सूचनाको शक्ति - The Power Of Information

        

बाँके र बर्दियाका मातपोत कर्मचारीसहित २८ माथि मुद्दा, विशेष अदालतमा आरोपपत्र दायर

फाइल तस्वीर

बाँके । बाँकेको खासकारकाँदोमा सरकारी कागजात किर्ते गरी भएको भ्रष्टाचारमा मालपोतका कर्मचारीसहित २७ जनामाथि मुद्दा दायर भएको छ । खासकारकाँदो वडा नं.७ सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नं.३ को कि.नं.१४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नं. ७ ‘क’ को कि.नं. १९१ र वडा नं. ९ ‘ख’ को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गासम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार भएको सूचनाका आधारमा कारवाही गरेको अख्तियारले संलग्न २७ जनामाथि मुद्दा दायर गरेको हो ।

बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा प्रतिवादीहरु मध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफुलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरुलाई अनुचित प्रभावमा पारी आपसी योजना, सहमती र संलग्नतामा बदनियतपूर्ण तबरवाट सरकारी मोठ श्रेस्ता नै फेरबदल गरी सरकारी र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने/गराउने कार्य गरेको कार्य गरेको पुष्टि हुन आएकोले अख्तियारले मुद्दा दायर गरेको हो ।

पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी सार्वजनिक सम्पत्तिको हानी–नोक्सानी हुने र व्यक्ति विशेषलाइ गैरकानुनी लाभ पुर्याउने कार्यमा संलग्न रहेका मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेल भन्ने दीर्घबहादुर पोखरेल, मालपोत अधिकृतहरु पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायव सुब्बाहरु रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्यूटर अपरेटर (करार) प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरु सुशील रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी रहेका छन् ।

त्यस्तै मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुखकृष्ण प्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायव सुब्बाहरु कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, खरिदारहरु भुमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसीरानी थारु, कम्प्युटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोवीलाई देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको माग दाबी लिई बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार ०७:४०