र वितरण लाइनको सुदृढीकरण लगायतका कार्य गरेपछि विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको यादवको भनाई छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०७:२१