बाँके । कोहलपुर नगरपालिकालाई बाँके जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ । शुक्रबार कोहलपुरमा आयोजित कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नगरलाई साक्षर घोषणा गरेका हुन । नेपाल सरकारले लिएको ‘साक्षर नेपाल’को लक्ष्य अनुरुप कोहलपुरलाई साक्षर घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघिय साँसद महेश्वर गतराज ‘अथक’ले शैक्षिक विकासमा कोहलपुर नगरपालिका जिल्लाकै प्रथम हुन सफल भएको भन्दै खुसी ब्यक्त गरे । शिक्षा क्षेत्रको विकासमा विशेष रणनितिका साथ आफु लागिरहेको बताउँदै सांसद अथकले कोहलपुरसँगै आसपासका स्थानीय तहहरुमा समेत शिक्षाको विकास अपरिहार्य रहेको बताए ।
कोहलपुरलाई साक्षर नगरपालिका घोषणा गर्नकालागि आवश्यक सबै प्रक्रियाहरु पुरा गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । नगरपालिकाभित्र हालको अवस्थामा ९६ दशमलव ८५ प्रतिशत साक्षरताको संख्या रहेको जानकारी दिँदै रावतले आगामी आर्थिक वर्षभित्रै सबै नगरवासीलाई साक्षर बनाउने गरी अभियान सञ्चालन गरिने प्रतिवद्धता समेत जनाए ।
कोहलपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले साक्षर घोषणका १२ वटा मापदण्ड पुरा गरेर कोहलपुरलाई साक्षर नगरपालिकाका घोषणा गरिएको बताए । १५ वर्षदेखि ६० वर्ष सम्मका उमेरसमूहलाई कायम गरिएको सर्वेक्षणमा नगरभित्रका ३ वटा वडाले साक्षरताको अंक प्राप्त नगरेकाले कोहलपुरलाई पूर्ण साक्षर घोषणा गर्न नसकिएको पौडेलले बताए ।
नगरपालिकाको कुल ९० हजार ९५६ जनसंख्यामा ३ दशमलव १५ प्रतिशत अर्थात २ हजार ८६९ नागरिक मात्र साक्षरताको समुहभन्दा बाहिर रहेको पौडेलले जानकारी दिए । नगर शिक्षा शाखा प्रमुख पौडेलले नगरभित्रका वडा ४, ८ र १४ लाई साक्षरताको दायराभित्र ल्याएर केही समयभित्रै कोहलपुरलाई पूर्ण साक्षर नगरपालिकाका रुपमा घोषणा गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
साक्षर घोषणा कार्यक्रममा कोहलपुर नगरपालिका अन्तरगत १५ वटै वडाका वडाध्यक्षहरुले सामुहिक रुपमा आफ्नो वडालाई पूर्ण साक्षर बनाउने प्रतिवद्धतासमेत जनाएका थिए । कार्यक्रममा कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी चौधरी, नेकपाका नगर सचिव तुलाबहादुर विष्ट, नेपाली काँग्रेस कोहलपुरका सचिव भुमबहादुर भण्डारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
यसैबिच बाँकेकै पहिलो साक्षर नगरपालिका भएको भन्दै कोहलपुर नगरपालिका पुरस्कृत हुने भएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जिल्ला प्रथम हुन सफल कोहलपुर नगरपालिकालाई ५० लाख नगदले सम्मान गर्ने घोषणा गरेका हुन् । जिल्ला समन्वय समितिले केही समयअघि जिल्लामा सबैभन्दा छिटो साक्षर घोषणा हुने स्थानीय तहलाई नगद राशीसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
सत्यपाटी - ।