सूचनाको शक्ति - The Power Of Information

        

हापुरेमा ‘पानी आउँला र भरौला’को बाध्यता हट्यो

देवी भण्डारी । हापुरे (दाङ) । महिनौंसम्म घरको धारामा पानी आएन । मानव स्वास्थ्यका लागि चाहिने अत्यावश्यक पानी नै आउन छोडेपछि गणेशकुमारी केसीलाई पानी नै खान पाइँदैन कि भन्ने चिन्ताले पिरोलिरहन्थ्यो । उनलाई लाग्थ्यो, ‘अब खानेपानीको समस्या सँधैं यस्तै रहन्छ ।’

बबई गाउपालिका–५ हापुरे निवासी केसीलाई पानी कति बेला आउँछ भन्दै सधैं धारा खोल्दै कुरैर बस्नुपर्ने बाध्यता थियो । पानी कतिबेला आउँला र गाग्रीमा भरौला भन्ने हुन्थ्यो । तर आजभोली उनले सोचेभन्दा भिन्न भएको छ । उनलाई साँझ विहान मात्रै होइन दिउँसो पनि पानी भर्नकै लागि कुरेर बसिरहनुपर्ने बाध्यता छैन ।

केसी भन्छिन्, ‘साँझ विहान पानी आउँछ । पहिलेजस्तो एक गाग्री पानी भर्नकै लागि कुरेर बस्नुपर्दैन । हामीलाई मात्रै होइन पशु चौपायाका लागि पनि निकै सहज भएको छ ।’ उनले भनेजस्तै हापुरेमा खानेपानीको समस्या हटेको छ । पानी आएन भन्ने गुनासा आउन छाडेका छन् । पहिलेजस्तो पानीको समस्या छैन ।

स्थानीय भुपलाल बुढाक्षेत्री भन्छन्, ‘पहिलेजस्तो पानीको समस्या र्छैन । अझ खडेरीको मौसममा पानीकै लागि गाउँलेहरुलाई समस्या छैन ।’ उनले आगामी दिनमा यो समस्या दोहोरिन नदिन उपभोक्ता समितिले दिर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने सल्लाह दिए । ‘पानीको समस्या समाधान भयो, अब सफा, स्वच्छ पानी कसरी प्रयोग गर्न सकिन्छ भनेर उपभोक्ता समितिले पहल चाल्नुपर्छ,’ क्षेत्रीले भने ।

बबई गाउपालिकाको हापुरेमा सवा ३ लाख लिटरको नयाँ पानी ट्यांकी सञ्चालनमा आएसँगै पानीको समस्या समाधान भएको हापुरे पुरन्धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष तिलाराम भण्डारीको भनाई छ । गर्मीयामको समयमा मुहान सुक्ने, पानी सञ्चित गर्ने ट्यांकी सानो रहेको, र नीजि धारा धेरै हुँदा पानी अपुग हुने गरे पनि नयाँ ट्यांक निर्माण भएसँगै समस्या हटेको छ ।

‘अहिले नयाँ ट्यांकीबाट पानी वितरण सुरु गरिएको छ । अब खानेपानीको समस्या हुँदैन,’ अध्यक्ष भण्डारीले भने, ‘जेठको दोस्रो साताबाट नयाँ ट्यांकीको पानी वितरण गरिरहेका छौं, अझै केही स्थानका पाइप लाइनमा जोड्नै बाँकी छ । अबको एक हप्ताभित्र सबै टोलमा पर्याप्त पानी पुर्याउने गरी लागिरहेका छौं ।’

ट्यांकी ३३ लाख ९३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हापुरे पुरन्धारा खानेपानी उपभोक्ता समिति सचिव अन्जु घर्तीले जानकारी दिइन् । ‘पाँच किलोमिटर पाइप लाइन विस्तारको काम सकिएको छ । सबै टोलमा पानी वितरण गरिरहेका छौँ । हापुरेबासीले अब पानीको अभाव भोग्नुपर्दैन,’ सचिव घर्तीले भनिन् । उनका अनुसार अहिले हापुरेमा तीन वटा मुहानको पानी संकलन गरिएको छ ।

मुहानको पानी वर्षायामको समयमा धमिलो हुने भएकाले त्यसका लागि फिल्टर ट्यांकी पनि निर्माण भइरहेको अध्यक्ष भण्डारीको भनाई छ । चाँडै फिल्टर ट्यांकी सञ्चालनमा ल्याउने गरी काम भइरहेको अध्यक्ष भण्डारीले बताए । पिल्टर ट्यांकी निर्माण सकिएलगतै सवा चार किलोमिटर पाइप लाइन विस्तारको काम अघि बढाउने योजना बनाएको उनले बताए । पानीको समस्या समाधान भएपछि संस्थाको भवन निर्माणको योजना रहेको अध्यक्ष भण्डारीको भनाई छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार १३:२५