सूचनाको शक्ति - The Power Of Information

        

अख्तियारमा उजुरीका चाङ्ग, स्थानीय तहका ११६ वटा उजुरी दर्ता

बाँके । संघीयतापछि स्थानीय तहबाट भएका कामका सम्बन्धमा अख्तियारमा उजुरीको चाङ्ग नै लागेको छ । तीन वटा जिल्ला हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा मात्रै चालु आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय तहका ११६ वटा उजुरी दर्ता भएका छन् ।

चालु आवमा मात्रै अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा दाङ्ग, बाँके र बर्दियाका ३३८ वटा उजुरी परेका छन् । संघीय व्यवस्थापछि स्थानीय तहमा विभिन्न कार्यालय गाभिए । विकास निर्माणसँगै स्वास्थ्य, शिक्षाको जिम्मेवारी पनि स्थानीय तहमा छ । बजेटको उपलब्धता सँगै स्थानीय तहबाट भएका कामहरुमा उजुरी पर्ने क्रम पनि बढेको हो । अख्तियारमा बाँकेमा मात्रै ७० वटा उजुरी छन् ।

बर्दियाका २० र दाङ्गका २६ वटा उजुरी चालु आवमा दर्ता भएका छन् । बाँकेमा सबैभन्दा बढी खजुरागाउँपालिकाको काम कारवाहीमा २१ वटा उजुरी परेको छन् । नेपालगन्ज उपमहानगरपालिकाको १६, कोहलपुर नगरपालिकाका ९, बजैनाथ गाउँपालिकाको ३, जानकी गाउँपालिकाको २, राप्तीसोनारी गाउँपालिकाको ७, नरैनापुर गाउँपालिकाको ५, डुडुवा गाउँपालिकाको ३ उजुरी परेका छन् ।

दाङ्गमा तुलसी उपमहानगरपालिकाको ८, घोराही उपमहानगरपालिकाको ३, लमही नगरपालिकाको ५, बंगलाचुली गाउँपालिकाको १, राजपुर गाउँपालिकाको ३, राप्ती गाउँपालिकोको १, शान्ति नगर गाउँपालिकाको ४, बबई गाउँपालिकाको ३ वटा उजुरी अख्तियारमा परेको सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बर्दियाको गुलरिया नगरपालिकाको ७, मधुवन, बारबर्दिया र राजापुरको १/१, ठाकुरबाबा गाउँपालिकाको ३, बढैयाताल र गेरुवा गाउँपालिकाको २ वटा उजुरी अख्तियारमा परेका छन् । ‘प्राप्त उजुरीहरुमा आवश्यक कारवाहीहरु गरिरहेका छौं,’ अख्तियारका सूचना अधिकारी पौडेलले भने । तीन जिल्लाको जिम्मेवारी पाएको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी हेर्ने प्रमुखसहित तीन जना कर्मचारी मात्रै छन् ।

बाँकेमा स्थानीय तहबाहेक अन्य कार्यालयका १२२ उजुरी दर्ता भएका छन् । बाँकेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धित कार्यालयका २७ उजुरी अख्तियारमा छ भने बर्दियामा १९ र दाङ्गको १२ वटा उजुरी परेका छन् । तीन जिल्लामा वन तथा वातावरण मन्त्रालय अन्तरगतका कार्यालयहरुका ४३ उजुरी रहेको सूचना अधिकारी पौडेल बताउँछन् । जसमा बाँकेमा २१, बर्दिया र दाङ्गमा ११/११ वटा उजुरी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मातहतका कार्यालयहरुको उजुरी बाँकेका १८, बर्दियाको ८ र दाङ्गको ४ वटा रहेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत रहेका कार्यालयहरुको बाँकेमा १० वटा र दाङ्गको उजुरी १ वटा अख्तियारमा रहेको छ । अख्तियारले प्राप्त उजुरीहरु अनुसन्धानका लागि कागजात मगाउने, सोधपुछ गर्ने, निर्देशन दिने र थप कारवाही आवश्यक परे केन्द्रमा लेखी पठाउने गरेको छ ।

भ्रष्टाचार भएको गुनासोपछि अख्तियारले स्टिङ्ग अप्रेशनमार्फत पनि भ्रष्ट कर्मचारीलाई ट्रयापमा पार्ने गरेको छ । चालु आवमा अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले १२ वटा स्टिङ्ग अप्रेशन गरेको सूचना अधिकारी पौडेल बताउँछन् । अख्तियारले ७ वटा बाँकेमा, ३ वटा बर्दियामा र दाङ्गमा २ वटा स्टिङ्ग अपरेशन गरेको हो । ‘नागरिकबाट भ्रष्टाचारको गुनासो आइरहने कार्यालयमा हाम्रो टिमले निगरानी गरिरहेको हुन्छ,’ पौडेलले भने ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०७:१०