सूचनाको शक्ति - The Power Of Information

        

साना उद्योगमा उत्साहजनक लगानी

बाँके । बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा उत्साहजनक लगानी देखिएको छ । जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योगहरू थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ ।

राजनीतिक अस्थिरता र आंशिकरुपमा भए पनि विद्युतको समस्या समाधान भएकाले उद्योग सञ्चालनको वातावारण सिर्जना भएको हो । घरेलु तथा साना उद्योगबाहेक बाँकेमा करोडौको लगानीमा धेरै ठुला उद्योगहरु समेत सञ्चालनमा आउन थालेका छन् । चालु आर्थिक वर्ष २०७५/०७६ को बैशाख मसान्तसम्म जिल्लामा ८३० वटा उद्योग दर्ता भएका छन् ।

जसमा प्राइभेट फर्म ६९७, साझेदारी ६२ र ७१ वटा प्रालिमा दर्ता भई अनुमति लिएका छन् । दर्ता भएका अधिकांस उद्योग सञ्चालनको प्रक्रियामा छन् । चालु आर्थिक वर्षमै दर्ता भई सञ्चालनमा आएका र आउने क्रममा रहेका उद्योगहरुले करिब चार हजार जनालाई रोजगारी प्रदान गर्नेछन् । व्ययवसायीहरुले लगानीको वातावारण बन्दै गएकाले घरेलु तथा साना उद्योगमा आर्कषण देखिएको बताएका छन् ।

नयाँ उद्योगहरु थपिएसँगै रोजगारीमा समेत बृद्धि भएको छ । औद्योगिक विकासमा घरेलु तथा साना उद्योगको महत्वपूर्ण योगदान रहे पनि सरकारले यसलाई थप मजबुत बनाउन कुनै चासो नदिएको घरेलु तथा साना उद्योग महासंघ बाँकेकी सचिव मधु खड्काले बताइन् । उनले साना उद्योग सञ्चालन गर्न उद्यमीलाई प्रोत्साहन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताइन् ।

उनका अनुसार पछिल्लो समयमा उद्योगका लागि राम्रो वातावरण बन्दै गएकोले उद्योगहरु दर्ता भएसँगै सञ्चालनमा आउन थाले पनि घरेलु तथा साना उद्योगले ऊर्जा, सुरक्षा र बजारीकरणको समस्या झेलिरहेका छन् । ‘भारतसँग सीमा जोडिएको जिल्ला भएका कारण हाम्रा उत्पादनले अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेका छैनन्,’ उनले भनिन् ।

सचिव खड्काका अनुसार साना उद्योगमा व्यवसायीहरुको उत्साहजनक सहभागिता भए पनि उनीहरुमा सम्बन्धित ज्ञानको अभाव रहेको छ । ‘आफूले सञ्चालन गर्न लागेको उद्योगबारे सामान्य ज्ञानको समेत अभाव देखिएको छ,’ उनले भनिन्, ‘त्यस्तो समस्या हटाउन हामीले व्यावसायिक सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरेका छौं ।’

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख प्रशिक्षक ऋषिराम पोखरेलका अनुसार उद्योग दर्ता गर्ने क्रम चालु आर्थिक वर्षमा उत्साहजनक छ । राजनीतिक स्थीरता र आंशिकरुपमा भए पनि विद्युतको समस्या समाधान भएकाले उद्योग सञ्चालनको वातावारण सिर्जना भएको हो । उनले भने, ‘जिल्लामा उद्योगहरुको दर्ता र लगानी दुवै उत्साहजनकरुपमा बढेको छ ।’

साना उद्योगबाहेक पनि बाँकेमा करोडौंको लगानीमा थुप्रै ठूला उद्योगहरु पनि सञ्चालन हुँदैछन् । उद्योगमा लगानीको वातावरण उत्साहप्रद रहेको छ । स्थीर सरकार बनेपछि उद्योगमा लगानी बढेको छ । प्रमुख प्रशिक्षक पोखरेलले भने, ‘नयाँ स्थापना भएका उद्योगले यति नै लगानी गरे भन्ने यकिन तथ्याङ्क नभए पनि थप लगानी र रोजगारी वृद्धि भएको छ ।’

दर्ता भएका साना उद्योगको लगानी करिब रु.दुई अर्ब अनुमान छ । यी उद्योगहरुले वार्षिकरुपमा करिब रु.तीन अर्ब बराबरका सामाग्री उत्पादन गर्ने लक्ष्य लिएका छन् । लगानीको वातावरण बन्दै गएकाले साना उद्योगमा आकर्षण देखिएको व्यवसायीहरुले बताएका छन् । उनीहरुले उद्योगलाई सरकारले फस्टाउने वातावरण बनाउन विभिन्न प्रकारका सहुलियतहरु प्रदान गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार ०९:१७